प्रभातफेरी अनलाइन४७४६ पटक पढिएको प्रकाशित मिति: २०७८ भाद्र २२, मंगलबार(४ साल अघि)

आनन्ददेव भट्ट
कवि श्री मोहन दुवालको मानवीय संवेदनाहरु भन्ने कवितासङ्ग्रह (२०५५ चैत्र) मा विभिन्न ६ ओटा उपशीर्षकहरुमा ९७ ओटा कविताहरु सङ्ग्रहित छन् । ती उपशीर्षकहरु हुन्– १. मानवीय संवेदनाका हरफहरु, २. मान्छेभित्रका कविताहरु, ३. प्रकृति–गर्भका उच्छ्वासहरु, ४. माया–प्रेमका प्रसङ्गहरु, ५. विम्ब–प्रतिविम्बका रेखाङ्कनहरु र ६. परिवेशभित्रका सन्दर्भहरु ।
यी उपशीर्षकभित्रका कविताहरुमा उहाँले मूलतः नेपाली समाजको वर्तमान व्यवहारमाथि आफ्ना प्रतिक्रियाहरु व्यक्त गर्नुभएको छ । साथै ती प्रतिक्रियाहरु क्षणिक भावावेश र स्थानीय स्वरुपका नभई दीर्घकालीन र सार्वभौम स्वरुपका पनि छन् । कविको मूल चिन्तन समाजलाई वर्तमानमा सबै किसिमका सङ्कीर्णता र सीमितताबाट उचाली आमूल परिवर्तन गर्नेतिर छ र त्यसका निम्ति आवश्यक दृष्टि र तर्कहरु उहाँले कवितामा प्रस्तुत गर्नुभएको छ । यस सङ्ग्रहमा व्यक्त काव्यात्मक प्रवृत्ति कवि दुवालमा आफ्नो काव्य साधनाको प्रारम्भदेखि नै अर्थात् वि.सं. २०२० को दशकदेखि नै विकसित हुँदै आएकाले चिन्तनका हिसाबले उहाँ सधैं वर्तमानको यथास्थितिवादिताको विरुद्धमा हुनुहुन्छ ।
उहाँका यस सङ्ग्रहका जम्मा ९१ ओटा कवितामध्ये ३३ ओटा कवितामा विभिन्न किसिमका अस्पष्टता दोष पाइन्छ । कहीँ शब्द चयनका कारण, कहीँ शैलीका कारण, कहीँ उपमा र शब्दचित्रका कारण, कहीँ कविताभित्रको सम्पूर्णतामा चिन्तन र भावनाको सङ्गति नबसेका कारण र कहीँकहीँ अर्थ र सङ्गतिको ख्याल भन्दा शब्द र अभिव्यक्तिको अद्भूतताप्रतिको प्रलोभनका कारण । ठाउँठाउँमा यी कविताले आफ्नो काव्यात्मक लयात्मकता वा तिनको स्वाभाविक प्रवाहलाई पनि उपेक्षा गरेको देखिन्छ भने कहीँकहीँ अभिव्यक्तिको कोमलताको अनादरसमेत गर्न पुगेको देखिन्छ ।
वास्तवमा कविता विधा नै यस्तो विधा हो जो बाहिरबाट हेर्दा रचना गर्न निक्कै सहज प्रतीत हुन्छ तर जतिजति त्यसको गुणात्मकताभित्र प्रवेश गर्न थाल्यो त्यतित्यति नै त्यसमा उकालो पर्दै जान्छ । त्यसैले गर्दा हुनुपर्छ विश्वका सबैजसो विलक्षण कविहरुले राम्रो कविता निर्माण हुन स्वतःस्फूर्त काव्यात्मक भाव वा भावनाको शक्तिशाली प्रवाह नै आवश्यक हुन्छ भनेका छन् । तर फेरि स्वतःस्फूर्तता मात्रै भएर पनि कविता राम्रो हुन्छ भन्न सकिन्न । कवितामा पाइन्छ त कुनै न कुनै विचार वा दृष्टि अनि तिनलाई प्रकाशमा ल्याउन मद्दत गर्ने साधन त उपयुक्त शब्दहरु नै हुन् । साथै कविले कस्तो शैलीमा ती शब्द र विचारलाई गुँगेर प्रस्तुत गर्छ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यसरी एउटा कविले कुनै पनि कविताको रचना गर्दा जे जति साजसज्जाको सहयोग लिन्छ ती सबैप्रति कविको सौन्दर्य चेतना अत्यन्त स्वतःस्फूर्त रुपमा व्यक्त हुनुपर्छ भन्ने आग्रह वा विश्वास नै सबै प्रतिभाशाली कविहरुको हो । अतः मेरो सामान्य विचारमा कुनै पनि हृदयकारी कवितामा प्रयत्नको खुबी देखापर्नु भन्दा सहज स्फुरणको वेगको अनुभूति प्राप्त हुनु नै बढी प्रशंसनीय मानिन्छ ।
अर्को कुरा, यस कवितासङ्ग्रहका अनेक ठाउँमा मुद्राराक्षसले साह्रै धेरै उपद्रो मच्चाएको पनि स्पष्ट देखिन्छ जसले कहीँ कर्ता र क्रियापदको व्याकरणसम्मत सङ्गति नहुनु, कुनै कुनै अभिव्यक्तिले एकोहोरो पुनरुक्तिको स्वरुप ग्रहण गर्नु, कहीँ कहीँ नेपाली भाषाको स्वाभाविक प्रयोग–इतर प्रयोगहरु हुन जानु र पाठकलाई त्यो बारम्बार खट्किनु यी त्रुटि र दोषहरु देखिएका छन् । यस्ता दोषहरु छपाइका बेलामा वा स्वयम् मूल गुरुकापीको सम्पादनकै बेलामा हुन गएका असावधानी वा तिनमा पहुँच नपुग्नाका कारणबाट भएका हुन सक्छन् ।
अनि अर्काथरी २७ ओटा कवितामा चाहिँ कविले आफ्ना विचार, भावना, इच्छा, आकाङ्क्षा आदिलाई समाजको वस्तुगत यथार्थको आधारमा सामान्य किसिमले व्यक्त गरेको पाइन्छ । यी कवितामा माथिका ३३ कवितामा पाइएका दोषहरु निक्कै अल्प मात्रामा प्रदर्शित देखिन्छन् ।
बाँकी ३७ कविताले भने कवि दुवालको सर्वप्रथम त विगत एक दशकदेखि र व्यापक रुपमा भन्ने हो भने उहाँको काव्यसाधनाको निरन्तर अभ्यासको तीन साढे तीन दशक लामो समयावधिभित्र आएको गुणात्मक परिवर्तनको परिचय दिन्छन् । पहिलो समूहका अस्पष्ट कविताहरुमा पाइने अनेकमुखी त्रुटिहरुका तुलनामा यी ३७ कविता कम्तीमा ६०% भन्दा धेरै विजय हासिल गर्दै अग्रसर भएको देखिन्छ । त्यसैलाई यस कवितासङ्ग्रहको आमुख वा भूमिका वा मन्तव्यका रुपमा आदरणीय समालोचक श्री माधवलाल कर्माचार्यले “एक झलक ‘मानवीय संवेदनाहरु’ को अनि मोहन दुवालको पनि” भन्ने शीर्षकमा सविस्तार वर्णन गर्नुभएको छ र त्यस्तै किसिमका अनेक उदाहरणयुक्त आलेखहरु अरु पनि तयार गर्न सकिन्छ । यस तेस्रो समूहका कवितामा कवि दुवालको कल्पनाशक्ति, उपमाशक्ति, व्यङ्ग्यशक्ति, शब्दसंयोजनशक्ति, अनेक मिहिन भावहरुको सङ्कलन शक्ति, काव्यात्मक लयात्मकता, अभिव्यक्तिको कोमलता र सशक्तता, एउटा आधुनिक प्रयोगवादी कविको जस्तो प्रयोगधर्मिता र ती अनेक गुणका कारण आफ्ना कुरालाई बढी आकर्षक ढङ्गले, अत्यन्त सुस्पष्ट किसिमले र मनोहारिताका साथ पाठकसम्म पुग्ने क्षमताको राम्रो विकास हुँदै गरेको पनि प्रष्टै देखिन्छ ।
