logo
२०८३ श्रावण २४, आईतबार |
📰
🔍

आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २०८३ श्रावण २४, आईतबार
आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ / विश्वका विभिन्न मुलुकमा आज विविध कार्यक्रम आयोजना गरी विश्व आदिवासी दिवस मनाइँदै छ। आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्या र सरोकारबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाइन्छ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९४ डिसेम्बर २३ मा हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् १९८२ अगस्ट ९ मा जेनेभामा संयुक्त राष्ट्रसंघको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक बसेकाले सोही दिनलाई दिवसका रूपमा चयन गरिएको हो।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्व जनसङ्ख्याको ६ प्रतिशतभन्दा कम भए पनि विश्वका सबैभन्दा गरिबमध्ये कम्तीमा १५ प्रतिशत आदिवासी समुदायका छन्।

आदिवासी जनजाति समुदायले आफ्ना विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृतिबीचको सम्बन्धसम्बन्धी ज्ञान र अभ्यासलाई पुस्तौँदेखि संरक्षण गर्दै आएका छन्।