१० वर्षे जनयुद्धमा जनताका प्रत्येक सुख दुःखसँग हातेमालो गर्दै साम्राज्यवाद र विस्तवारवाका दलालहरुका लागि धारिलो हतियारझैं सावित एउटा योद्धा हुन् यादव ढुंगेल (जमिन) ।
नेपाल कम्युनिष्ट आन्दोलनमा पछिल्लो दस्ताको रुपमा उदयमान एउटा राजनीतिक पात्रका रुपमा काभ्रे जिल्लाको त्यो अनकन्टार विकासले ठगेको भूगोलमा जन्म लिन पुगेका योद्धा जमिन, जसले स्कुले जीवनलाई समेत बन्धकी राख्दै पुनउत्थानवादी प्रतिगमनका मतियार विरुद्ध जस्तो नाम त्यस्तै व्यवहार देखायो भन्दै समाजका जल्लाहदका प्रत्येक आलोचनाहरुलाई निष्चेत पार्दै समाज रुपान्तरणको बाटोमा युवावस्थालाई तिलाञ्जली दिँदै आएका योद्धा नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको विस्तारित बैठकबाट काभ्रे जिल्लाको पर्यटकीय नगरी धुलिखेल नगरको इन्चार्जको जिम्मेवारी दिएपछि अझै आफू तिखारिन पुगेको आभाष दिलाउन पछि नपर्ने योद्धा जमिन जसलाई धुलिखेल नगरको इन्चार्जको जिम्मेवारी सहित कार्यक्षेत्र तोकिएको छ । उहाँसँग समसामयिक विषयमा जोडिएर गरिएका राजनीतिक अन्तरसंवादलाई पाठक सामु पस्किने जमर्काे गरेका छौं । सं.
यादव ढुंगेल (जमिन), बागमती प्रदेश सदस्य÷इन्चार्ज
नेकपा माओवादी केन्द्र धुलिखेल नगर समिति
काभ्रेपलाञ्चोक
१. राजनीतिक यात्राका बारेमा केही राखिदिनुहुन्छ कि ?
नेकपा माओवादी आबद्ध कार्यकर्ता तथा नेतृत्व मर्न तयार नभएको भए आज यो स्वतन्त्र, स्वाभिमान मुलुकको रुपमा उपयोग पाउने थिएनौं । त्यस्तै आम नागरिकले आफ्ना हक, अधिकारका बारेमा दृढतापूर्वक प्रस्तुत हुने हिम्मत जुटाउने अरु कोहि नभएर नेपाल कम्युनिष्ट पार्टी माओवादीको छत्रछायाँमा हुर्किएका हामीजस्ता योद्धाका बारेमा थप मसँग शब्द छैन । त्यो १० वर्षे जनयुद्धमा एउटा सैनिक कमाण्डरको रुपमा आफ्नो जिम्मेवारी बहन गरिरहँदा जुन किसिमका आरोह–अवरोह पार गर्दै जनतालाई जुन सपना बाँड्दै आयौं, ति सपनाहरु पूरा गर्ने दायित्व हाम्रै काँधमा छ । जुन दिन जनताले ति सपनाहरु व्यवहारतः उपयोग गर्न पाउँछन्, त्यतिबेला मात्र राजनीतिक गतिशीलताका बारेमा चर्चा गरौंला । त्यो यात्राका लागि कठिन संघर्षका पहलहरु बाँकी छन् । आजसम्मको यो यात्राले एउटा मार्ग प्रशस्त गरेको छ । भन्नैपर्दा, अझै कठिन संघर्षहरु बाँकी छन् । त्यसैले आम नागरिकहरुमा नेपालको