गत हप्ता काभ्रेको रोशी गाउँपालिका–५ सिसाखानीको नागवेली भन्ने ठाउँमा अज्ञात समूहले एक व्यक्तिको बोधिचित्तको रूख काटिदिएर घरको मूल ढोकामा विस्फोटक पदार्थ राखिएको घटनाले जिल्लामा शान्ति सुरक्षाको अवस्था कतिको चुनौतीपूर्ण छ भन्ने संकेत दिएको छ ।
यसबाट जिल्लामा सुरक्षाको जिम्मेवारी लिएका निकायहरु गम्भीर हुन जरुरी छ । घटनामा अज्ञात समुहले रातको बिचमा जुनकिसिमका घटनाहरु घटाए, ति घटनाहरु मानवीय हिसाबले क्षम्मे छैन । यसतर्फ नेपालको प्रचलित कानूनलाई आधार मानेर अगाडि जाने हो भने यो किसिमको दृश्य सुरक्षाको सवालमा आउने थिएन । यहाँ रुख काटिनु बुद्धचित्त खोसिनुले कुनै अर्थ नराख्ला तर मध्यरातमा हतियारसहित त्यहाँ पुगेको त्यो जत्थाका गतिविधिका बारेमा गम्भीर हुनुपर्ने अवस्था आएको छ । यसले काभ्रे जिल्लाको मात्र नभई समग्र मुलुककै सुरक्षा संयन्त्रमाथि चुनौती खडा गरेको छ ।
सर्वसाधारण नागरिकको बाँच्न पाउने अधिकारलाई समेत चुनौती दिँदै घरको ढोका र आँगनमा ४ वटा घरेलु सकेट बम समेत राखेर आक्रान्त पार्नु कतिको न्यायसंगत हुन्छ ? केही गरी घर परिवारका सदस्यहरुले संयमता गुमाउन पुगेको भए त्यहाँ हुने मानवीय क्षतिको जिम्मेवार को हुने ? त्यो राज्यको दायित्वभित्र पर्दैन ? राज्य केका लागि ? अनगिन्ती अनुत्तरित प्रश्नहरु एकातिर खडा भएका छन् भने अर्काेतर्फ राज्यको सुरक्षा संयन्त्रण कति कमजोर छ भन्ने कुरा यो घटनाले पुष्टि गरेको छ । कुर्सी नै सबथोक सम्झने नेतृत्वले यो घटनाबाट पाठ सिकेर नेपाली नागरिकको बाँच्न पाउने र व्यवसाय गर्न पाउने अधिकारलाई सुनिश्चित गराउनु चुनौतीको विषय मात्र बनेको छैन, व्यवसायिक रुपमा कोहि कसैले आफ्नो उत्पादनलाई निर्वाध रुपमा बजारसम्म पु¥याउन पाउनु पनि उसको उतिकै अधिकार हो । तर, जुन विषय र घटना जोडिएको छ, त्यो बुद्धचित्त मालाका बारेमा राज्यले प्रष्ट नीति बनाइदिएको भए आज त्यो घटना हुने थिएन भन्न सकिन्छ । विधि र पद्धतिमा त्यो उत्पादकलाई जोडिदिएको भए पक्कै पनि यस्तो घटना घट्ने थिएन । कुनै पनि उत्पादनहरुमा राज्यको प्रत्यक्ष निगरानी रहने हो भने बिचौलियाहरुले यस किसिमको घटनाहरु घटाउन सक्ने थिएनन् । यस घटनामा उत्पादक मात्र नभई राज्यको नीति निर्माण तहमा रहने व्यक्तित्वहरु समेत जिम्मेवार छन् । जुन किसिमको अकल्पनीय त्रासदीपूर्ण घटना घट्यो त्यसबाट राज्यको नीति निर्माण तहमा रहेका सरोकारवाला निकायहरु गम्भीर हुन जरुरी छ ।
यहाँ बुढी मरी भन्ने चिन्ता होइन, काल पल्किएकोमा सबै जिम्मेवार पक्ष सजग हुन जरुरी छ । जुन आपराधिक घटनामा जोडिएका जो कोहिलाई पनि कानूनी दायरामा ल्याएर कानूनको भागिदारी बनाउने दायित्व राज्यको हो । नेपाली जनताले न्यायको अनुभूति गर्ने वातावरण बनाउनका लागि पनि यो घटनामा जोडिएका आरोपितहरुलाई छिटोभन्दा छिटो कानूनको कठघरामा उभ्याउन आवश्यक छ ।
समग्र घटनाक्रमलाई अध्ययन गर्ने हो भने सुरक्षा निकायका लागि यो काम चुनौतीपूर्ण भएको ठम्याइमा हामी पुगेका छौं ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |