पनौती । सोमबार विपरित दिशाबाट आएको टिपरले आफ्नो साइड छोडि अर्काे साइडबाट विद्यालय जाँदै गरेकी स्कुटर चालक शिक्षिका प्रमिला शर्मा हुमागाईं (घिमिरे) लाई ठक्कर दिएपछि आक्रोशित भिडले व्यक्त गरेका अभिव्यक्ति थिए टिपर आतंक बन्द गर ।
बिहान स्थानीयका अनुसार १० बज्नै लाग्दा विपरित दिशाबाट आएको टिपरले स्कुटरलाई ठक्कर दिएपश्चात् स्थानीयहरुको अवरोधका कारण दिनभरिनै पनौती–मल्पी सडक अवरुद्ध भएको थियो । पटक–पटक टिपरबाट मानवीय क्षति गराउँदै आएको र त्यसका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको कारण नै आज बाध्य भएर सडक अवरोधमा उत्रिन पुगेका स्थानीयहरुको आक्रोश थियो । अरुलाई कानून लाग्ने, टिपरवालाहरुलाई कानून नलाग्ने ? कस्तो मुलुकमा जन्मिएछौं हामी भन्दै पिडा पोखिरहेका थिए स्थानीय पिडित । उनीहरुको एउटै गुनासो– नीति र विधिसम्वत् ढंगबाट टिपरको व्यवस्थापन गर भन्ने नै थियो । हामी कसैको रोजीरोटी खोस्न सडकमा आएका होइनौं र हाम्रो कुनै त्यस्तो मनशाय पनि छैन, हाम्रो एउटै माग छ उग्र रुपमा चल्ने टिपरहरुलाई व्यवस्थित गर । अफिस समयमा जुन किसिमका घटनाहरु घटिरहेका छन्, त्यसको प्रमुख कारण नै अव्यवस्थित ढंगबाट चलेका टिपर भएको स्थानीय पिडितहरुको गुनासो छ । घटनास्थलमा जम्मा भएका स्थानीयहरु थप्दै थिए– यदि आज हामी थिएनौं भने ति मास्टर्नीलाई यो टिपरले मारिदिन्थ्यो । त्यसैले पनि टिपर चालकहरुको मानसिकता नै परिवर्तन हुने किसिमले चेतना जगाउन जरुरी छ भन्दै आफ्ना पिडाहरु पोख्दै सडकमा बसिरहेका थिए ।
घटनास्थलमा भेटिएका जनप्रतिनिधिहरुको तर्क थियो– हामी थाकिसक्यौं, अब नगर प्रमुखले नै यो समस्याको समाधान दिनुहुनेछ भन्दै पन्छिरहेका थिए । यता प्रशासन भने उत्तेजित भीडलाई संयम बनाउनै व्यस्त थियो । समस्याको समाधान नगर प्रमुखबिना ननिस्किने भएपछि केही अगुवाहरु नगरपालिका पुगेका थिए । नगर प्रमुख र सामाजिक अगुवाबीच भएको छलफलका क्रममा नगर प्रमुखले पनौतीवासीले अझै १ महिना समस्या झेल्नपर्ने हुनसक्ने बताउनुभएको थियो ।
नगर प्रमुखले डेलिकेशनमा सहभागीहरुलाई सम्बोधन गर्दै युद्धस्तरमा करिडोरको निर्माण कार्य अघि बढिरहेकोले सडक अवरोध नगरिदिन आग्रह गर्नुभएको थियो । झण्डै २ सयभन्दा बढी मजदुरहरु करिडोर निर्माणमा लागेका र उनीहरुलाई श्रम गर्नबाट रोक्यांै भने करिडोर निर्माणमा जति ढिला हुन्छ, उति नै हामी पनौतीवासीले समस्या झेल्नुपर्ने हुन्छ । त्यसैले संयम भएर करिडोर निर्माणमा सहयोग पु¥याउन पनौतीवासीसँग नगर प्रमुख न्यौपानेले छलफलमा आग्रह समेत गर्नुभएको थियो । समस्या समाधान हुन्छ, केही समय संयमता अपनाऔं प्रमुख न्यौपानेको थप आग्रह थियो । सम्बोधनकै क्रममा छलफलबाट निस्किएका निचोडहरुलाई बुँदागत रुपमा सम्बोधन गर्ने गरी प्रहरी चौकी पनौतीका नाममा नगरपालिकाबाट पत्राचार भएको छ । जुन उपलब्धीलाई संस्थागत गर्ने दायित्व स्थानीय पिडित, व्यवसायी र प्रहरीको भएको पनि नगर प्रमुखको भनाइ थियो ।
सोमबारको सडक आन्दोलनबाट प्राप्त केही उपलब्धीहरुलाई व्यवहारतः उतार्नको लागि नगरवासी, यातायात व्यवसायी र टिपर व्यवसायीहरुमा आग्रह गरिएको छ । जसमा भनिएको छ– यस नगरपालिका क्षेत्रभित्र सञ्चालन हुने टिपरहरु मिति २०७७।०९।२१ देखि देहाय बमोजिम सञ्चालन गर्ने व्यवस्था मिलाउनुहुन सम्बन्धित निकायलाई जानकारी गरिएको व्यहोरा तपसिल बमोजिम रहेको भनी नगरपालिकाद्वारा जारी पत्रमा उल्लेख छ । जसमा नगरपालिकाको तर्फबाट छारो मार्न सडकमा पानी हाल्नेछ । जसअन्तर्गत तेजगंगा क्याम्पसदेखि बसपार्क, खोपासी पुलसम्म हुनेछ । त्यस्तै सन्देशमुलक होडिङ्ग बोर्डहरु आवश्यक ठाउँहरुमा राख्ने जिम्मेवारी प्रहरीचौकी पनौतीलाई दिइएको छ । टिपरहरु प्रत्येक दिन बिहान ९ बजेदेखि १०ः३० सम्म र बेलुकी ३ बजेदेखि ८ः३० बजेसम्म बजारमा निषेध गरिएको छ । मालबाहक ट्रकहरु बेलुका ८ बजेदेखि बिहान ६ बजेभित्र बजारबाट सामान ओरालेर बाहिर निस्किनुपर्नेछ भने खाली टिपर कोरिडोबार मात्र चल्न पाउनेछन् । त्यस्तै कार्यालय समयमा सडकमा टिपरहरु नराख्न नगरपालिकाद्वारा जारी सूचनामा सूचित गरिएको छ ।
सोमबारको उपलब्धीका बारेमा नागरिक अगुवा, राजनीतिकर्मी विश्वेश्वर बञ्जाराको टिप्पणी छ– पनौतीका नागरिकमाथि अप्रत्यक्ष रुपमा अन्याय हुँदै आएको छ । हामी कसैको रोजीरोटि खोस्न आएका होइनांै, कसैको व्यवसायका बारेमा धावा बोल्नु छैन । आज जुन घटना घट्यो, त्यसबाट हामीले पाठ सिक्नुपर्छ । टिपर चालकहरु कति कमजोर छन्, उनीहरुले आफ्नो यातायातको साधनको अवस्था कस्तो छ ख्याल नराख्दा झण्डै मानवीय क्षति हुन पुगेको थियो । धन्न ! हाम्रो छोरी कुन शतले बाँच्न पुगिन् । घटनास्थलको प्रकृति हेर्दा जिउ सिरिङ हुन्छ । त्यसैले यस्ता खालका गतिविधि नहुनका लागि विधि र नीतिलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गरेका छौं । यदि यसलाई हाम्रो कमजोरीको रुपमा हेरियो भने नेतृत्वको लागि महँगो सावित हुनेछ । जहाँसम्म प्रहरीचौकी पनौतीलाई नगरपालिकाबाट लिखित रुपमा जुन पत्र प्राप्त भएको छ, त्यो क्षणिक उपलब्धी मात्र हो । दीर्घकालिन रुपमा पनौतीवासी आफैं नउठी समाधान हुन्छ भन्ने मैले देखेको छैन भन्नुहुन्छ नागरिक अगुवा बञ्जारा ।
सोही छलफलमा सहभागी धर्म सोनामको कथन छ– आज जुन घटना घट्यो, यो एउटा प्रतिनिधिमुलक पात्र नभएर नियति हो । यो घटनामा जुन शिक्षिका हुनुहुन्छ, ति भीम न्यौपानेको छोरी भए के गर्थे ? सोचनीय विषय भएको छ । टिपरहरुको दादागिरी देख्दा कति अप्रिय घटनाहरु घट्ने हुन् भन्न सकिरहेको छैन । केही कुरा सम्झाउन खोज्दा तँ सडकमा हिँड्दैनस् र भनेर बारम्बार टिपर चालकहरुको धम्की खेप्नुपरेको गुनासो सोनामको छ । छलफलमा समय दिन नसक्ने नेतृत्वले के नगरवासीको समस्या सम्बोधन गर्ला ? तपाईं आफैं प्रतिदर्शी हुनुहुन्छ भन्दै प्रतिप्रश्न गर्न पछि परेनन् सोनाम ।
यता टिपर चालक चुडामणि दाहालको भनाइ छ– टिप गर, कमाएर ले तर गाडिको मर्मत सम्भारको बारेमा मालिकहरुले चासो नदिँदा नै आज जघन्य घटना घट्ने अवस्थामा पुगेको थियो । मेरो तर्फबाट त उहाँ (शिक्षिका) र स्कुटर अनि यि घरहरु सबै ध्वस्त हुन्थे र म ज्यानमाराको उपमा लिन पुग्थें भन्छन् चालक दाहाल । टिपर सामान ओसार्ने अवस्थामा नहुँदा पनि टिप गर्नुपर्ने बाध्यताकै कारण आज यो अवस्था भयो । मैले चाहेर पनि बचाउन सक्ने अवस्था थिएन । कुन दैवको शतले उहाँ (शिक्षिका) ले स्कुटर मोड्नु भो र आफू मात्र होइन, मलाई समेत कालोदाग लाग्नुबाट बचाउनुभयो ।
चालक दाहालकै शब्द सापटी लिने हो भने कुन अवस्थाका टिपरहरु चल्दा रहेछन् भन्ने पुष्टि हुन्छ । यसको अनुगमन गर्ने निकाय के हेरेर बसेको छ ? प्रत्येक पिडितहरुको गुनासो अहिले यहि भएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |