
प्रभातफेरी अनलाइन ११८ पटक पढिएको प्रकाशित मिति: २०८२ कार्तिक २०, बुधबार (२ महिना अघि)
शेर्पा जातिका महिलाहरु मलाई खुब मन पथ्र्यो । उनीहरुको सुरोपन, महिलाजातिप्रतिको उनीहरुको स्व–अधिकार देखेर म छक्क पर्थें । एकदिन एकजना शेर्पिनी बहिनीसँग मेरो श्रीमतीसँग मित लगाइदिनका लागि एकजना शेर्पिनी बहिनीको सम्पर्क जुटाइदिन भन्यौं । नाम्चे होटेलकी साहुनी सानी बहिनीसँग मेरो मनको उत्कण्ठा पोखि दियौं । उनले तत्कालै दिदी याङ्दुसँग मित लगाइदिने इच्छा व्यक्त गरिन् । भोलिपल्टै होटेलमा बहिनीले खबर गरेअनुसार याङ्दु आइपुगिन् ।
याङ्दुसँग परिचय भयो । उनी त्यसताका शङ्करदेव कलेजमा डिप्लोमा पढ्दै रहिछन् । कम बोल्ने तर सटिक बोल्ने । पढेलेखेकी शेर्पिनी; सभ्य र शिक्षित देखिंदा छन् । शेर्पाजातिसँगको सामिप्यताका लागि मैले खोजेर मितिनी बनाउने ध्येय लिएकैले याङ्दुरसँग मेरो परिचय हुन गयो । याङ्दु त्यसताका बागबजारमा बस्ता रहिछन् । मैले उनीसँग भेट्न बागबजारमा पुगेको सम्झना छ । बनेपा पुगेर मितिनी बनाउने कुरोमा उनीले सहमति जनाइन् ।
याङ्दुलाई मितिनी बनाउने उद्देश्यले बनेपामा पु¥याइयो । बुबा बुढो भई सक्नुभएको छ । मेरो प्रस्तावलाई स्वीकार्नुभयो । याङ्दु र भारतीको मितेरी साइनो जोडिदिन आफ्नै ढङ्ग र तरिकाले अगाडि सर्नु भयो । बुबाले थाहा पाउनुभएको विधि अनुसार मित लगाइ दिनुभई साइनो जोडिदिनुभयो । याङ्दु एकरात बनेपामा नै बस्नु भयो – मितेरी साइनो जोडिसकेपछि झन् आत्मिय लाग्यो । पछि झन–झन् सम्पर्क बढ्दै गयो । मेरा लागि जनमतका सहयोगी पनि बनेर सहयोग गर्नुभयो । सँगसँगै हिँड्ने क्रम बढ्यो । दुःख, सुखका साथीजस्तै बन्दै गयो । बुबाकै निर्देशनमा मित लगाउँदा बुबाले सन्दर्भ मिलाएर त्यसताका भन्नुभएको याद आइरहन्छ । उहाँले मित लगाई दिएपछि – ‘तिमीहरु दुवैजना दुवैका लागि एक–अर्काको सहारा भयौ ।’ भन्नुभएको थियो । धर्मशास्त्रअनुसार व्याख्या गर्न सिपालु बुबाले मितको परिचय गराउँदै भन्नुभएको थियो – ‘मित लगाउनु आफ्नो लागि साथ खोज्नु हो । मितलाई घात गर्नुहुँदैन – एक–अर्कामा सहयोग गर्नुपर्छ र दुवैले एक–अर्कामा घुलन गरेर एक बनेको महसुस गर्नुपर्छ ।’ भनेर मितेरी साइनोको सटिक व्याख्या गर्नुभएको आजपर्यन्तसम्म याद आइरहन्छ ।

भारतीसँग याङ्दुले मित लगाइन् र एक–अर्कासँग जोडिएर ‘मितिनी’ भइन् । मलाई एकजना मन मिलेको मित्र थपिएजस्तो भयो । याङ्दुसँग हिँडीरहने, जनमतको काममा पनि हामी दुईजना कुदिरहने खालका हामी मित्रजस्तो भयौं । सानी बहिनी कानी, जीवन र गेल्बुभाई, पालालगायत, काका–काकीहरुसँग पनि सम्बन्ध जोडिंदै गयो । दिक्सु, कान्छी बहिनी, जीवन र गेलु सा–साना भएपनि माया साटासाट हुँदै गयो । कहिलेकाँही याङ्दुकै घरमा बास बस्न थालियो । शेर्पा जाति मन परेकोले शेर्पिनीसँग मितिनी नाता जोड्न लगायौं भारतीसँग ।