वस्तुस्थिति र विश्वको राजनीतिक अवस्थाका बारेमा सुसूचित गराउने दायित्व यो यात्राले बहन गरेको छ । त्यसैले पनि अतितबाट पाठ सिक्दै वर्तमान हुँदै भविष्यका बारेमा गोरेटो कोर्नु छ । बन्दुकको नालमा रहेको राजनीतिक यात्राका बारेमा जुन किसिमका चर्चा, परिचर्चा र टिप्पणीहरु रहन्छन्, तिनले सही मार्ग निर्देशित हुनको लागि प्ररेणादायी भूमिका खेल्दछ भन्ने लाग्छ ।
हिजोका ति दिनहरुलाई नियाल्ने हो भने आजको सत्ता सञ्चालनले न्याय ग¥यो भन्ने लाग्दैन । किनकी ति कष्टपूर्ण दिनहरुमा नेपाली जनताले तत्कालिन शाही सत्ताका विरुद्ध उठाएको बिगुल विश्राम हुन दिनु हुन्न भन्ने नै हो तर राजनीतिक यात्रा नेपाली जनताको अनुकूलतासँग मेल खाएको छैन, जहाँ दलाल, नोकरशाही, पूँजीवादका अवशेषहरु रहन्छन्, तबसम्म नेपाली जनताले मुक्ति प्राप्त गर्ने छैनन् । किनकी पछिल्लो यात्रा घटनाक्रममा समाजवाद उन्मुख राज्यसत्ताका लागि जानुपर्ने थियो । नेपाली जनताले त्यही अपेक्षा राखेर संघीय सत्तालाई स्वीकारेका हुन् । बिडम्बना ! नेपाली जनताको भरोसाको केन्द्र मानिएको कम्युनिष्ट भनिएकाको दुई तिहाइ सत्ताले जुन किसिमको व्यवहार देखायो, नेपाली धर्तीमा कालो दिनको रुपमा कोरिनुको अर्थ रहन्न । यहाँले जुन विषयवस्तु माग्न खोज्नुभएको छ, त्यो त्यति सजिलै पोख्न सकिन्न । कम्युनिष्ट पार्टीभित्र पनि सुराकीहरु रहन्छन् । ति जासुसहरुले आफूलाई सच्चा, इमान्दार योद्धाको रुपमा मञ्चन गर्छन् । त्यसैले कति कुराहरु चाहेर पनि जनताको माझमा पोख्न सकिरहने अवस्था छैन । तसर्थ पनि राजनीतिक यात्रा विगत, वर्तमान र भविष्यलाई छुट्याउने हो भने अब राजनीतिमा स्वार्थ भाव हाबी हुने देखिएको छ । विगतका ति न्याना पलहरु अब अपेक्षा गर्न सकिन्न ।
२. तपाईंले जुन कुरा उठाउनुभएको छ, त्यसलाई विश्वास गर्ने हो भने अब नेपाली जनताले साम्राज्यवाद, विस्तारवादका विरुद्ध लड्नु पर्दैन भन्न खोज्नुभएको हो ?
कदापि होइन । यदि नेपाली जनताले त्यो किसिमको अनुभूत गर्न थाल्नु समाजवादी आन्दोलनका लागि घाटा हो भन्ने महसुस मात्र होइन, व्यवहारतः भोग्न पर्छ भन्ने मेरो बुझाइ छ । भर्खरै एमसिसिको बारेमा सडक जसरी तातेको थियो, जसरी जनताले साम्राज्यवाद, विस्तारवादका विरुद्ध धावा बोलिरहेका थिए, आफूलाई अग्र मोर्चामा मृत्युसँग पौंठाजोरी खेलिरहँदा तिनै जनताका प्रतिनिधिहरुले जुन किसिमको जघन्य राजनीतिक अपराध गर्न पुगे, त्यो क्षेम्म छैन । आज ति घटनाक्रमले जुन स्थिति सिर्जना भएको छ, त्यो व्यवहारतः माफ लायक पनि त छैन । ति सबै घटनाक्रमलाई लिने हो भने नेपाल राजनीतिक रुपमा अत्यन्तै संक्रमणकालिन अवस्थामा छ । त्यसैले नेतृत्व तहमा रहने तमाम राजनीतिक धरोहरहरुले साम्राज्यवाद र विस्तारवादका कुटिल चालका विरुद्ध मोर्चाबन्दी हुन आवश्यक छ । यदि त्यस किसिमको योजना आएन भने नेपाली जनताका सुखका दिन अब यति नै हो भन्ने अवस्थामा हामी पुगिसकेका छौं ।
राजनीतिक संस्कार र आचरणलाई तिलाञ्जली दिँदै आफूलाई सच्चा कम्युनिष्ट भन्न रुचाउनेहरु नै विचलनको अग्रदस्तामा देखिनु समाजवाद उन्मुख राजनीतिक यात्रामाथि पूर्णविरामको विकल्प छैन । आज जुन व्यवस्था आएको छ, त्यसले पिछडा वर्ग, जनजाति, आदिवासी, दलित लगायत अपहेलित वर्गमाथि जुन किसिमको हौसला छ, त्यसको अन्त्य टाढा छैन भन्ने लाग्छ । प्रतिगमनका मतियारहरु साम्राज्यवादका हलिहरु, विस्तारवादका मतियारहरुले आफ्नै जन्मभूमिलाई रण मैदानको रुपमा देख्न चाहेको संकेत राजनीतिक घटनाक्रमले गरेको छ । ति घटनाक्रमलाई लिएर तत्काल समिक्षा गर्दै जनताका माझ संघीय, समावेशी लगायतका मुद्धाहरुले नेपालका जनजाति, आदिवासी, दलितहरुमा आएको परिवर्तनका बारेमा सुसूचित गर्ने दायित्व त्यो कसैको छ भने नेकपा माओवादी केन्द्रको छ । कुनै पनि आदिवासी, जनजाति, मुस्लिम, दलित लगायतका नागरिकहरुका लागि आरक्षण गरिएको ति आरक्षण कोटाको बारेमा प्रष्ट्याउन नसक्नु नै नेकपा माओवादी केन्द्रको कमजोरी हो जस्तो लाग्छ मलाई । हिजो बन्दुक र गोला बारुद्धसँग खेल्दै दलाल नोकरशाहीका विरुद्ध धावा बोलिरहँदा नेपाली जनताले दिएको त्यो माया र आशिर्वाद हाम्रा लागि सञ्जीवनी बन्नुपर्ने थियो । बिडम्बना ! हाम्रा ति सुनौला सपनाहरु तहसनहस हुने अवस्थामा पुगेका छन् । जनजाति, आदिवासी, मुस्लिम, दलित लगायतका नागरिकहरुले साँच्चै माओवादी मर्न तयार नभएको भए हामीले यि सुविधाहरु, यि अधिकारहरु प्राप्त गर्ने थिएनौं भन्ने ज्ञानको बोध हुँदैन, तबसम्म हाम्रो आन्दोलनले विश्राम लिँदैन ।
३. आसन्न स्थानीय निर्वाचनलाई लिएर नेकपा माओवादी केन्द्र धुलिखेलले के–कस्ता योजनाहरु ल्याएर नगरवासीलाई सचेत गराउने जमर्काे गरेको छ त ?
