प्रभातफेरी अनलाइन२३ पटक पढिएको | २०८३ श्रावण २४, आईतबार
काभ्रे / जिल्ला सहकारी संघ काभ्रेको वार्षिक समीक्षा तथा आगामी आ.व. को कार्ययोजना बिषयक समिक्षा सम्पन्न भएको छ । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले गत आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न कामको वार्षिक समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम, बजेट र कार्ययोजना प्रस्तुत गरेको हो ।

समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै संघका
अध्यक्ष अमन पोटे श्रेष्ठले कार्यक्रममा संघले सुशासनलाई प्राथमिकतामा राख्दै कामको प्रभावकारिता र पारदर्शितामा जोड दिने प्रतिबद्धता जनाएका छन् । सम्बोधन कै क्रममा अध्यक्ष श्रेष्ठले संघका गतिविधिलाई प्रभावकारी बनाउँदै ‘बरु थोरै काम गरौँ, देखिने काम गरौँ’ भन्ने उद्देश्यका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले संघका विभिन्न कार्यक्रममा सक्रिय सहभागिताका लागि उपसमिति संयोजकहरूलाई आग्रह गर्नुभएको छ । संघले सञ्चालन खर्चमा समेत अधिकांश कटौती गर्दै संस्थालाई करिब २५ प्रतिशत नाफामा सञ्चालन गर्न सफल भएको सम्बोधनका क्रममा अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष शान्ति लामाले स्वागत मन्तव्य व्यक्त गर्दै सबैको सल्लाह, सुझाव र सहकार्यलाई समेटेर संघलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा उपाध्यक्ष मीरा सत्याल, कोषाध्यक्ष अर्जुन सापकोटा, सल्लाहकार कमल कुइँकेल, लेखा सुपरिवेक्षण समिति सदस्य डिल्ली आचार्यलगायत कार्यसमिति सदस्य तथा पदाधिकारीहरू लगायतले संघका सामाजिक गतिविधिका बारेमा प्रश्ट्याउनु भएको छ ।
संघको आर्थिक वर्ष २०८२/०८३ को समीक्षा तथा आर्थिक वर्ष २०८३/०८४ को मार्गचित्र संघका प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले प्रस्तुत गर्नुभएको छ । उहाँका अनुसार हाल काभ्रे जिल्लाका १३ वटै स्थानीय तहबाट ५८८ वटा सहकारी संस्था जिल्ला सहकारी संघमा आबद्ध छन् । आबद्ध संस्थामध्ये सबैभन्दा धेरै बचत तथा ऋण सहकारी रहेका छन्।

पालिकागत रूपमा सबैभन्दा धेरै सहकारी संस्था बनेपामा २०२ वटा रहेका छन् भने सबैभन्दा कम भुम्लु गाउँपालिकाबाट ११ वटा संस्था संघमा आबद्ध छन् ।
आर्थिक विवरणअनुसार संघको कूल पूँजी १६ करोड ४१ लाख २ हजार ६६० रुपैयाँ रहेको छ । कूल दायित्व १३ करोड १९ लाख ५६ हजार रुपैयाँ रहेकोमा भुक्तानी गर्नुपर्ने रकम ३० लाख ८ हजार २१८ रुपैयाँ रहेको छ । संघको कूल सम्पत्ति १ अर्ब ४७ करोड ९९ लाख ७७ हजार ७४३ रुपैयाँ रहेको छ भने कर्जा लगानी ३३ करोड २४ लाख ८३ हजार ७६० रुपैयाँ पुगेको छ ।
त्यस्तै, कार्यक्रममा जानकारी गराए अनुसार संघले गत आर्थिक वर्षमा १ करोड ५५ लाख ५३ हजार ९ सय ९४ रुपैयाँ नाफा गरेको जनाएको छ । समग्रमा संघले निर्धारण गरेको लक्ष्य प्राप्ति उल्लेखनीय रहेको प्रस्तुत विवरणमा उल्लेख छ। शेयर पूँजीतर्फ ७८ प्रतिशत लक्ष्य प्राप्ति भएको छ भने जगेडा कोषतर्फ १सय १ प्रतिशत लक्ष्य प्राप्ति भएको छ । संघले गत आर्थिक वर्षमा सरकारलाई ५९ लाख १३ हजार ५४ रुपैयाँ राजस्व समेत बुझाएको जनाएको छ ।
कार्यक्रममा चालु आर्थिक वर्ष २०८३/०८४ मा सञ्चालन गरिने विभिन्न कार्यक्रमका विषयमा समेत छलफल गरिएको थियो । विभिन्न उपसमितिबाट प्राप्त सल्लाह तथा सुझावलाई समेटेर आगामी कार्यक्रम अघि बढाउने विषयमा सहभागीहरूबीच छलफल भएको छ ।

यसरी छलफलमा भागलिनेमा बेथानचोक गाउँपालिका–१ का गोमा गोले, मण्डनदेउपुरका शान्तिप्रसाद पौडेल, बद्रीप्रसाद सापकोटा, ज्ञानेन्द्रबहादुर तामाङलगायतले संघका गतिविधि, आगामी कार्यक्रम तथा सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा जिज्ञासा, सुझाव र गुनासा राखेका थिए । सहभागीका प्रश्न तथा सुझावको सम्बोधन संघका अध्यक्ष श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठ र सचिव प्रकाश बञ्जाराले गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन संघका सचिव प्रकाश बञ्जाराले गर्नुभएको थियो । कार्यक्रमको अन्तमा अध्यक्ष श्रेष्ठले सहभागी सबैलाई धन्यवाद व्यक्तगर्दै आगामी दिनमा पनि यसकिसिमको साथ र सहयोगको अपेक्षा राखेको प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमको बिट मार्नु भएको थियो भने संघका सचिव बञ्जाराले संस्थाले यस बर्षकाे नीति तथा कार्यक्रममा बचत र ऋणबाहेक आयअर्जन र कृषि सहकारी मार्फतका कार्यक्रमहरूमा विशेष बजेट छुट्याएको जानकारी दिनुभएको थियो ।
कार्यक्रममा अध्यक्ष पोटे श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा गत आर्थिक वर्षको प्रगति समीक्षा तथा आगामी वर्षको मार्गचित्रबारे छलफल गरिएको हो। कार्यक्रममा संघले सुशासनलाई प्राथमिकतामा राख्दै कामको प्रभावकारिता र पारदर्शितामा जोड दिने प्रतिबद्धता समेत जनाउनु भएको छ ।