logo
२०८३ कार्तिक १६, सोमबार |
☰
📰
🔍
✕

घरमा कोही नभएको मौका छोपेर चोरले सुन र नगद चोरी

प्रभातफेरी अनलाइन२ पटक पढिएको | ४१ मिनेट अघि
घरमा कोही नभएको मौका छोपेर चोरले सुन र नगद चोरी

काभ्रेपलाञ्चोक/ काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१० धुरपुरामा दिउँसै चोरी भएको छ। घरमा कोही नभएको मौका छोपेर चोरले सुन र नगद चोरी गरेका हुन्।

स्थानीय हरिमाया तामाङको घरमा आइतबार दिउँसो करिब १ बजेको समयमा चोरी भएको हो। घरधनी तामाङका अनुसार घरबाट एक तोला सुन र २० हजार रुपैयाँ नगद चोरी भएको छ। दिउँसै घरमा चोरी भएपछि स्थानीयवासी त्रसित बनेका छन्।

स्थानीय केदारनाथ घिमिरेका अनुसार धुलिखेल नगरपालिका–११ कल्छे क्षेत्रबाट पल्सर मोटरसाइकलमा आएका दुई जना व्यक्तिमाथि चोरीमा संलग्न रहेको आशंका गरिएको छ। स्थानीयले दिएको जानकारीअनुसार उक्त मोटरसाइकल कल्छेबाट पाँचखाल नगरपालिका–१० को नयाँगाउँ हुँदै बालुवा क्षेत्रतर्फ गएको बताइएको छ।

घटनाबारे प्रहरीलाई जानकारी गराइएको छ। चोरीमा संलग्न व्यक्तिको पहिचान तथा खोजीका लागि प्रहरी र स्थानीयवासीले अनुसन्धान सुरु गरेका छन्। घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको छैन।