प्रल्हाद शर्मा हुमागाई
बनेपा/नेकपाभित्रको गुटगत राजनीतिका बारेमा तिखो आलोचना राख्दै नेकपालाई गुटगत खेती पाच्य छैन । कम्युनिष्ट पार्टीको निर्माण द्वन्द्वात्मक भौतिकवादबाटै हुँदै आएको नेकपा काभ्रे जिल्ला अध्यक्ष रुकु चौलागाईंले एक कार्यक्रममा बताउनुभएको छ ।
सोमबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश गर्नेहरुका लागि आयोजना गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेकपा पार्टी जिल्ला अध्यक्ष रुकु चौलागाईंले उक्त अभिव्यक्ति राख्दै नेकपा काभ्रेले पूर्णता नपाउनुको पछाडि पितृ सतात्मक राज्य सत्ताको अवशेषको उपज भएको उल्लेख गर्नुभएको छ । पार्टीभित्र जुन किसिमको द्वन्द्व चलिरहेको छ, कम्युनिष्ट पार्टीभित्र त्यो नौलो कुरो रहेन । द्वन्द्वात्मक बहस र आत्म आलोचनाले पार्टीमा निखारता आउने र पार्टी चुस्त दुरुस्त ढंगबाट चल्ने इतिहास हामीसामु छ । तर पछिल्लो समय जुन किसिमको अवस्था सिर्जना भएको छ, त्यो पार्टीको विधि, नीति र पद्धतिभन्दा बाहिर गएको छ । अग्रज कमरेडहरुले हलो अड्काएर गोरु कुट्ने संस्कारको खेती गरिरहनुभएको छ । जसबाट पार्टीले स्थायित्व प्राप्त गर्न नसकिरहेको सत्य हो । पार्टी पद्धतिले जसलाई जे जिम्मेवारी दिएको छ, त्यो अक्षरस्त पालना गर्ने हो भने नेकपा काभ्रेमा कुनै समस्या नरहेको अध्यक्ष चौलागाईंको तर्क थियो ।
तर यो संक्रमणकालिन अवस्थामा जुन किसिमका गतिविधि पार्टीका नाममा भएका छन्, त्यो नेकपा काभ्रेका लागि पाच्य छैन । जिल्लामा पार्टी एकीकरणको अन्तिम टुंगो नलागिरहेको अवस्थामा कमरेडहरुबाट जुन प्रयास भए ति समय सापेक्षित छैनन् । सच्चा कम्युनिष्ट त्यो हुन्छ, जो संकटको बेला सारथी बन्न तयार हुन्छ । आज नमोबुद्ध नगरपालिकाका योद्धाहरुले जुन साहसिक काम गर्नुभयो, त्यो गुण पार्टीले कहिल्यै भुल्ने छैन । नेकपाको लागि यो अनुकरणीय अभियानको रुपमा लिन सकिन्छ ।
सत्ताधारी पार्टीका बारेमा विपक्षीले आलोचना गर्नु स्वभाविक हो तर पार्टीकै जिम्मेवार कमरेडहरुबाट पार्टी एकता विरोधी गतिविधि भएका छन् । त्यसका लागि नमोबुद्ध नगरपालिकाको प्रयास दर्शन ढुंगा सावित भएको छ । गुटगत राजनीतिमा रमाउने कमरेडहरुले यो प्रयासबाट पाठ सिक्न जरुरी छ । यो नभुलौं कि एकदिन त्यही गुटगत गतिविधि आफ्नै घाँटीको बिरालो हुनेछ । स्वार्थसिद्धका लागि चालिएका कदमहरु अभिशाप सावित हुनेछन् । एक पटक ति कमरेडहरुलाई अतित केलाउन चेतावनी दिँदै अध्यक्ष चौलागाईंको थप धारणा थियो– कुनै पनि तह र तप्कामा आबद्ध साथीहरुलाई यो या त्यो बहानामा हटाउने कु–चेष्टा नगर्न चुनौती दिँदै जनभावनाको कदर गरेर अगाडि बढ्न पनि आग्रह गर्नुभयो ।
