प्रभातफेरी अनलाइन६९७७ पटक पढिएको प्रकाशित मिति: २०७८ श्रावण ३१, आईतबार(४ साल अघि)
बिपशना शाक्य
काठमाडौं । तामाङ डाजाङको २०५ औं साहित्यिक श्रृंखलामा कार्यक्रमका प्रमुख अतिथि भाषा विज्ञ एवं साहित्यकार डा. लोकबहादुर लोप्चनले स्रष्टा रचना मोक्तान ‘यात्री’ को पहिलो कृति ‘थोर्बा दोखाङ’ को विमोचन गर्दै तामाङ भाषामा लिखित कविता कृतिले तामाङ भाषालाई सम्वृद्ध बनाउन टेवा पुग्ने हुँदा मातृभाषाप्रति लगाव राख्ने विद्यार्थीहरुको लागि यो बहुमूल्य गहनाको रुपमा लिन सकिन्छ । स्थानिय सरकारले सुरु गर्न लागेको मातृभाषा सम्बन्धी शिक्षाका लागि यो कृति अत्यन्तै पठन योग्य देखेको छु भन्नुहँुदै सो कृतिलाई सन्दर्भ सामाग्रीको रुपमा स्थानिय तह देखि विश्वविद्यालय सम्म तामाङ भाषा पठनपाठनका लागि आधारसिला हुने डा. लोप्चनको दाबी छ ।

पछिल्लो समय स्रष्टाका रुपमा उदाउनु भएका यात्रीका कृतिहरु पठन योग्य मात्र छैनन् कि ति कृतिहरुले समाज देखिएका, भोगिएका, दबिएर, हेपिएर बसेका पिडित वर्गका भावनाहरुलाई चित्रण गर्न समेत कृति सफल भएको छ । आफूले तामाङ भाषामा विद्यावारिधी गरेको स्मरण गर्नुहुँदै सो कृतिमाथि भविष्यमा समालोचना गर्ने पनि सम्बोधनको क्रममा डा. लोप्चनले बताउनुभएको छ । यसै सन्र्दभमा प्रमुख अतिथि भाषा विद् डा. लोप्चन थप्नुहुन्छ– कवियत्री यात्रीले तामाङ भाषा साहित्यको क्षेत्रमा कविता संग्रहको लेखन र प्रकाशन गरी तामाङ भाषा साहित्यको श्रीवृद्धिमा विशेष योगदान दिनुभई तामाङ युवायुवतीहरुको प्रेरणाको स्रोत बन्नुभएको छ । साथै तामाङ डाजाङले भाषा र साहित्यको क्षेत्रमा आफ्नो उपस्थितिलाई दह्रो रुपमा प्रस्तुत गरेको आफूले नजिकबाट मनन् गर्ने अवसर जुराई दिएकोमा डाजाङप्रति आभार व्यक्त गर्दै सो संस्थामा आबद्ध युवाहरुको उर्जा त्याग र योगदानका बारेमा जति नै चर्चा गरेपनि अपुगै हुने डा. लोप्चनको धारणा थियो । तामाङ भाषा र शिक्षामा विद्यावारिधी गरेका भाषा आयोगका उपसचिव डा. लोप्चनले यात्रीको तामाङ भाषामा लिखित कविता कृतिले तामाङ भाषालाई समृद्ध बनाउन टेवा पुग्ने बताउनुभएको थियो ।
कार्यक्रममा प्रगतिशील संस्कृतकर्मी एवं स्रष्टा इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ ले कृतिमाथि टिप्पणी राख्दै साहित्य भनेको कुरै हो, तर सबै कुरा साहित्य हुन्नन्, हिँडाइ पनि एउटा नृत्य हो तर सबै हिँडाइ नृत्य होइनन् । त्यहाँ हाउभाउ र विषयवस्तु परस्त प्रस्तुती पाइन्छ । यो कृतिले पनि तत्कालिन समाजको प्रतिक छायाँ हो, अतित हेर्ने हो भने तत्कालिन शासकहरुका दमनकारी गतिविधिको एउटा प्रतिबिम्ब हो यो कृति । रचनाजीका रचना पनि तत्कालिन अवस्था चित्रणलाई पेश गरिएको छ । अन्याय, अत्याचार र वर्ग संघर्षका विषयवस्तुलाई चित्रण गरी पस्किने जमर्काे गरेको देखाउँछ ।
साहित्य पनि पूर्ण हुँदैन जति गहिराइमा त्यति खुल्दै जान्छ, भावनाहरुको एउटा पाटोको रुपमा लिनुपर्छ । जुन कृतिले यो समाजमा तड्पिएर रहेका भावनाहरुको सम्बोधन गर्न खोजेको छ । जुन कृतिमा उल्लेखित हरफहरुले मन छोएको….. जसले भावुकता मात्र दिँदैन समाजलाई जीवन्त, संघर्षतर्फ धकेलिरहन्छ । अनुरागीले एउटा हातमा कलम र अर्को हातमा बन्दुक बोकेर कोरिएका सिर्जना भएको कृतिको अध्ययनपश्चात् निचोडमा पु¥याउँछ । यसले राष्ट्रियताप्रतिको लगावलाई जोड दिएको प्रस्तुत कृतिमा प्रकाशित हरफहरुले आत्मबोध गराउँछ । त्यति मात्र होइन, कृति

मा नेताहरुका चरित्रलाई यथार्थमा पस्किनु पनि कम चुनौती थिएन, एक सशक्त पहिचान हुन् रचना, सहिदको बलिदानी नभुलौं, क्रान्ति सकिएको छैन भन्ने आभाष कृषिको अन्त्यमा गएर महसुस गर्न सकिने बताउनुभएको थियो ।
टिप्पणीकै क्रममा संस्कृतकर्मी थिङ थप्नुहुन्छ– यतिमै सन्तुष्टि हुनौं, भाषा केही कमी कमजोरी भएकै स्वीकार्दै जाउँ, समग्रमा सम्मान छ रचनाका कविताहरू शक्तिशालीसँगै प्रगतिवादप्रति दृढ रहेको टिप्पणी गरेका छन् । उहाँका अनुसार शिल्प र कलाको दृष्टिले केही कविताहरू शक्तिशाली छन् । कविताहरूमार्फत् पहिचान प्राप्तिको सवाल, महिलाको मुद्दा, वर्गीय मुद्दा, इतिहासमा तत्कालीन शासकले तामाङ समुदायमाथि गरेको अन्याय अत्याचारको सशक्त उठान गर्न कवियत्रि सफल भएको बताएका छन् । कविताहरूमार्फत् कवियत्री यात्रीले उत्पीडित समुदायमा दबिएको आवाजलाई गम्भीरतापूर्वक उठाएको पनि स्रष्टा थिङले टिप्पणीका क्रममा उल्लेख गर्नुभएको थियो । संग्रहित कविताहरू समाजप्रति छायाँ मात्रै नभई आन्तरिक राष्ट्रियता कमजोर हुँदा भएको विद्रोहको चेतना भएको छ तर कवितामा तामाङ भाषा संरक्षणको नाममा सन्देशको अस्पष्टता देखिएको बताउनुहुँदै कविता अपठनीय हुनसक्ने उहाँको मत थियो ।
पत्रकार तथा समिक्षक मायालु ङेसुरका अनुसार कृतिमा संग्रहित कविताहरू जीवन संघर्ष, माक्र्सवादी दर्शनसँगै १० वर्षे जनयुद्धपछि स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रपछि योद्धाहरूलाई बेवास्ता गरिएको, महिलाका मुद्दाहरू, अन्तरजातीय प्रेम, गरिबीका कारण विदेशिने नेपालीले भोग्नु परेका भाषिक समस्या र तामाङ संस्कृतिको सजीव चित्रण रहेको समिक्षक ङेसुरको टिप्पणी थियो ।
अर्का समिक्षक तथा चर्चित कवि मुक्तान थेबाले कृतिमा समाविष्ट कविताहरूमा तामाङ सौन्दर्यता आएको दाबी गर्नुभएको थियोे । तामाङ राष्ट्रियताको सवाल अझ सशक्त ढंगले भने उठान नभएको समीक्षक मुक्तानको दाबी थियो ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका ५ कि यात्री पूर्वजनमुक्ती सेना हुन् । हाल शिक्षण पेशामा रहनुभएको उहाँ साहित्यका अनेक विधामा कलम चलाउँदै आउनुभएको छ । सोही कारण उहाँ स्वाभाविक रूपमा परिवर्तनको पक्षमा भएको र कविताहरूले विद्रोह र चेतनायुक्त सन्देश दिन खोजेको तामाङ लोक सम्राट चन्द्रकुमार मोक्तानले बताउनुभएको थियो ।
यात्रीको कृति विमोचनपछि कवि सिर्जना गोले तामाङ र अटुट दोङले कविता वाचन गर्दा राजु मोक्तान र अमर विरही थिङले गजल वाचन गरेका थिए । साहित्यकार तथा लेखक यात्रीको तामाङ भाषामा लिखित कविता कृति थोर्बा ‘दोखाङ विमोचन’ भएको छ । कृतिमा ५१ वटा कविता समावेश छन् । सो अवसरमा योगेश राल्पाली, प्रकृति थिङ लगायतका स्रष्टाहरुले कृति माथि आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । प्रगतिशील धारका साहित्य लेखनमा सक्रिय मोक्तानको यो पहिलो कृति हो ।