धुलिखेल ÷ मृगौला तस्करीमा संलग्न ठूलो गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । विगत २० बर्षदेखि तस्करीमा संलग्न मध्येका १० जनालाई जिल्ला प्रहरी कार्यलय काभ्रेले सार्वजनिक गरेको हो । तस्करी नियन्त्रणका लागि प्रहरीको यो हालसम्मकै ठूलो उपलव्धी हो ।
पक्राउ पर्नेमा होक्से १ का प्रेम बजगाई, पनौती ९ का मनोज राउत, नुवाकोट मादनपुर १ की मिना दर्जी, सोही स्थानका कृष्णबहादुर दर्जी, ललितपुर २१ का सचिन महर्जन, ललितपुर ११ का सानुलाल महर्जन, तनहँु मिर्लुङका कुमार अधिकारी र काभ्रेको काभ्रे गाविस ४ का सुमन श्रेष्ठ, पाँचखाल ६ राजन दर्जी र काठमाण्डौँ ८ का विनोद ढकाल थिए ।
पक्राउ परे मध्येका बजगाई होक्सेमा तस्करीको शुरुवात गर्ने मध्येका मानिन्छन् । उनी २०५० सालदेखि नै मृगौला तस्करीमा संलग्न हुँदै आएका थिए । २०६९चैत २५ गते पक्राउ परेका उनी पुर्पक्षका लागि थुनामा छन् । उनीसँगै पक्राउ परेका पनौती ९ का मनोज राउत भने ३५ हजार धरौटी तिरेर रिहा भइसकेको छन् ।
मिनालाई धुलिखेल, बजागाई, राउत, सचिन, सानुलाल लाई आफ्नै घरबाट र कुमारलाई न्युरोडबाट पक्राउ गरेको थियो । प्रहरी नायव निरिक्षक दिपेन्द्र चन्दको नेतृत्वमा असई होमनाथ भट्टराई, प्रहरी हवल्दार ठुलोबाबु खड्का र प्रहरी शंकर कँडेलको अनुसन्धान टोलीले उनलाई पक्राउ गरेको थियो ।
सबैलाई मानव बेचविखन तथा ओसारपसार ऐन अन्तर्गत मुद्धा दर्ता गर्ने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक कमल घर्तीले जानकारी दिए । प्रहरीले थप अनुसन्धान गरिरहेको र अन्य केहीको समेत पहिचान भइसकेको उनले जानकारी दिए । “सबै सरोकारवालाको सहयोगमा प्रहरीले ठूलो सफलता हासिल गरेको छ, समाजको कलंको रुपमा रहेको यसलाई निर्मुल गर्न प्रहरी लाग्छ । ” उनले भने ।
जिल्लाको होक्से, ज्याम्दी, काभ्रे, महादेवस्थान लगायतका क्षेत्रमा क्षेत्रमा मात्र मृगौला बेच्नेको संख्या १ सय नाघिसकेको छ । २० बर्षदेखि सुरु भएको मृगौला बेचविखन अझै रोकिएको छैन । बेच्नेलाई २ लाख सम्म दिने प्रलोभन देखाएर ३० देखि ६० हजारसम्म दिने गरिएको छ ।
जनअधिकार संरक्षण मञ्च, नेपाल तामाङ महिला घेदुङ, कानुनी सहायता केन्द्र, बहुसाँस्कृतिक मनोसामाजिक संस्था लगायतले जनचेतनामुलक कार्यक्रम, सुरक्षित बसाइसराई, कानुनी सहायता लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । मञ्चकी काभ्रे संयोजक कृष्णप्यारी नकर्मी जनचेतनाको कारण ढिलै भएपनि मुख्य तस्कर पक्राउ पर्नु उपलव्धी भएको बताउँछिन् । पुर्ण सन्तुष्ट हुने अवश्था नभएपनि यसले केही आशा दिलाएको उनले बताइन् ।
सञ्चारकर्मीलाई धन्यवाद
मृगौला तस्करी नियन्त्रणमा ठूलो सफलता हासिल गरेको काभ्रे प्रहरीले जिल्लामा कृयाशिल सञ्चारकर्मीलाई धन्यवाद दिएको छ । सञ्चारकर्मीको सहयोग, प्रोत्साहन तथा प्रयत्नको कारण सफलता मिलेको भन्दै प्रहरीले इमेल मार्फत सबैलाई धन्यवाद दिएको हो ।
प्रहरीले इमेल लेखेर औपचारिक धन्मयवाद दिएको यो सम्भवत पहिलो घटना हो । “सञ्चार क्षेत्रकै सकृयताका कारण प्रहरीले यो सफलता हासिल गरेकोले आभार प्रकट गरेका हौँ । ” जिल्ला प्रहरी प्रमुख कमल घर्तीले भने । यसअघिका प्रहरीका सफलतामा उसले सञ्चार क्षेत्रको भुमिका रहेको बताउने गरेपनि यसरी आधारिक रुपमा व्यक्त गर्ने गरेको थिएन । उसले आफ्ना मिडियाबाट सकरात्मक प्रभाव पर्ने खालका सामाग्री प्रकाशन ÷ प्रशारण गरेर हौसला प्रदान गरेको जनाएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |