आजको बसिबिँयालो यहीँबाट सुरु गरौँ । मेरो लेख्ने काइदा गफ गराई पाराको हुने गर्दछ । कुरा सुरु गरौँ “शिक्षाको लक्ष्य के ?” भन्ने प्रश्नबाट, यसको जवाफमा सबैले मिल्दोजुल्दो वा अलग अलग जवाफ दिन सक्छन् । अलि पढेलेखेका बुज्रुकहरुले निकै लामो भाषण छाँट्लान् । आफैँ पनि शिक्षक हूँ तर यो प्रश्नको उत्तर म पनि दिन सकुँला तर व्यबहारमा अँझसम्म यसको उत्तर पूर्णरुपमा दिन सकिन त्यसका विविध कारण होलान् त्यो आफ्नो ठाउँमा छ ।
कृषि अभियन्ता जीवन राईको आफ्नै तर्क होला, कृषि वैज्ञानिक मदन राईको त अद्भुत कुरा हामीहरूले सुन्न पाएकै छौँ । उद्योगी कर्ण शाक्यका आफ्नै कुरा होलान्,महावीर पुनले गरेरै देखाइरहेका छन् । विद्यानाथ कोइराला, केदारभक्त माथेमाहरु जस्ता अनेक शिक्षाविद छन् तर सार्वजनिक शिक्षाको अवश्था अचम्मै लाग्ने गरि खस्केको छ । विश्व श्रम बजारमा हाम्रा मान्छेहरु कौडिको भाउमा बिक्री भइरहेका छन् । यता बेरोजगारको जमात उत्पादनमा हाम्रा विद्यालय र विश्वविद्यालयले धेरै मिहिनेत गरिरहेका छन् । गाउँ खेतबारीमा मान्छे हुँदैनन् तर पसल, तासका खालमा मान्छे दर्शन छाँटिरहेका हुन्छन्, राजनीतिक बहस्मा चर्काचर्की चलिरहेको हुन्छ । त्यसले न हाम्रा समस्या समाधान हुन्छ न हामीलाई मान्छे भएर बाँच्न सिकाउँछ । हामीकहाँ मुख बजार्न,हात चलाउन जान्ने लाखौँ शिक्षित छन् तर गुजारा गर्ने सीप छैन के शिक्षाको लक्ष्य यसरी पूरा होला त ?
शिक्षाको लक्ष्य आफुले अध्ययन गरेको विषयमा सक्षम हुनु र ब्यबहारिक रुपमा काम गर्न सक्नु नै हुनुपर्छ । विद्यार्थीले आफूलाई म कहाँ छु र के गर्दैछु, किन गर्दैछु भन्ने बुझ्नु पर्दछ । जाँच पास गर्नु, प्रमाणपत्र जम्मा गर्नु, बाबुआमा र शिक्षकको चित्त बुझाउनु त सामान्य कुरा हुन् । जब कि शिक्षाले जीवन र जगतलाई बुझाउनु पर्छ,गरिखाने सीप दिनु पर्दछ । अभ्यासमार्फत आफुलाई खार्नु पर्छ । हामी सर्वोत्तम र सर्वोत्कृष्ट हुन खोज्नु पर्छ तर त्यो किन भन्ने पनि राम्ररी बुझ्नु पर्छ । सबै कुरा गर्न यो जीवनमा सम्भव छैन त्यसैले आफू, परिवार, समाज,देश र विश्वलाई नै केही दिन सक्ने कुनै एउटा क्षेत्रमा पारङ्गत हुने तर्फ लाग्नु नै बेश हुन्छ । औपचारिक शिक्षाको सुरुवात हुनु पूर्व पनि मानिसले जेनतेन आफ्नो गर्जो टारेकै थिए तर अहिले धेरै फरक अवस्था र परिश्थिती छ ।
एउटा महत्वपूर्ण पाटो भनेको हामीले जीवनमा अपनाउने पेशा हो । आजको युगमा जुनसुकै पेशा रोजे पनि हामी त्यसमा पारङ्गत मात्र होइन उत्कृष्ट समेत हुनु पर्छ । पेशाका लागि चाहिने ज्ञान,सीप र काम गर्ने क्षमाता हासिल गर्नै पर्ने हुन्छ । शिक्षालाई गरिखाने सीपसँग नजोडे अब हामी झनझन अरुको गुलामी नगरी खान नपाउने हुँदै जान्छौँ । आधुनिक संसारले उधुमै मच्चाइसकेको छ तर हामी विश्वमै बुद्धिहीन मान्छेमा दरिन पुगेका छौँ । ज्ञान, सीप, संचार, विज्ञान सबै केन्द्रीकृत हुँदै गएका छन् । सिपालु, प्राविधिक, क्षमतावानको हातमा विश्व परिसकेको छ । शिक्षाले ज्ञान, सीप विकास, सुविधा मात्र दिने हो भने त्यो एकाङ्की हुन जान्छ जसले समस्या मात्र थप्दै जान्छ सँगसँगै त्यहाँ मानवता घोलिनु पर्छ । वास्तवमा अहिलेको विश्वमा अशिक्षितभन्दा शिक्षित मान्छेहरु समस्यामा छन् र समस्या सिर्जना गर्ने पनि तिनै हुन्छन् । समस्याको मूल जरो भनेको शिक्षित भए सँगै तिनका इच्छा, आकांक्षा, आवश्यकता पनि तीब्र रुपमा बढदै गए ।
शिक्षित मानिस पेशा गरी खान सक्ने त हुनैप¥यो साथसाथै साहित्य, कला, सङ्गीत जस्ता सिर्जनात्मक गतिविधिका उत्कृष्ट रुप कस्तो हुन्छ भन्ने बुझ्नु पर्छ । मानव मूल्यको महत्व जान्नु पर्छ । के ठीक र के बेठीक छुट्याउने विवेक र विवेक प्रयोग गर्ने क्षमता चाहिन्छ ।
कतिपय मानिस,मीठो खानु,राम्रो लाउनु सुबिधाजन्य जीवन बिताउनका लागि नै शिक्षा हासिल गर्नुपर्छ भन्ने मान्यता राख्छन् । साहित्य, कला र संगीत जस्ता कुरालाई फजुल सम्झन्छन् तर संसारका कम अमर चिजहरुमा यिनै चिज पर्छन् ।
ध्यान र ज्ञान यस्तो चिज हो जो हतपत मर्दैन । बुद्ध, ब्यास, होमरलाई यो युगको अन्तिम मान्छेले समेत भुल्दैनन् । सबैभन्दा भुल्नै नहुने कुरो के छ भने सबैभन्दा ठुलो र महत्वपूर्ण शिक्षा भनेको मानिसलाई जिउन सिकाउनु हो । सबैभन्दा कठिन पेशा पनि त्यही हो । शान्तपूर्वक, सुविधाजनक ढ्ङ्गले बाँच्न पाउनु मानिसको नैसर्गिक अधिकार हो ।
हाम्रा शिक्षा प्रदान गर्ने ठाउँहरु कस्ता छन् त भनेर प्रश्न ग¥यो भने सकारात्मक भन्दा नकारात्मक कुरा धेर आउँछन्, आउनु स्वाभाविक पनि हो किनभने हामीले गरेकै त्यस्तै हो । हाम्रा विद्यर्थीलाई किन पढ्ने, सिक्ने भन्ने कुरा नै हामीले सिकाउन सकेनौँ । हाम्रा कुरा उनिहरु सुन्दैनन् किन कि ती सर्वप्रथम जिउनका लागि काम लाग्ने भएनन् । हामीले जति फूलबुट्टा भरेर भने पनि पत्याउन्नन् । उनीहरूलाई के थाह छ भने यी शिक्षकले भनेका कुराले भोलि मैले जिउने पेशा पाउँदिन । यहीँ छ तालमेल नमिलेको कुरा । हामी एकोहोरो शिक्षक र विद्यार्थी लाई दोष दिन्छौँ । दोष दिएर समस्या समाधान हुने भए त टन्टै साफ हुने थियो तर त्यो झनझन बढ्दै जान्छ । म आफैँ आजित हुन्छु दिनभरी करायो दक्षिणा हरायो भने जस्तै परिणाम आउँदा । मानिसहरू दोषजति शिक्षकको टाउकामा थुपार्छन् अनि चैनको सास फेर्छन् अन्ततोगत्वा त्यसले के हुन्छ त भन्दा आँखा चिम्लिएर रात परेको घोषणा गरे जस्तै हुन्छ । हाम्रो परिप्रेक्ष्यमा ठिक परिणाम नआउनुका अनेक कारण मध्ये मूल कारण भनेको समय अनुरुप विद्यार्थीले खोजे अनुसारको शिक्षा नभएर नै हो किनकि एक दुई अपबाद छोडेर अहिलेको विद्यालयको शिक्षा समयको बर्बादी मात्र हो । काम गराउँदै सिकाउने शिक्षा भए मात्र १०÷१२ बर्षमा मानिस गरिखाने हुन्छ ।
शिक्षाले अर्को कुरा हामीलाई राम्रो जीवन बिताउने तरिका सिकाउनु पर्छ । राम्रो जीवन कस्तो हुन्छ भनेर बुझ्न,थाह पाउन मन लाग्यो भने त्यस्ता मानिससँग हिमचिम बढाउनु पर्छ । ती आफैँमा महान पाठशाला हुन् ।
हामीले हाम्रा उद्देश्य चुन्नुपर्छ र प्राप्त गर्न दिलोज्यानले लाग्नु पर्छ भन्ने कुरा नबुझाएसम्म मरिगए सुधार्न सकिन्न । हामीले मानिस र समाजको पूर्ण चित्र हेर्ने हो भने जिउने उपायसँगै साहित्यको अध्ययन गर्नै पर्छ । हिजोआज प्रत्येक विद्यालयमा पुस्तकालय, इ लाइब्रेरी छन् तर ती धमिराका गुँड र सर्प लुक्ने ठाउँ बन्दै गए । अधिकाँश शिक्षकहरू नै पढ्दैनन् । जिउँनका लागि सीप,पेशा र व्यावसाय चाहिन्छ अनि मानव के हो भन्ने बुझ्न किताब पढ्नु पर्छ । जीवन के हो भन्ने बुझ्न ध्यान गर्नु पर्छ । बुद्धको शरणमा नगै शान्ती छैन । यी सबै शिक्षा न हुन् । कतिपय यस्ता मानिसहरू छन् जो जिम्मेवार ओहदामा छन् तर पाठ्य्पुस्तक भन्दा केही पढ्दैनन्, कतिपय त किताब पल्टाउनै बिर्सन्छन् अनि सबैभन्दा जान्ने भएर दर्शन छाँट्छन् । प्रायः जसो हामी यी मुर्खबाट शाषित,शोषित र पीडित छौँ । अयोग्यहरु बाट बलजफती शाषित छौँ चाहे त्यो शैक्षिक संस्थाहरु नै किन नहोस् । धेरै जसो माध्यामिक तहका विद्यालयहरूमा पहुँचका आधारमा अयोग्यहरुले योग्यमाथि शाषण गरिरहेका छन् त्यसको परिणाम विद्यार्थीले भोग्नु परिरहेछ । विद्यालय, कलेज, विश्वविद्यालयहरु केही मान्छेहरुको आर्थिक, सामाजिक, राजनीतिक स्वार्थ पूरा गर्ने थलो भएका छन् । खुल्ला रुपमा शैक्षिक, बौद्धिक, दार्शनिक, कला, साहित्यको परिचर्चा नै हुँदैन शुद्ध राजनीतिक र बकम्फुसे गफ मात्र हुने गर्छ । शिक्षक हुने योग्यताको परीक्षण कोठाभित्र ३÷४ घण्टाको लेखाइले निर्धारण गर्दछ । अँझ प्रअ त सामाजिक,राजनीतिक पहुँचका आधारमा हुन्छन् । त्यस्तो वातावरणको सिर्जना हामी आफैँ गर्छौँ अनि आफैँ उत्कृष्ट परिणाम खोज्छौँ । कागती रोपेर आँप खान खोजे जस्तो भएन र ? यसो भन्दैमा राम्रा,असल शिक्षक,प्र अ हुँदै नभएका पनि होइनन् र स्कुलहरु नभएका पनि होइनन् तर ती नगन्य छन । यहाँ त जो अगुवा त्यही बाटो हगुवा हुन्छन् अनि जो … उसको ठूलो स्वर हुन जान्छ । चुपचाप सुन्नुभन्दा अर्को विकल्प नै रहन्न । धान बालीमा सामा उमृएको मात्रै भए त गोड्गाड गर्न सकिन्थ्यो होला यहाँ त सामाले धानबाली नै सकेको अवस्था छ । जिम्मेवार तहमा बसेका ब्यक्तिहरुले हत्याराले भन्दा बढी कुभलो गरिरहेका छन् । हत्याराले त मार्छ सकियो यिनीहरुले त विकलाङ्ग बनाएर छोड्छन् । मानवको पूर्ण स्वरुप के हो भन्ने नै नबुझेकाले कसरी मानव बनाउने शिक्षा दिन सक्छन् ? धर्म, ईतिहास र साहित्य जुनसुकै शिक्षकले पढ्नु पर्छ । विवेक जगाउनु पर्छ, विवेक बिनाको शिक्षा हुनुभन्दा नहुनु बेश किनकि विवेकहीन अशिक्षितले धेरै हानी पु¥याउन सक्दैन तर विवेकहीन शिक्षितले तहसनहस पारिदिन्छ । मानव र समाजको पूर्ण तस्बिर हेर्न चाहने हो भने हामी साहित्यको शरणमा जानै पर्छ । बालबालिकाहरूलाई बालसाहित्यका पुस्तकहरू पढेर सुनाउनु पर्छ, पढ्न प्रेरित गर्नु पर्छ र लेख्न सिकाउनु पर्छ । मानव के हो भन्ने जान्ने सर्वोत्तम उपाय भनेकै किताब पढ्नु र पढ्न लगाउनु हो । मानिसका दुःख के हुन्, कारण के हो,दुःखबाट उम्कने बाटो के हो,दुखबाट उम्कन सकिन्छ भन्ने जान्नु मानव जीवनको सर्बोत्कृष्ट सिकाइ हो,जुन बुद्धले हामीलाई यही भुमीमा दिनुभएको अनमोल शिक्षा हो, खै हामीले वास्ता गरेको ?
हामीलाई माथी उठन सहयोग गर्ने सबैभन्दा ठूलो साधन नै शिक्षा अनि बुद्धको शिक्षा हो । हामीले आफुलाई एउटा निश्चित आकारमा ढाल्नु पर्छ त्यो भनेको सिपालु कालिगढ्ले हेर्दाहेर्दै पत्थरको नचाहिने भागजति बिस्तारै खुब जतनसित फाल्दै जान्छ ताकि त्यो नफुटिकन निश्चित आकारको सुन्दर प्रतिमा बन्छ । हामीले पनि त्यही कालिगढले जसरी आफुलाई जतनसँग नचाहिने कुराहरु फाल्दै मानव व्यक्तित्व र मानव चरित्रको सर्बोत्तम लक्ष्य हासिल गर्नु पर्छ ।यस्तो पक्षको बेवास्ता गर्ने शिक्षक, विद्यालय र शिक्षा सँधै अपूर्ण हुन्छ ।त्यस्तो शिक्षाले समस्या मात्र थप्दै जान्छ । त्यसैले हाम्रो शिक्षामा कहाँनिर खोट छ,हामी किन असफल छौँ र हाम्रा लक्ष्य किन बाटामै बर्वाद हुन्छन् भनी समीक्षा गर्नु पर्दैन र ? एकले अर्कालाई दोष दिँदैमा हामी बच्दैनौँ र हाम्रो लक्ष्य कहिल्यै पूरा हुँदैन ।
मानिसलाई शिक्षित बनाउनु चानचुने कुरा हैन । किताब घोकेर पास भएका,किताब घोकेर लोकसेवा पास गरी हाकिम बनेका अधिकाँश मानिसका मानसिकता मौका पाउँदा तिनीहरुले गर्ने कृत्यबाट कोही अनभिज्ञ छैनन् । कवि, साहित्यकार, प्राध्यापक, शिक्षक, डाक्टर भन्दा बढ्ता शिक्षित समाजमा अपेक्षा गरिन्न तर ती मध्ये कतिजना वास्तवमै शिक्षित र सभ्य हुन सकेका छन् त भन्ने टड्कारो प्रश्न हाम्रा अगाडी तेर्सिन्छ । हामीले हामीतिरै औँला तेस्र्याएर प्रश्न गर्नु पर्ने हुन्छ । हामीले बनाउन खोजेको समाज कस्तो ? सबैको उत्तर सायद उस्तै नै आउँछ सभ्य, शिक्षित, समृद्ध, विकसित, न्यायपूर्ण इत्यादि जुन हामी सानो कक्षाको बालकले कक्षागत गीत गाए जसरी भन्न सक्छौँ तर के हामीले थोरै मात्र पनि आफ्नो व्यबहारमा अपनाउने गरेका छौँ त ? यस्ता आफुलाई निकै शिक्षित भन्न रुचाउने मान्छेहरुको व्यवहार हेरौँ त, उनीहरु आफुलाई अरुभन्दा ठुलो मान्छन् । आफ्ना मातहतकालाई अझै नोकर सम्झन्छन् जसरी पहिला नोकरी गर्ने भन्ने चलन थियो नि त्यो हाकिमले अरुलाई नोकर सम्झेर न हो । के हाम्रो शिक्षाको उद्देश्य यस्तै खाले हाकिम, प्रधानाध्यापक, प्राध्यापक, कर्मचारी, शिक्षक उत्पादन गर्नु थियो ? अनि कागजमा जे लेखिए पनि यस्ताले उत्पादन गरेका जनशक्ति पनि त्यस्तै न हुने हुन् । उच्च आदर्श, नैतिक गुण भएका महान पुरुषहरु हाम्रो आधुनिक शिक्षाले किन जन्माउन सकेन । हामी बुद्ध, सीता, भृकुटी, जनकका गाथा मात्र गाएर बसेको हज्जारौं बर्ष भएन र ? महान ब्यक्तिहरुको सान्निध्यता र संगतबाट जुन शिक्षा हासिल गर्न सकिन्छ, त्यस्तो शिक्षा उत्कृष्ट पुस्तक, विद्यालय, विश्वविद्यालयबाट प्रात गर्न सकिन्न । एक्लै बुद्धले कत्रो परिवर्तन गरे कुनै विश्वविद्यालयसँग यो तुलना हुन सक्छ ? अपाङ्ग हकिन्सले कसरी ब्रह्माण्डको मान्यतामा नै दृष्टिकोण परिवर्तन गराइदिए ।
महान मान्छेहरु आफैँमा महान विश्वविद्यालय हुन्, उनीहरू अफैलाई बिर्सेर आफ्नो लक्षमा पुग्ने निरन्तर कोसिसमा लागेका हुन्छन् । उनीहरूले आफ्ना लागि केही सोचे जस्तो लाग्दैन । उनीहरु माहुरीले जसरी एकोहोरो आफ्नो समाजको कल्याणका लागि लागि पर्छन् । के हाम्रो समाज र शिक्षाले त्यस्तो नायकको कल्पना गर्न सक्दैन ? सन्दुक रुइत, महावीर पुन जस्ता मानिसहरू हाम्रा मनमा आइहाल्छन् तर के यो चित्त बुझ्दो अवस्था हो ? तपाईं हामी सबैले पनि थोरै मात्र त्यग गर्ने, आफ्नो दुनो सोझ्याउनेतिर मात्र नलाग्ने हो भने हामीकहाँ पनि बिस्तारै सम्भव छ । मेरो विचारमा हाम्रो शिक्षाले निकै ठुला ठुला कुराहरूको कल्पना गर्दछ तर हामीले ससाना कुराहरुमा ध्यान नदिइकन, ती कुराहरू ब्यबस्थापन नगरी ठुल्ठुला गुड्डी हाँक्नु भनेको बामेसर्ने बच्चालाई म्यराथुनको तालिम दिनु जस्तै हो ।
हामीले साँच्चै शिक्षामा केही गर्ने हो भने मूलतः प्रधानध्यापक, शिक्षक, प्राध्यापक लाई अब्बल बनाउनै पर्दछ । उनीहरुलाई जे जसरी भए पनि यो पेशा अरु भन्दा अलग हो भन्नेकुरा बुझाउनै पर्दछ । यो पेशामा आउनेले अफुलाई एक किसिमले उत्सर्ग गर्नै पर्दछ । स्कुलका केटाकेटीलाई मथि उठाउन अफु हर्दम तयार हुनुपर्छ । शिक्षकहरूले आफ्ना बारेमा सोच्न बिर्सिएर केटाकेटीहरुका बारेमा सोच्न थाल्नु पर्दछ भने राज्यले शिक्षकलाई आफ्नो बारेमा सोच्न नपर्ने वातावरण दिनु पर्दछ । एकदिन मौका मिलेकाले म एउटा अब्बल स्कुलमा घुम्ने अवसर पाएको थिएँ त्यहाँ काम गर्ने कसैले पनि आफ्ना बारेमा सोचेको जस्तो देखिन्नथ्यो । त्यहाँका शिक्षक, कर्मचारी कतै नभएका दुर्लभ मानिसजस्ता देखिन्थे । प्रधानाध्यापक हाम्रा विद्यालयहरुका जस्ता फुर्ती देखाउन, नपढाइ जागिर खान, घुमाइफिराइ औँलो बाङ्गो पार्न नभै (सबै त नहोलान्) दिनरत नभनी खट्ने घमण्ड रति नभएका, हेर्दा अति सरल, मिलनसार तर अद्भूत थिए । समाज र समुदाय आफ्ना बालबालिका लागि जस्तोसुकै त्याग गर्न तत्पर देखिन्थे । विद्यार्थीहरुलाई कुनै न कुनै किसिमले सहयोग गर्न पाउँदा मात्र उनीहरु खुशी देखिन्थे । सबैले यसरी नै बालबालिकालाई सर्वस्व ठानेर लगानी गर्यौँ भने केही दशकमा हामीले उच्च सफलता हासिल नगरौँला र ? तर एउटै सवाल सँधै तेर्सिन्छ गर्ने कसले ?
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |