logo
२०८३ अषाढ १२, शुक्रबार |
📰
🔍

रास्वपाको संघीय नीति र नेतृत्वमा सुदन किरातीको प्रश्न

प्रभातफेरी अनलाइन२४ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ १२, शुक्रबार(३ घण्टा अघि)
रास्वपाको संघीय नीति र नेतृत्वमा सुदन किरातीको प्रश्न

काठमाडौं, श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संघीय शासन व्यवस्थासम्बन्धी नीति र शीर्ष नेतृत्वको धारणा एकरूप नभएको भन्दै प्रश्न उठाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार पोस्ट गर्दै किरातीले निर्वाचनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले जनकपुरमा ‘शक्तिशाली प्रदेश’ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गराएका छन्। उनले त्यही प्रतिबद्धताका आधारमा मधेसका मतदाताले रास्वपालाई व्यापक समर्थन गरेको दाबी गरेका छन्।

किरातीका अनुसार चितवनमा सम्पन्न रास्वपाको महाधिवेशनमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको दस्तावेजमा प्रदेशको पुनर्संरचनाको प्रस्ताव गरिएको छ भने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको दस्तावेजमा प्रदेशसभा खारेज गर्ने प्रस्ताव समावेश छ।

उनले देशको शासन संरचनाजस्तो संवेदनशील विषयमा शीर्ष नेतृत्वबाट फरक–फरक धारणा आउनु गम्भीर वैचारिक अन्योलको संकेत भएको टिप्पणी गरेका छन्।

साथै, निर्वाचनका बेला जनतासामु गरिएको प्रतिबद्धता र अहिले प्रस्तुत नीतिबीच किन मेल नखाएको भन्ने प्रश्न गर्दै उनले देशलाई स्पष्ट लोकतान्त्रिक दृष्टिकोण, विश्वसनीय मार्गचित्र र राजनीतिक स्थिरता आवश्यक रहेको उल्लेख गरेका छन्।