तैपनि, कवि दुवालले आफ्नो काव्य साधनाको क्षेत्रका मोहन दुवालीय विशिष्टता स्थापित गर्न चाहिँ अझै जानी वा नजानी घुसपैठ गर्न खोज्ने खस्रामस्रा गद्यात्मकता, अस्पष्टता, दुरुहता, अर्थहीनता र केवल अभिव्यक्तिको भ्रामक सम्मोहन जस्ता मारहरुका विरुद्ध अत्यन्त सजक, सचेत भई निर्मम सङ्घर्ष गर्नु अत्यावश्यक देखिन्छ । अझ मोहन दुवालजस्ता समाजलाई आमूल परिवर्तन गर्न खोज्ने, सशक्त प्रगतिवादी विचारका कविले त यस्ता दुस्मनका विरुद्ध झन् बढी ध्यान दिनु अत्यन्त जरुरी छ ।
यस कवितासङ्ग्रहमा श्री मोहन दुवालको रचनाशैलीमा कविवर केदारमान व्यथितका निधन–समय भन्दा ५÷७ वर्ष अगिका काव्यसाधनामा देखापरेको पाठकसित सामान्य कुरा गर्दा गर्दै आफ्ना गम्भीर विचारहरु सम्प्रेषित गर्ने शैलीले पनि कताकति च्याएको अनुभव हुन्छ ।
कवि मोहन दुवाल (मोदु) नेपालको काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा स्थायी रुपले बस्नु हुन्छ तर उहाँले त्यहीँ बसीबसी काठमाडौं उपत्यकाभरि आफ्नो साहित्यिक साधना र सामाजिक क्रियाशीलताको गम्भीर छाप छोड्नु भएको छ । उहाँ नेपालभाषाका कविका रुपमा नेवार जगत्मा परिचित हुनुहुन्छ । साथै उहाँले नेपाली भाषा र साहित्यका माध्यमबाट पनि नेपालको राष्ट्रिय जीवनमा एक प्रगतिवादी कवि–साहित्यकारका रुपमा ख्याति प्राप्त गर्दै जानु भएको छ । चारित्रिक रुपमा एक इमान्दार, सिद्धान्तनिष्ठ, लगनशील, त्यागी तथा कर्मठ समाजसेवीका रुपमा उहाँ दिनदिनै लोकप्रिय बन्दै जानु भएको छ । अनि यस मानवीय संवेदनाहरु भन्ने कवितासङ्ग्रहका माध्यमबाट पनि उहाँले आफ्नो शुद्ध नियत, हृदयको विशालता, नेपाली समाजमा देखिने कुनै पनि किसिमको अन्याय, अत्याचार तथा विकृति र विसङ्गतिका विरुद्ध आफ्ना सशक्त भावना व्यक्त गर्नुभएको छ । यसका निम्ति उहाँ प्रशंसनीय हुनुहुन्छ । उहाँले कवितामा मात्र होइन गद्य विधाका अनेक क्षेत्रमा पनि जुन निरन्तर साधना गर्दै जानु भएको छ, त्यसको पनि अझ मुक्त कण्ठले सराहना गर्नु पर्छ भन्ने मेरा दृढ विचार छ । उहाँको यस कवितासङ्ग्रहका निम्ति बधाई दिँदै म आफ्ना भनाइ अन्त गर्न अनुमति माग्दछु ।
२०५७/५/११
कालिकास्थान, काठमाडौं