स्वभाविक हो । एउटा राजनीतिक आस्था बोकेको योद्धाका लागि आफ्नो पृष्ठभूमि र ग्रासरुटका बारेमा जानकारी हुन जरुरी छ । त्यसको समिक्षा बहुलवादी संस्कारभित्र पुरातनवादी संस्कारका हिमायतीहरुले औंल्याएको बाटो पछ्याउने क्रममा तपाईंले भनेजस्तै स्थानीय तहसम्म पुगेर जनतासँग एकाकार हुने जमर्काे नेकपा माओवादी केन्द्रले पनि गरेको छ । धुलिखेल नगरका सवालमा पृष्ठभूमि कोट्याउने हो भने यो वामपन्थीहरुको उर्वराभूमिको रुपमा स्थापित नगरी हो । अझै यो पर्यटकीय नगरीभित्र वामपन्थी पृष्ठभूमि बोकेका अग्रज हस्तीहरुकै बोलवाला चल्छ । दुःखका साथ भन्नुपर्छ ति जेष्ठ कम्युनिष्ट योद्धाहरुले नगरमाथि न्याय गर्ने हो भने फेरि एकपटक चोइटिएकाहरुलाई सबक सिकाउनुको विकल्प छैन । एउटा स्मरणयोग्य कुरो, धुलिखेल नगरमा रहेका झण्डै २५ हजार मतदाताहरुले पुनउत्थान र पुरातनवादीका विरुद्ध धावा बोल्ने छन् भन्ने विश्वास नेकपा माओवादी केन्द्र धुलिखेल नगर समितिले लिएको छ । त्यो सपनालाई यथार्थमा परिणत गर्नेछन् धुलिखेल नगरवासी आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुले भन्ने विश्वास राख्दै धुलिखेलको पहिचान पर्यटनको जुन ब्राण्ड छ, त्यसलाई भावी पुस्ताले मनन् गर्नसक्ने उपयुक्त दस्ताको रुपमा व्यवहारमा उतार्ने प्रण नेकपा माओवादी केन्द्र धुलिखेल नगरले राखेको छ । जे जति विकास निर्माणका पक्ष छन्, त्यसले निष्पक्ष ढंगबाट न्यायपूर्ण तरिकाले उपयोग गर्नेछौं ।
राजनीतिक प्रतिशोधका घटनाहरु यो ५ वर्षमा अनुभूति गर्न पाइएको छ । यसबाट पाठ सिक्दै नगरवासीमा कुनै किसिमको वैमनश्यता उत्पन्न हुने राजनीतक हिसाबले प्रस्तुत नहुने वचनबद्धता नेकपा माओवादी केन्द्र धुलिखेल नगर समितिले राख्दछ । व्यवहारतः पनि यि कुराहरुलाई पुष्टि गर्नका लागि धुलिखेल नगरवासीले अवसर दिनेछन् भन्ने विश्वासका साथ स्थानीय निर्वाचनमा जानेछौं । बाँकी जुन घोषणा पत्र लगायतका कुराहरु छन्, त्यो नगरको आवश्यकताका अनुसार नगर समितिले छिट्टै सार्वजनिक गरेर अधिनायकवादका हलिहरुका अगाडि प्रस्तुत हुने अठोटका साथ नेकपा माओवादी केन्द्र आएको छ ।
४. तपाईंले राजनीतिक रुपमा क–कसलाई प्रतिस्पर्धी देख्नुभएको छ ?
अब सामान्य रुपमा भन्नुपर्दा धुलिखेलको हकमा पनि यो लागू नै हुन्छ । सत्ता गठबन्धन र पुनउत्थानवादी शक्ति बिच नै सत्ता संघर्ष चल्छ । त्यसैले यो पटक प्रतिगमनको नाइकेले धुलिखेल नगरमा चुरिफुरी नगर्दा नै राम्रो हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छु । किनकी प्रतिगमनको मतियारले राजनीतिक प्रतिशोधभन्दा अरु केही पाठ सिकाएन भन्ने बुझाइ धुलिखेलवासीको छ । कानूनलाई लत्याउँदै आफू नै सर्वसत्ता हो भन्ने किसिमले प्रतिगमनको मतियार अगाडि सरेको छ, त्यो बौद्धिक नगरवासीका लागि पाच्य हुने विषय नै रहेन । त्यसैले यो पटक धुलिखेलका सचेत नागरिकले गठबन्धनको नेतृत्व नै छान्ने छन्, त्यो नै यो नगरीको एउटा सफल, सबल र सक्षम नागरिक रहनेछ । जसले प्रत्येक चह¥याएको घाउहरुमा मलम पट्टिको काम गर्नेछ । प्रतिगमनको मतियार जस्तो पूर्वाग्राही ढंगबाट प्रस्तुत हुने कल्पना पनि गर्ने छैन । जसरी प्रतिगमनले सर्वसाधारणहरुप्रति विष छर्ने काम ग¥यो, हाम्रो नेतृत्व यथार्थमै अमृत बनेर आउने छ । प्रत्येक पर्यटन व्यवसायीहरुका घाउहरुमा मलम पट्टि लगाएर छाड्ने वचनबद्धता यहि संवादमार्फत् सार्वजनिक गर्न चाहन्छु । यसका लागि धुलिखेल नगरभित्र रहेका बौद्धिक ति धरोहर एक पटक उठ्न आवश्यक छ । न्याय र स्वतन्त्रताका लागि आफ्नो अमूल्य मत जाहेर गर्न आवश्यक छ । त्यसैले आग्रह गर्न चाहन्छु, इतिहास मर्न दिने छैन धुलिखेलले भन्ने आभास दिलाउँदै धुलिखेलको एकता अनन्तसम्म जीवन्त रहने छ भन्ने विश्वास राखेको छु ।
५. तपाईंले जुन किसिमको शब्दहरु निर्वाचनलाई लिएर खर्चिनुभएको छ, ति शब्दहरुले यथार्थता ग्रहण गर्ने अवस्था छ र ?
तपाईंले शंका गरेजस्तो धुलिखेल नगरका नागरिकहरु छैनन् । इतिहास साक्षी छ, त्यसैले हामीले भन्दै आएका छौं धुलिखेल हिजोको धुलिखेल जस्तो अब रहनेछैन । परिवर्तन चाहन्छ । त्यसका लागि युग सुहाउँदो राजनीतिक पात्रको खोजीमा छ । त्यो पात्र सत्ता गठबन्धन दलबाट आउनेछ । त्यसले नै समग्र धुलिखेलका पिर, मर्काहरुलाई सम्बोधन गर्दै युग सुहाउँदो धुलिखेल बनाउनेछ । त्यसका लागि पनि बौद्धिक नगरवासीहरुले पछुताउनुभन्दा पहिला नै आफ्नो विवेकलाई सही रुपमा प्रयोग गर्नुहुनेछ भन्ने विश्वास नेकपा माओवादी केन्द्र धुलिखेल नगर समितिले ठोकुवा समेत गरेको छ । किनकी तत्कालिन १० वर्षे जनयुद्धले प्राप्त गरेका सीमित उपलब्धीहरुको स्थायित्वका लागि पनि धुलिखेल नगरवासी गम्भीर हुनुहुन्छ । प्रतिगमनको मतियारका बारेमा धेरै त नभनौं यदि १० वर्षे जनयुद्धले अर्काे कोल्टो नफेरेको हो भने आज कति देशप्रेमी योद्धाहरु मतियारको निशानामा पर्ने थियो । त्यसैले राष्ट्रिय राजनीतिक घटनाक्रमलाई नजिकबाट नजरअन्दाज गर्ने हो भने धेरै कुराहरु सार्वजनिक गर्न मन लाग्छ तर राजनीतिक संस्कार नभएकाहरुका लागि यि अभिव्यक्तिले ठूलै मूल्य चुकाउनुपर्छ । त्यसैले मैले सबै कुराहरुलाई सार्वजनिक गर्नु मनासिव सम्झेको छैन । हिजो जनयुद्धका हिमायतीका अगाडि बुइगल पुछेको इतिहास टाढा छैन । त्यसैले राजनीतिक प्रतिशोधको पिडा कस्तो हुन्छ, त्यो जनयुद्धका योद्धाहरुलाई सहजै महसुस भएको विषय हो । त्यसैले धुलिखेल ति घटनाक्रमबाट टाढा नभएको नगरी हो । तपाईंले खोजेका जिज्ञासाहरु सम्बोधन भए भन्ने लाग्छ । किनकी धुलिखेल हिजोको राज्यसत्ता जुन शाहीसत्ताको संरक्षणमा हुर्किएको पृष्ठभूमिले पनि यि घटनाक्रमहरुका बारेमा टाढा गइराख्नु पर्दैन । आज पनि त्यो शाहीसत्ताको बर्बरतापूर्ण पिडाको सिकार भएर तड्पिएका धुलिखेलवासी त्यो दिनको पर्खाईमा छन् । जसको सिउँदो रित्तिएको छ, काख रित्तिएको छ, अभिभावक गुमेको छ, ति नगरवासीले नेकपा माओवादी केन्द्रप्रति भरोसा गरेरै ति पिडाहरुलाई सहनुभएको छ । त्यो ऋण तिर्नका लागि पनि प्रतिगमनको नाइकेलाई पराष्त गर्नुको विकल्प हामीमाझ छैन । त्यसैले पनि एउटै चाहना गठबन्धनको कामना मूल मर्मका साथ स्थानीय सत्ता कब्जा गर्दै राज्यसत्ताले निम्त्याएका ति कटुताहरुलाई अन्त्य गर्नु छ ।
६. अन्त्यमा तपाईंको राख्नैपर्ने र यस संवादमा छुटेका केही विषयवस्तु छन् भने राखिदिनुस् ।
समग्र रुपमा सबै कुराहरु एकैपटक सम्बोधन हुने सम्भावना पनि रहन्न । जति आए ति समय सापेक्षिक ढंगबाट आएका छन् । आवश्यकताले महसुस गरेको खण्डमा फेरि पनि जोडिँदै जानेछौं । एउटा भन्नैपर्ने विषय भनौं या कुरा, धुलिखेल नगरको नेतृत्वले फरक विचारमाथि त धावा बोल्यो, बोल्यो आ¬फ्नै विचार र आस्थामाथि समेत प्रतिशोध साँधेर उदाहरणीय कार्य अन्त खोज्न जानु नपर्ने अवस्था प्रस्तुत गरेर राजनीतिक संस्कार सिकाएको छ । कानूनलाई तिलाञ्जली दिँदै आफ्नै मतदातामाथि दुष्कर्म गरेको कारणले पनि अब प्रतिगमनको मतियारलाई नेतृत्व दिनुपर्छ भन्ने अवस्थामा धुलिखेल नगरवासी छैनन् भन्ने विश्वास दिलाउन चाहन्छु । जो जति न्यायप्रेमी नगरवासी हुनुहुन्छ, उहाँहरुले उचित समयको पर्खाईमा रहनुभएको छ । जसको हिसाब किताब नगरवासीले ब्यालेटबाट दिनेछन् भन्ने विश्वास रहेको छ । जसबाट प्रतिगमनका मतियारहरु सदाका लागि राजनीतिक विश्रामको विकल्प देख्ने छैन । सवाल कति अमुक शब्दहरु प्रयोग भएका छन्, त्यो असह्य पनि लाग्न सक्ला । किनकी राजनीतिक संस्कार बोकिसकेपछि कति कुराहरु स्वीकार्नुको विकल्प पनि छैन र म कसैको व्यक्तिगत आस्थामा ठेस लागोस् भन्न पनि चाहन्न । जसको कारण अमुक शब्दहरु पोख्न पुगेको छु । कति पाठकले यि वाक्यांशहरुको अर्थ सहज रुपमा लिन पनि गाह्रो पर्न सक्छ । त्यसैले फेरि पनि राजनीतिक संस्कारले निम्त्याएको सम्मानित आस्थालाई टुट्न दिने छैन भन्ने वचनबद्धता व्यक्त गर्ने यो अवसर उपलब्ध गराइदिनुभएकोमा प्रभातफेरि साप्ताहिक परिवारप्रति नेकपा माओवादी केन्द्र र म धुलिखेल नगर इन्चार्जको हैसियतले आभार व्यक्त गर्दै जनताका कुण्ठित आवाजहरुलाई पाठकसामु प्रवाह गरेर स्वतन्त्रताको प्रत्याभूतिलाई स्थापित गर्न अग्रसर रहने छ भन्ने अपेक्षा राख्दछु ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |