प्रभातफेरी अनलाइन५ पटक पढिएको | १८ मिनेट अघि
विराटनगर / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत् आपूर्ति प्रणालीलाई थप व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउँदै विद्युत् खपत वृद्धि गर्ने उद्देश्यले प्रदेशस्तरीय छलफललाई तीव्रता दिएका छन्।
कोशी प्रदेश भ्रमणका क्रममा मन्त्री श्रेष्ठले जनप्रतिनिधि तथा नेपाल विद्युत् प्राधिकरणका प्रादेशिक र वितरण कार्यालयका प्रमुख एवं कर्मचारीसँग छलफल गर्दै विद्युत् आपूर्तिका समस्या, स्थानीयका गुनासा, कर्मचारीका समस्या तथा खपत बढाउन सकिने सम्भावनाबारे जानकारी लिएका छन्।
उनले विद्युत् आपूर्तिमा समस्या देखिएलगत्तै समाधान गर्ने र नागरिकका गुनासा तत्काल सम्बोधन गर्ने प्रणाली विकास गर्न प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका छन्। नागरिकले पाउने सेवाको गुणस्तरलाई नै कामको मुख्य मूल्याङ्कनको आधार बनाउनुपर्नेमा उनले जोड दिए।
मन्त्री श्रेष्ठले विद्युत् उत्पादन विस्तारसँगै आन्तरिक खपत बढाउने रणनीतिलाई प्राथमिकता दिनुपर्ने बताए। औद्योगिक तथा व्यावसायिक गतिविधिका लागि महत्वपूर्ण कोशी प्रदेशमा उद्योग, व्यवसायलगायत क्षेत्रमा विद्युत् उपयोग विस्तार गर्न विशेष कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ।
छलफलमा कोशी प्रदेशमा विद्युत् चुहावट नियन्त्रणमा भएको प्रगतिलाई सकारात्मक उपलब्धि मान्दै प्रसारण तथा वितरण पूर्वाधारका समस्या समाधान गर्न स्थानीय तह र जनप्रतिनिधिसँग सहकार्य बढाउनुपर्नेमा जोड दिइएको थियो।
नेपाल विद्युत् प्राधिकरणका अनुसार कोशी प्रदेशका १४ जिल्लाका २४ वितरण शाखामार्फत ११ लाख ३७ हजारभन्दा बढी ग्राहकलाई विद्युत् सेवा दिइँदै आएको छ। गत आर्थिक वर्षमा प्रदेशमा २ हजार ४८.४१ गिगावाट घण्टा विद्युत् बिक्रीबाट १९ अर्ब २१ करोड रुपैयाँ आम्दानी भएको थियो भने विद्युत् चुहावट ११.२१ प्रतिशतमा झरेको छ।
कोशी प्रदेशमा निर्माणाधीन सबस्टेसन तथा प्रसारण पूर्वाधारले आगामी दिनमा विद्युत् वितरण प्रणालीको क्षमता र विश्वसनीयता थप बढाउने अपेक्षा गरिएको छ।