नेकपालाई नेपाली जनताले जुन विश्वासको साथ झण्डै दुई तिहाइ मतदान गरेर स्थायित्वको सरकार गठन गरेर समृद्ध नेपाल बनाउन पठाएका हुन् । त्यसको सम्मान गर्न छाडेर तल्लो स्तरको हर्कतमा ओर्लिनु उचित नहुने अध्यक्ष चौलागाईंको टिप्पणी थियो ।
हुन त जे भनिए पनि नेपालको समृद्ध नचाहने शक्ति केन्द्रहरुको चलखेलको कारण नेकपा मात्र होइन, नेपाली जनताको बलिदानबाट प्राप्त सीमित अधिकार समेत धरासायी हुने अवस्थामा पुगेको बताउनुहुँदै दीर्घकालिन रणनीति र कार्यनीतिलाई सूक्ष्म ढंगबाट बुझ्न नसक्नु नै अहिले नेताहरुको गम्भीर भुल भएको जिकिर समेत अध्यक्ष चौलागाईंले गर्नुभएको छ ।
अहिले पार्टीभन्दा बाहिरका कुराहरुबाट तरङ्गित हुन नपर्ने बताउनुहुँदै विषयवस्तुभन्दा बाहिर गएर जुन गतिविधि भएका छन् ति अत्यन्तै आपतीजनक छन् । त्यसैले पार्टीका नाममा जिम्मेवार कमरेडहरुबाटै गुटको खेती भएको सुन्न आएको छ । यदि यस्तो भएको भए कमरेडहरुले गम्भीर भुल गर्दै हुनुहुन्छ भन्ने लागेको बताउनुभएको छ । यस किसिमका गतिविधिले नेकपा माथि उठ्न नसक्ने ठोकुवा समेत अध्यक्ष चौलागाईंको थियो । सम्बोधनकै क्रममा अध्यक्ष चौलागाईंको थप कथन थियो– जिम्मेवार कमरेडहरुले आ–आफ्नो जिम्मेवारी, दायित्व, भूमिकालाई गम्भीर रुपमा लिनुभएको भए काभ्रे पार्टी एकताको बाँकी काम एक वर्ष अघि नै पूरा भइसक्थ्यो । बिडम्बना ! केही जिम्मेवार कमरेडहरुले आफ्नो स्थानबाट निर्वाह गर्नुपर्ने दायित्व निर्वाह गर्न चुक्नुभयो भने अर्काेतर्फ नेताहरुको भनाई र गराई बिचको असमानता कति छ भन्ने कुरा पनि काभ्रे जिल्ला नेतृत्वप्रति कमरेडहरुले देखाउनुभएको व्यवहारले पुष्टि गरेको छ । पितृ सतात्मक अवशेषको धङधङ्गीको उपज हो भन्ने मेरो बुझाई छ । म महिला भएकै कारण मेरो नेतृत्व स्वीकार गर्न नसक्ने सामन्त सोच भएकै कारण काभ्रे जिल्लाले आज यो अवस्था झेल्न बाध्य भएको मेरो ठम्याई छ । काभ्रे जिल्लाको सवालमा अतितलाई एकपटक केलाउने हो भने यदि जनयुद्धले जेत्दा नछेडेको भए आजका अहम्कारी नेतृत्वहरुको हैसियत राजावादीहरुले कहाँ पु¥याइदिएका हुन्थे भन्ने बारेमा मैले यहाँहरुलाई उल्लेख गरिराख्नु नपर्ला ।
जनयुद्धले सबैभन्दा बढी पितृ सतात्मक राज्यसत्तालाई क्षति पु¥याएको सत्य हो । मान्छेसँग बोल्न डराउने, मान्छे देखेपछि भाग्ने हामी महिलाले विश्वको अत्याधुनिक एसएलआर हतियारसँग खेल्न सक्ने हैसियत कायम ग¥यौं । हाम्रा कमरेडहरुलाई यो उपलब्धी पाच्य नभएकै निष्कर्ष हामी महिलाले लिएका छौं । जे–जे भएता पनि जिम्मेवार नेतृत्वले पार्टी, पद्धति, विधिमा चल्नु पर्छ कि पर्दैन ? त्यो उहाँहरुले भोलि जनताको माझ जवाफ दिनु नै हुनेछ । नेकपा कहिल्यै पनि व्यक्तिवादी चरित्रको हुन सक्दैन । विधि, पद्धति र आचारणमा चल्नुपर्छ । व्यक्ति जति नै शक्तिशाली भएपनि पार्टी नीतिभन्दा माथि हुन सक्दैन । जबसम्म हामी जिम्मेवार कमरेडहरुले विधि, पद्धति र नीतिभन्दा बाहिर गयौं भने हामीलाई कसले नियमन गर्ने ? यो गम्भीर प्रश्न खडा हुनु स्वभाविक हो ।
हामीले जनमतको साथमा राजनीतिक उपलब्धी हासिल गरिसकेको अवस्थामा अबको पाटो भनेको आर्थिक क्रान्ति हुँदै समाजवादको बाटो पहिल्याउनुपर्ने तड्कारो आवश्यकता छ । यो परिवेशमा कमरेडहरु गुटगत राजनीतिमा जानु उचित होइन । नेपाली जनताले यस किसिमको गतिविधिमा सरिक हुन नेकपालाई मतदान गरेका होइनन् । भनिन्छ नेपाली उक्तिमा मूल सङ्लो भए पो खोला सङ्लो हुन्छ भनेझैं कार्यकारणी प्रमुखको जिम्मेवारी ग्रहण गरेका आदरणीय अध्यक्ष के.पी. ज्यू नै बैठकमा नउठेका एजेण्डा लिएर सडकमा जानुहुन्छ भने अरुलाई के भन्नु ? पार्टीको पद्धतिभित्र छलफलमा बस्न असक्त हुनुहुन्छ वहाँ । तर सार्वजनिक रुपमा सडकमा गएर आफ्नै पार्टी पंक्तिका विरुद्ध विष वमन गर्न भने पछि पर्नु हुन्न । यो अवस्थामा के नै भन्न सकिन्छ र ! मैले पार्टी नेतृत्वको सवालमा जुन बजारमा उठेका सवाल छन्, तिनीहरुलाई जोड्न खोजेको हुँ । पार्टी अध्यक्ष के.पी. ओलीजीले भ्रमको खेती गर्नुभएको हो कि होइन भन्ने बारेमा प्रत्येक नागरिकले जान्न पाउनु उसको अधिकार हो ।
म एउटा मात्र विषयमा प्रष्ट्याउने जमर्काे गर्छु, आदरणीय अध्यक्षले राजिनामाको कुरा ल्याउनुभयो, त्यो पार्टी बैठकमा कुनै एजेण्डाको रुपमा आएको थिएन । कल्पनै नभएको विषयवस्तुलाई एकाएक चर्चामा आफैंले ल्याउनुभएको हो । जब प्रधानमन्त्रीले राजिनामाको कुरा सार्वजनिक कार्यक्रममा ल्याउनुभयो, तब पार्टीका जिम्मेवार कमरेडहरुले स्पष्ट पार्न आग्रह गरे । त्यो आग्रहलाई लत्याउँदै गलत रुपमा प्रस्तुत गर्दै जाँदा कमरेड नेपालले अध्यक्षलाई प्रश्न गर्नुभयो– यसको सम्पूर्ण जिम्मेवार स्वयं प्रधानमन्त्री भएको भनिसके पश्चात् त्यसको जवाफी काउन्टरमा प्रचण्डजीले उसो भए तपाईंले राजिनामा दिनुको विकल्प छैन भन्नुभएको हो । तर सडकमा अतिरञ्जित किसिमले चर्चा परिचर्चा भए । मुलुक प्राकृतिक विपत् र कोभिडले थला परिरहेको अवस्थामा जुन किसिमको चलखेल भयो, नेपाली राजनीतिमा त्यो जति दुःखद पक्ष अरु हुनै सक्दैन । किनकी मुलुकको समसामयिक विषयवस्तुका बारेमा बैठकका एजेण्डा सबैका हात हातमा बसिरहेको समयमा स्वयं प्रधानमन्त्रीले जुन किसिमका प्रोपोगाण्डा सिर्जना गर्ने अनि आफ्नै सहयात्री विरुद्ध विष वमन गर्नुले अध्यक्ष ओलिको नियत प्रष्ट भएको उल्लेख गर्नुभएको थियो ।
सहकर्मीले स्पष्ट पार्न आग्रह गर्नु पार्टी, पद्धति, विधिसम्वत् हो कि होइन ? नेपाली जनताले आफैं फैसला गर्नुस् । तसर्थ, त्यस किसिमको परिदृष्टिको जिम्मेवार स्वयं केपीजी नभए को हुन्छ भन्दै नेकपा जिल्ला अध्यक्ष चौलागाईंले कार्यक्रममा प्रतिप्रश्न समेत गर्न पछि पर्नु भएन ।
कार्यक्रममा पार्टी जिल्ला सचिव टोकबहादुर वाइबाको कथन थियो– गुटगत क्रियाकलापभन्दा माथि उठेर अहिलेका जटिल समस्याहरुलाई सम्बोधन गर्दै पार्टी एकीकरणको बाँकी काम पूरा गर्नु पहिलो प्राथमिकता रहेको अवस्थामा केही जिम्मेवार कमरेडहरुबाट जुन किसिमको गतिविधि भइरहेको छ, त्यो नेकपाको लागि औचित्यहिन छन् भन्ने लाग्छ । यो संक्रमणकालिन अवस्थामा साथ दिन प्रवेश गर्नुहुने नयाँ कमरेडहरुप्रति आभार व्यक्त गर्दै पार्टी जिल्लाका बारेमा यथार्थ सचिव वाइबाले पस्कनुभएको थियो । प्रत्येक शुभचिन्तक एवं कार्यकर्ताहरुले जान्न पाउनुपर्छ, पार्टीभित्रको यथार्थ के हो ? काभ्रे जिल्लाको मूल समस्याको जड आफूहरु नभएर जिम्मेवार नेतृत्वकै कारण आज यो अवस्था आएको अवगत गराउनुभएको थियो ।
जति पनि जनवर्गीय संगठनको नेतृत्व चयन भएको छ, जिल्ला पार्टीलाई गुमराहमा राखेर चयन भएको प्रति आपत्ति जनाउँदै पार्टी विधि र पद्धतिमा नचलेकोमा पार्टी सचिव वाइबाले ध्यानाकर्षण समेत गराउनुभएको थियो । एकीकरणको बाँकी काम जिम्मेवारीपूर्वक पूरा गरौं भन्ने नै हो तर जिम्मेवार कमरेडहरुलाई यो पाच्य नभएकै कारण नेकपा काभ्रेले आलोचनाको सामना गर्नुपरिरहेको तितो यथार्थ जिल्ला सचिव वाइबाले पोख्नभएको थियो ।
उक्त स्वागत कार्यक्रममा नमोबुद्ध नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बुद्धसिं लामा, होमबहादुर खुलाल, बुद्धसिं लामा, भुवनप्रसाद बजगाईं, विश्वेश्वर बञ्जारा, सरोज कुईंकेल, वेदप्रसाद बञ्जारा, सुदर्शन सुवेदी र रामबहादुर लामा लगायतले नेकपा काभ्रेको हालको अवस्थाबारे चर्चा गर्नुभएको थियो भने नवप्रवेशीहरुको तर्फबाट सञ्जय तामाङले आफूहरु किन, कसरी र केका लागि पार्टी प्रवेश गरेको बारेमा सभामा प्रष्ट्याएका थिए । कार्यक्रमको सञ्चालन चमार सिं लामा (सिएस लामा) ले गर्नुभएको थियो । उक्त स्वागत कार्यक्रममा नमोबुद्ध नगरपालिका वडा नं. ५ का नेपाली कांग्रेस वडा इकाई समितिका सचिव केशवप्रसाद मैनाली, वडा इकाई सदस्य सञ्जय तामाङ र सुमन कोइराला लगायतका व्यक्तित्वहरुले नेपाली कांग्रेस परित्याग गरी नेकपामा समाहित भएका थिए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |