वीरगञ्ज । प्रेस सेन्टर नेपालको २०औं स्थापना दिवसलाई सम्बोधन गर्न वीरगञ्ज आइपुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने खुलासा गर्नुभएको छ ।
ललिता निवास प्रकरण, नक्कली शरणार्थी प्रकरण, दास ढंगा प्रकरणका बारेमा चर्चाको शिखरमा रहेका प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्डका बारेमा छानबिन हुने बताउनुभएको हो । पूर्व राजा ज्ञानेन्द्रबाट ३ दिनअघि वीरगञ्जमै भएको कार्यक्रममा सम्बोधन गर्दै दरबार हत्याकाण्डको बारेमा अतिरञ्जित गरिएको भनी व्यक्त अभिव्यक्तिप्रति इंकित गर्दै कसैलाई पनि अपराधिक गतिविधि गर्ने छुट नभएको समेत स्पष्ट पार्दै सबैका लागि कानून समान रहेको र कोही पनि अवाञ्छित गतिविधिबाट कानून मिच्न नसक्ने आशय व्यक्त गर्नुभएको छ ।
सम्बोधनकै क्रममा प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरूद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने अधिकार कसैलाई पनि नभएको स्पष्ट पार्नुभएको छ ।
उक्त समापन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डको थप कथन थियो– नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ । यसमा क्रान्ति नै गर्न खोजिएको छ । यसको पक्षमा जनमत निर्माण गर्न अपिल गर्नुभएको छ ।
त्यसपछि प्रधानमन्त्री प्रचण्डले बारा र पर्सा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरूसँगको छलफलमा सहभागी भई बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज) को अवलोकन समेत गरेको प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको छ ।
यही माघ १३, १४ र १५ गते वीरगञ्जमा भएको केन्द्रीय समितिको बैठक, राष्ट्रिय परिषद् बैठक र २०औं स्थापना दिवसमा सरिक हुन देशभरबाट सयौं संख्यामा सञ्चारकर्मीहरु वीरगञ्ज पुगेका थिए ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |