प्रभातफेरी अनलाइन५५०५ पटक पढिएको प्रकाशित मिति: २०७७ बैशाख १०, बुधबार(६ साल अघि)
मेरो आमा भन्नु हुन्छ- “जीवनमा हरेक अवसरहरु धेरै प्राप्त हुन सक्छ तर सेवा गर्ने अवसर बिरलै प्राप्त हुन्छ त्यसैले सेवाको प्राप्त अवसरबाट चुक्नु हुन्न” यहि भनाईले मलाई दिन रात जनताको सेवामा समर्पित हुन उत्पे्ररणा दिन्छ ।

विश्व कोरोना भाईरस (कोभीड १९) को महामारी र त्रासमा रहेको छ । नेपाल लकडाउन भएको भन्डै १ महिना हुन लाग्यो । यो विषम परिस्थितिमा रोशी गाउँपालिका प्रमुख डिबि लामा भने दिनरात व्यस्त छन् ।
गाउँपालिकामा विदेशबाट आएका सबैको जेक जाँच गर्न घरदैलो सम्म स्वास्थ्यकर्मी लिएर पुगिसकेका छन् । सेनिटाईजर स्प्रे गर्नेदेखि जनचेतना जगाउने सम्मका काममा गाउँपालिकाका टोली लिएर अभियानका रुपमा जुटेका छन् । आपत्तकालिन अवस्थाको लागि क्वारेन्टाइनको पनि व्यवस्था गरिएको छ । गाउँपालिका सबै स्थानीय तह कर्मचारी प्रशासनलाई चलाएमान बनाएका छन् । सबैको उच्च मनोबलका साथ काम गरिरहेका छन् ।
लामाले अलपत्र परेका यात्रुलाई उद्धार गर्दा कहिलेकाहिँ सञ्चार क्षेत्रबाट प्रहार खानु नपरेको भने हैन । कहिलेकाहिँ त प्रहरीले उद्धार गरेका मान्छेलाई फिर्ता समेत गरेको लामा सम्झन्छन् । यस्ता घटनाले उनलाई निराशा भने कहिल्यै बनाएन बरु झन बढि सेवामा लाग्ने उर्जा प्रदान गर्ने बताउँछन् । उद्धार गर्ने क्रममा सिन्धुलीका प्रदेश सांसद राजन दाहाल घाईते पनि हुनुभयो । हरेक दिन उहाँहरुले गर्नुभएको समन्वयको मुक्त कण्ठले प्रशंसा समेत गरेका छन् लामाले । सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालको कामबाट थप प्रेरणा मिलेको बताउँछन् ।
सरकारले जारी गरेको लक डाउनको समयमा सबै भन्दा बढि मजदुर मर्कामा परेका छन् । मजुदुरहरु पैदल यात्रा गर्दै बिपि राजमार्ग हुँदै यात्रा गरेको देख्दा लामाको मन कुडिन पुग्छ त्यति बेला आमाको भनाई झल्झली सम्झना हुन्छ र उनीहरुको सेवाका लागि जुट्न पुग्छन् । उहाँले रोशी गाउँपालिकाबाट सिन्धुलीको सिमानासम्म पैदल यात्रुलाई यातायातको व्यवस्थाको साथै खानापिनको व्यवस्था गर्न थालेको आज लगभग ४ हप्ता पुग्न लागि सकेको छ । हाल सम्म लगभग १ हजारले खाना तथा यातायातको सुुविधा प्राप्त गरेका छन् ।
यसमा उहाँ मात्र हैन उहाँको परिवार, शुभचिन्तक तथा व्यवसायीहरुको अनुकरणीय साथ पाएका छन् । जसमा, रोशी गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा गाउँपालिका अध्यक्ष डि.बि. लामाको बहिनी दुर्गा लामाले नगद रु २० हजार सहयोग गरेकी छन् भने भतिजाहरु राम लामा र लक्ष्मण लामाले थप २० हजार सहयोग गरेका छन् । दुर्गा लामा गृहिणी हुन् भने भतिजाहरु ईन्जिनियर पेशामा आबद्व रहेका छन् । विश्वभर फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ महामारी रोकथामका निमित्त दाजुले चालेको अभियानलाई सफल बनाउन घर खर्चको लागि जोगाएको रकम सहयोग गरेकोे बहिनी दुर्गा लामाले बताउनुभयो ।
आमाले दाईलाई सधैं भन्ने गर्नुहुन्छ- “जन्म दिने आमाको मुख हेरेर दैलो नकुर्न सबैको अभिभावक बन्नुु यसमै म खुशी हुन्छु ।” ‘यो कुराले दाईलाई मात्र हैन हामीलाई पनि सामाजिक काममा दाईलाई सहयोग गर्न आत्मबल प्रदान गर्छ’ बहिनी दुर्गाले भनिन् । सवारी साधन नचलेका कारण दिनहुँ हजारौको संख्यामा वि.पि. राजमार्ग हुँदै मानिसहरु कष्टकर तरिकाले यात्रा गरेको देख्दा धेरै दुःख लागेर उनीहरुलाई खानाको व्यवस्था गर्नको निमित्त यस रकमले सहयोग पुग्ने अपेक्षा रहेको चौरीदेउराली गाउँपालिका वडा नं ७ मादन कुँडारी घर भएका भतिजाद्वय राम र लक्ष्मणले बताउनुभयो ।
विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंक कटुञ्जे शाखाले ३० हजार र नेकपा रोशीले १० हजार, बागमती अञ्चल टिपर व्यवसायी संघबाट १ टन चामल, सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौतीले ५ सय २५ किलो चामल रोशी गाउँपालिकाको वडा नं ८ मा रहेको नाङ्शाल रोडा ढुङ्गा उद्योग र वडा नं ११ मा रहेको कालढुङ्गा रोडा ढुङ्गा एण्ड सेन्ड प्रा.लि बाट क्रमशः ५० र ५० हजार विपद व्यबस्थापन कोषमा सहयोग रकम जम्मा गरेका सहयोग गरिसकेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष डि.बि. लामाले यस विषम परिस्थितिमा सहयोग गर्ने सहयोगीहरुप्रति मुक्त कण्ठले आभार प्रकट गर्नुभयो । “यस्तो संकटको समयमा उहाँहरुले गर्नुभएको सहयोगप्रति म लगायत पुरै गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद, यस रकमलाई सहि सदुपयोग गर्ने प्रतिबद्धता दिन चाहन्छु ।” उहाँले भन्नुभयो । काठमाण्डौ लगायतका स्थानबाट धेरैको संख्यामा सिन्धुली, रामेछाप, दोलखा, महोत्तरी, ओखलढुंगा, संखुवासभा, सप्तरी, जनकपुर, इलाम लगायतका पूर्वी जिल्लामा जाने पैदल यात्रु यहाँ आईपुग्ने गरेका छन् । छिमेकी नमोबुद्ध नगरपालिका र सुनकोशी गाउँपालिकासँग समन्वय गरेर अलपत्र परेका मानिसहरुलाई उद्धार गरेको लामाले बताउनुभयो । के बाल बच्चा, के गर्भवति, के वृद्धवद्धा, के अपाङ्गता भएका व्यक्ति लामवद्ध भएर बि.पि. राजमार्गमा हिँडिरहेका हुन्छन् । रोशी गाउँपालिका अध्यक्ष डि. बी. लामाले उनिहरुको दुःख पिडा देख्न नसकेर यस अघि गाउँपालिका भवन अगाडि निर्मित चौतारामा जम्मा भएका कयौँ मानिसको उद्धार गरिसकेका छन् । उनीहरुलाई पानी, बिस्कुट, चाउचाउको व्यवस्था गर्छन् । गाउँपालिकाको गाडि नभएको खण्डमा उनि आफ्नै गाडि लिएर पनि मानिसहरुको उद्धार गर्ने गर्छन् ।
जिल्लाको रोशी गाउँपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा सहयोग आउने क्रम जारी छ । गाउँपालिकालाई विभिन्न संघ संस्था, उद्योगी व्यवसायीबाट वा व्यक्तिगत तर्फबाट आर्थिक देखि स्वास्थ्य सामग्री लगायत खाद्यान्न सहयोग आईरहेको छ । गाउँपालिका प्रमुख लामा भावुक हुँदै आफ्नी आमाका उक्ति सम्झन्छन् ः “आमाको हिसाबले तिमी मर्यो भने म माथि ठुलो बज्रपात हुन्छ तर जनप्रतिनिधिको हिसाबले जनताको सेवा गर्दागर्दै तिमी मर्यो भने म गर्व गर्ने छु र भन्ने छु हरेक जनता प्रतिनिधिहरु जनताको लागि मर्न सिक्नु भनेर ।” त्यसैले मलाई कसले के भन्यो र भन्छ भन्दा पनि मेरो कर्तव्यलाई एकरति पनि बिचलित हुन दिन्न, यो मेरो भिष्म प्रतिज्ञा हो ।”