पञ्चमायाँ तामाङ
पछिल्लो समय अमिलो जातका फलफूलमध्ये कागतीको खेतीले प्रथामिकता पाएको छ । कृषि कार्यालयको पहलमा समग्र मुलुकभरि नै यसको खेतीका लागि प्रयास अगाडि बढाएको पाइएको छ । जसअन्तर्गत पूर्वाञ्चल क्षेत्रको पकेटको रुपमा धनकुटा जिल्लाका केही भूभागमा सरकारको आँखा परेको छ । जसअन्तर्गत विभिन्न कलवी जातका कागतीका नर्सरीहरु धमाधम स्थापना भएका छन् । विशेष गरी मानव शरीरको लागि अति आवश्यक पर्ने भिटामिनमध्ये सी भिटामिन कागतीको रसमा प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यको लागी अत्यन्तै महत्वपूर्ण फलको रुपमा लिएको छ । अस्वभाविक सुख्खा खानाका कारण अपच एवं पेटको सबै जसो विकारहरु निष्काशन गर्न यो फल निकै उपयोगी मानिएको छ ।
सदाबहार वर्षभरि नै न्यानो र ओषिलो हावापानी भएको उष्ण प्रदेश देखि हिउँ र तुषारो नपर्ने उपोष्ण क्षेत्रसम्म (१०० मीटर देखि १८०० मीटर उचाई सम्म) को हावापानीमा यसको खेती गर्न सकिने कृषि विज्ञहरुको धारणा छ । जसअन्तर्गत यस जिल्लाका उत्तर भूभागलाई पकेट क्षेत्रको रुपमा मानिएको छ । सुख्खा मौसममा कागतीको वोटलाई पानीको आवश्यकता पुरा गर्न सिंचाई पानीको आवश्यकता पर्ने हुँदा पनि यो जिल्लाको भौगोलिक बनोट उपयुक्त रहेको कृषि विज्ञहरुको तर्क छ ।जमिनको सतह देखि २ मीटर गहिरो सम्म चट्टान नभएको, पानी नजम्ने प्रशस्त प्राङ्गगारिक पदार्थ भएको, माटोको पि.एच. ५.५–६.५. सम्म भएको दोमट माटो सवै भन्दा उपयुक्त मानिन्छ ।
व्यवसायीक खेती गर्ने हो भने बगैंचा स्थापना गर्दा ३×३ मीटरको दुरीमा विरुवा रोप्नु उपयुक्त हुन्छ । पानी नजम्ने, बार बन्देज लगाउन सकिने, पानीको भल नआउने, मोटरवाटोले छोएको र पानीको श्रोत भएको जग्गामा कागती खेती निकै उपयुक्त मानिन्छ । अध्ययन अनुसार कागती सम्बन्धी विज्ञको सल्लाह लिई रेखाङ्कन गरि विरुवा रोप्नु भन्दा २–३ महिना पहिले नै २–३ घनफिटको खाल्डो हुनुपर्छ । यो खेतीको लागि भूबनोट अनुसार प्रति खाडल ५० ग्राम डि.ए.पी., ५० ग्राम युरिया र २५ ग्राम पोटासलाई माटोमा मिश्रण गरि खाडल पुर्न सकिन्छ ।
राम्रो उत्पादन लिने हो भने ठाउँ र हावापानी अनुसार विज्ञको सल्लाह लिई कागतीको जात छनौट गर्नुपर्छ । माटोको चिस्यानको अवस्था हेरी सुख्खा याममा फागुन देखि जेष्ठ सम्म १०–१५ दिनको फरकमा हल्का सिंचाई गर्नु पर्छ । यदि पानीको श्रोत कम छ भने थोपा सिंचाई प्रविधिको प्रयोग गर्न सकिन्छ । १–३ बर्षको विरुवालाई प्रति विरुवा गोवरमल २० के.जी., युरिया, डिएची र पोटास क्रमशः १००, ५० र १०० ग्रामका दरले हाल्न सकिन्छ ।विरुवाले जमिन ओगटेको वरिपरि कुलेसो बनाई मलखाद दिनुपर्छ र त्यसलाई खरपातले छोपी सिंचाई गर्नु उपयुक्त हुन्छ । कागतीमा लाग्ने मुख्य मुख्य किराहरु हरियो ठुलो पुतली, पातको झिंगा, कत्ले किरा, लाही किरा, सिट्रस सिल्ला, फल कुहाउने औंसा र मिली बग हुन् । कागतीमा लाग्ने किरा ठुलो पुतली र पातको झिंगालाई नियन्त्रण गर्न डेल्ट्रामेथ्रिन २८ प्रतिशत इसि २ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्न सकिन्छ ।
कागतीको कत्ले किरा नियन्त्रण गर्न किरा लागेका बोटहरु नसार्ने, फागुन र चैत्र महिनामा एक एक पटक रोगर ३० प्रतिशत इसि १ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्ने, मट्टितेल र साबुनको झोल बनाई छर्ने र एट्सो १० मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नु उपयुक्त हुन्छ । त्यस्तै लाही र सिट्रस सिल्ला किरा नियन्त्रण गर्न फुल फल्नु अगाडी रोगर ३० प्रतिशत इसि १ मि.लि. प्रति लिटर पानीमा मिसाई छर्नुपर्छ । कागतीको मिलिबग किरा नियन्त्रण गर्न इमिडाकोलपिट ०.२ मि.लि. प्रति लिटर पानीमा झोल बनाई छर्नुपर्छ ।
कागतीमा लाग्ने रोगहरु क्याइंकर, कालो ध्वासे, कोत्रे, जडा कुहीने, फेद कुहीने, गुलाबी रोग ग्रिनिगं मुख्य मानिन्छन् । त्यस्तै अध्ययन अनुसार कागतीमा लाग्ने रोगहरु नियन्त्रणका मुख्य उपायहरु बगैचा सफा राख्ने, हिउदमा बोटका सुकेका हांगाबिंगाहरुको कांटछांट गरि हटाउने, कपरअक्साईड ३ ग्राम प्रति लिटर पानीमा झोल बनाई कांटछांट पछी छर्ने र फेद वरिपरी सफा पारी १ देखि १.५ हातसम्म बोडो पेष्टले लिपी दिनुपर्छ । यति गर्न सकियो भने लागत अनुसारको उत्पादन लिन सकिन्छ । जसले गर्दा जीवनस्तरमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह हुने गर्छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |