प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ भाद्र ४, बिहिबार
काठमाडौँ / प्रतिनिधिसभाको बैठक भदौ ८ गते र राष्ट्रियसभाको बैठक शुक्रबारका लागि तय भएपछि संघीय संसद्अन्तर्गतका नौ वटा संसदीय समितिको बैठक आज एकैपटक बस्दै छन्।
बिहान १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले प्राप्त उजुरीमाथि छलफल गर्नेछ। कृषि तथा प्राकृतिक स्रोत समितिले जैविक तथा प्राङ्गारिक मलको उत्पादन, भण्डारण र बिक्री वितरण तथा रासायनिक मलको प्रयोग घटाउने विषयमा उत्पादकहरूसँग छलफल गर्ने कार्यसूची छ।
यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल गर्नेछ। सार्वजनिक लेखा समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षण तथा पूर्वाधार विकास समितिले बागमती ब्युटिफिकेसन आयोजनाबारे छलफल गर्नेछ।
बिहान ११ बजे अर्थ समितिले ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी राख्नेछ। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले पर्यटन विधेयकबारे होटल एसोसिएसन नेपाललगायत सरोकारवालासँग छलफल गर्नेछ।
राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग आयोगको कामकारबाहीबारे छलफल गर्नेछ। यस्तै, दिउँसो १ बजे विधायन व्यवस्थापन समितिले विधायिकी अन्तरसम्बन्धका विषयमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष तथा कार्यकारी निर्देशकसँग छलफल गर्ने कार्यक्रम रहेको छ।