सम्बन्ध विस्तारित हुँदै गयो । दुःख–सुखमा साथ हुने खालको सम्बन्ध एक–अर्कामा थपिंदै गयो । कोरा भावना र कोरा मायामा साटफेर हुँदै गएको प्रेममय वात्सल्यताले भरिंदै गएको हाम्रो सम्बन्धमा गाढापन थपिंदै गयो । डिप्लोमासम्म पढेर बीचमा कलेज छोडिरहेको कारणले याङ्दु कतै जागिरमा अल्झिन पाए हुन्छ’को सोचले मलाई गुहार्न थालिन् । कुलेश्वरमा रहेको कृषि संस्थानमा अधिकृत स्तरमा कार्यरत मेरा आत्मिय मित्र गोविन्दलाल प्रधानाङ्गलाई याङ्दुको जागिर खाने इच्छालाई साकार बनाइदिनका लागि गुहारें । उहाँले अस्थायी कर्मचारीका रुपमा सेवा गर्न डाके । याङ्दु गइन् पनि । केही दिनसम्म त्यस कार्यालयमा सेवा पनि गरिन् । केही दिनको सेवा पछि त्यहाँ जान उनले रुचाइनन् । अलिक जिद्दीवालकी यिनी स्वाभिमान गिर्न दिन नचाहने खालका थिइन् । कुरा केही बताएनन्; त्यस कार्यालयमा जान चाहेनन् । मैले पनि बुझेनौं र गोविन्दजीले पनि बताउनुभएन । याङ्दुले कृषि संस्थानको जागिर छोडिन् ।
याङ्दुले पछि स्कुल संचालन गर्ने इच्छा व्यक्त गरिन् । सिक्किमकी एकजना बहिनी दिक्सु पनि यिनीसँग रहेकी; यिनी नाताले बहिनी पर्ने भएकाले दुवै मिलेर बोर्डिङ स्कुल खोल्ने रहर गरिन् । मैले मितिनीको रहरलाई सार्थक तुल्याउन पाँचखालका साथीहरुसँग कुराकानी ग¥र्यौं । भरत लामिछाने, दामोदर अधिकारी, पारस काफ्ले, केशव अधिकारीहरुले पाँचखालमा बोर्डिङ खोल्न दिने र सहयोग गर्ने कुरामा सहमति दिए । करिव १ वर्षजति पाँचखालमा याङ्दु बसिन्, स्कुलको अनुभव लिइन् । म पनि केही पटक पाँचखाल धायौं ।
जीवनको मोड बदलियो । याङ्दुसँग एकजना अमेरिकन पाइलटको आँखा लागेछ । मायाप्रीति साटासाट गर्न भ्याएछ; पछि यिनी अमेरिकातर्फ लागिन् । उनीसँग सम्पर्क नभएको होइन सम्पर्क त पछिसम्म पनि रहिरह्यो । नेपालमा आउँदा घरमा आएकी छिन् । फेसबुकमा लाइक साटासाट हुन्छ । याङ्दुले आफ्नै ढङ्गले जीवन गुजार्दै छिन् । श्रीमान पनि बितेको धेरै भइसकेको छ । अमेरिकामा भाइबहिनीहरुलाई बस्न र व्यवस्था मिलाउन साथ दिएका छन् । आफ्नो बुबालाई बुढ्यौली र रोगले च्यापिदिएको छ; उनी सक्दो सहयोग गर्दै छिन् । अहिले याङ्दु शेर्पाबाट याङ्दु मार्तेनी बनिसकेकी छिन् ।
जतासुकै पुगे तापनि मनभित्रको मनले मन पराइसकेको बिम्बहरु मेटिएर जान गा¥हो पो हुँदोरहेछ । केही महिना अगाडि बुढानिलकण्ठमाथि जङ्गलमा रहेको एउटा गुम्बामा लामाहरु डाकेर पूजा भएको समारोहमा मित भाई–बहिनीहरुले डाकेकोले सिर्जना र भारतीहरुसँग मायाप्रीति साट्न गयौं । पुरानो सम्झना मनभरि छताछुल्ल हुन थाल्यो । शेर्पाहरुको भीडमा उनीहरुसँग नै रमेर खाना खायौं; फोटाहरु खिँच्यौं — रमाइलो भयो ।
हिमालसँग माया साटेर नेपाललाई विश्वमा चिनाउन सफल शेर्पाहरु हिउँजस्तै चिसो र सेताम्य मुहारका छन् । मन परे जे पनि गर्ने, मन नपरे मुखै नहेर्ने कठोर स्वभावका यिनीहरु बुद्धलाई गुम्बा, घ्याङमा सजाउने गर्छन् । मुखले ठिक्क कामले दिक्क पार्दैन यिनीहरु । सत्य मन पराउने यिनीहरुको जाति विशेषता पनि अनौठालाग्दा खालका छन् । तौलेर बोल्ने चलन छैन यिनीहरुको, केटा र केटीमा भेद गर्दैनन् कहिल्यै पनि यिनीहरु । अझ भनौं; केटीहरु अर्थात् महिलाहरु औपचारिकतामा मात्र आफूलाई भुलाउँदैनन् । मैले संगत गरेअनुसार यी सम्बन्धित मित नाताले रङ्गिएका शेर्पाहरुले कहिले पनि देखावटीमा आफूलाई सीमित राखेनन् । शेर्पाहरुले कहिले पनि नखरमाइलो चलन चलाएको, एक–अर्कामा अनावश्यक षड्यन्त्र गरेर एक–अर्काको बुईं चढ्न खोजेको पनि देखिएन ।
मितको साइनो जोडिएकै कारणले भारतीजस्तै म पनि शेर्पाहरुका जुवाईंसाहेव, भिना, मितदाजु बनेर शेर्पा जातिका केही मित्रहरुको ढुकढुकी छाम्न पाएको छु । जीवनमा मैले कहिल्यै पनि यो सम्बन्धलाई बिर्सन सकेनौं । कोही मेरा पाला भएर बाबुले जस्तै माया पोखिदिएका छन् । कोही कसैको भिना भएर जीवन साट्न पाएको छु । कोही कसैको मितिनी भएर स्पर्शमा जीवन गुजार्न पाएको छु । यही त हुन् सम्बन्धहरु । यही त हुन् माया–स्पर्शहरु ! यही त सधैं–सधैंका माया–मोहहरु । याङ्दु र भारतीको मितेरी साइनोले शेर्पा जाति र नेवार जातिमा ल्याइदिएको साइनो र मित्रतालाई बिर्सिन गा¥हो भइदिएको छ । यही सम्बन्ध र साइनोलाई लिएर एउटा कविता यसरी सोचियो र लेखियो :–
याङ्दु र भारती
सम्बन्ध भनेको
जोसँग पनि, जस्ताहरुसँग पनि
कायम हुन सक्दोरहेछ
हिमालसँगसँगै हुर्किएर आएकी
हिमालका प्रियहरु पनि
बजारमा हुर्किनेहरुसँग
माया–प्रेम साट्न सकिंदोरहेछ ।
००
याङ्दु शेर्पिनी भए पनि
नेवारजस्तै देखियो
भारती नेवार्नी रहे पनि
शेर्पाहरुकै हूलमा मिस्सियो ।
००
माया भनेको जोसुकैसँग पनि
जुनसुकै जातिका जहाँको भए पनि
आत्मीयता मिल्नु पर्दोरहेछ;
सम्बन्ध विस्तारित हुँदै जान्छ ।
००
याङ्दु र भारतीमा मितेरी नातो छ
त्यो नाता अमेरिका र नेपाल भएर पनि जुटेको छ ।
००
मनमा रहने त माया हो
स्पर्शमा खुल्ने त प्रेम हो
जुनसुकै जातिको किन नहोस्
गुलावझैं फुल्ने त माया हो
जहाँसुकैको भूगोलमा रहे पनि
भोलिसम्म फुलिरहने त प्रेम हो ।
००
टाढाबाट भए पनि
याङ्दु र भारती
कहिलेकाँही आफू–आफूमा
मन साटासाट गर्दै
मितेरीको साइनो जोड्छन्
फोनमा भए पनि माया साट्छन्
फेसबुकमा भए पनि
आफू–आफूमा देखादेख भएर
दङ्गदास हुन्छन्
माया त यस्तो–उस्तोमा साटिंदोरहेछ ।
००









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |