logo
२०८३ भाद्र १५, सोमबार |
📰
🔍

“मरेकै भए वा जिउँदो कुन अवस्थामा छ, जे भए पनि सार्वजनिक हुनुपर्ने माग रेडक्रसको निरन्तर खबरदारी ।”

प्रभातफेरी अनलाइन२१ पटक पढिएको | २०८३ भाद्र १५, सोमबार
“मरेकै भए वा जिउँदो कुन अवस्थामा छ, जे भए पनि सार्वजनिक हुनुपर्ने माग रेडक्रसको निरन्तर खबरदारी ।”

काभ्रे / नेरेसो शाखा सभापति देवेन्द्र भैलले : बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा सहभागीहरुलाई सम्बोधन गर्दै | बेपत्ता परिवारका सदस्यहरुलाई सहानुभूति प्रकट गर्दै रेडक्रस सधैं तपाईंहरुको साथमा रहेको स्पष्ट पार्नु भएको छ ।हामीले पीडितका पक्षमा केहि दिन त सकेका छैन ।छिटोभन्दा छिटो निराकरण गर्न सके मात्र राज्यले वेपत्ता पारिएका नागरिकविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउनुको सार्थकता रहने बताउनु भयो ।
“मरेकै भए वा जिउँदो कुन अवस्थामा छ, जे भए पनि सार्वजनिक हुनुपर्ने माग रेडक्रसको निरन्तर खबरदारी ।”हाम्रो जिम्मेवारी भएको खुलासा सभापति भैलले गर्नु भएको छ ।

बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवसः पीडित सोध्छन्, ‘हाम्रा सदस्यहरु कहाँ छन् ?’

माओवादी बिद्रोहको अवधि ०५२ साल फागुन १ गतेदेखि ०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता हुनु अघिसम्म द्वन्द्वका कारण देशमा हजारौं नागरिकको मृत्यु भयो । कयौं घाइते र अपांगता भए । तर सोही समयअवधिमा राज्य र गैरराज्यपक्षबाट सयौंको संख्यामा नागरिक बेपत्ता भए । जसमध्ये केही नागरिक लामोसमयपछि सम्पर्कमा पनि आए तर हालसम्म पनि केही नागरिक बेपत्ताकै सूचीमा छन् । उहाँहरुका परिवार अहिले पीडामा बाँचिरहेका छन् । न बाँचेर आउँछन्, न मरेको खबर नै छ । सामाजिक संस्कार र काजकिरिया पनि गर्न पाइएको छैन । यस्तो अवस्थामा कसरी बाँच्ने ?

दुर्गा श्रेष्ठ

सरकारले आइतबार बेपत्ता नागरिकको विरुद्धमा अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा पीडित परिवार भने आँखामा टिलपिल टिलपिल आँसु देखाउँदै भावुक अवस्थामा देखिन्थे । यसै सन्दर्भमा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले बनेपामा पीडित परिवारसँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको थियो । जसमा जिल्लाका विभिन्न पालिकाबाट पीडित परिवारहरुको उपस्थिती रहेको थियो । उहाँहरुको एउटै माग थियो, ‘सरकारले यसरी बेपत्ताको सूचीमा कहिलेसम्म राख्ने ? अब कि मरेको घोषणा गर्नुपर्यो, कि वास्तविकता बताउनु पर्यो ।’

काभ्रे जिल्लामा यो अवधिमा २१ जना नागरिक बेपत्ता भएको सूचीमा छन् । जसमध्ये अन्तर्क्रिया कार्यक्रममा ८ जनाका परिवार उपस्थित थिए । कोही राज्यपक्षबाट त कोही विद्रोही पक्षबाट बेपत्ता पारिएका नागरिकका परिवार मध्ये, गोपीकृष्ण बडालका भाइ रघुनाथ बडाल ०५९ साल बैशाखदेखि बेपत्ता हुनुहुन्छ । तत्कालिन समयमा सेनाका तर्फबाटभैरबनाथ गणमा पुर्याएर बेपत्ता पारिएको बताउँदै गोपीकृष्ण भन्नुहुन्छ, ‘आउँछ भन्ने थोरै आशा छ तर सरकारले वास्तविकता बताउनु पर्यो । हामी अन्योलमा भयौं ।’ यस्तै कृष्णप्रसाद ढकालका छोरा ०६० साल कात्तिक २६ गते बेपत्ता हुनुभयो ।उहाँको पनि उस्तै प्रकृति तत्कालिन समयमा सेनाका तर्फबाटभैरबनाथ गणमा लगेर बेपत्ता पारिएको बताउनुभयो । सत्यतथ्य जे भएको हो त्यसको जानकारी सरकारले दिए आफूहरुलाई सामाजिक कार्य पनि गर्ने वातावरण मिल्थ्यो भन्ने उहाँको माग छ । धुलिखेल नगरपालिका ७ का दुर्गा श्रेष्ठका श्रीमान ०६१ सालमा सादा पोसाकमा आएका सेनाले घरबाटै लगेर बेपत्ता बनायो । प्रतिक्रिया दिने क्रममा भावविह्वल हुदै आफ्नो सदस्य अझै पनि जिउँदै हुनुहुन्छ जस्तो झिनो आशा त छ तर अवस्था के छ अन्योलमा छौं ! त्यो अवधिमा राज्यबाट खेप्नुपरेको पीडा जति नै पोखे पनि सकिँदैन ?महिलाका बारेमा हुने विभेद शब्दमा जति व्यक्त गरे पनि अपुरै हुने अभिव्यक्ति दिनुहुदैँ तत्कालीन अवस्थाको कहालीलाग्दो घटनाका बारेमा पटकपटक स्मरण नगराइयोस जे हो त्यो सार्वजनिक गरिदिदाँ के हुने रहेछ ? प्रतिप्रश्न गर्दै सामाजिक अभियन्ता संघ-संस्थाले यश किसिमको अन्योलताको अन्त छिटै गरिदिए हुने उहाँको गुनासो छ ।

न सास छ न लाश

‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको पहलमा केही सहयोग त पाइएको छ तर परिवारको सदस्यको अवस्था के छ भन्ने पत्तो नहुँदा पीडामा रहेका छौं ।’ रिता बिष्टको कथन छ – दोहोरो भिडन्तमा आफ्नो श्रीमान रबिन्द्र बिष्ट सुरक्षाकर्मिको तर्फबाट सरिक भएको त्यसपछि “न सास छ न लाश “भन्दै नाबालक पनि आज बालिक भइ सकें अझै कति पर्ख्नु पर्ने हो ?

रिता बिष्ट

उहाँहरु जस्ता सहभागी बेपत्ता परिवारका सदस्यहरुको उस्तै प्रकारको गुनासो भारी बिसाउनु भएको सो कार्यक्रममा सबैको एउटै प्रश्न : सधैं दिवस मनाउने मात्रै भन्दा पनि जे हो जानकारी दिने काम सरकारले गर्नै पर्नेमा जोड रहयो । नेपाल रेडक्रस सोसाइटी र आइसीआरसीले दिएको तथ्यांक अनुसार देशभर अझै १ हजार ३सय २३ जना नागरिक बेपत्ताको सूचीमा छन् । उहाँहरुको अवस्थाका बारेमा राज्यले परिवारलाई जानकारी दिनुपर्नेमा अझैसम्म केही जानकारी छैन ।

बेपत्ता पारिएकाहरुको लागि अन्तर्राष्ट्रिय दिवस किन ?

सरकारले हरेक दिनजसो केही न केही दिवस मनाइरहने गरेको छ । केही वर्ष अघिदेखि नेपालमा बेपत्ता पारिएकाहरुको विरुद्धमा अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको पनि हामीलाई थाहा छ । आइतबार अगस्ट ३०, नेपालमा पनि त्यही दिवस मनाइयो । यसलाई पनि अनौंठो नमानौं । स्वभाविक नै होला सरकारका कार्यक्रमहरु । तर पछिल्ला तीन दशकयता विशेषगरि माओवादी बिद्रोहशुरु भएको अवस्थादेखि यता देशमा बेपत्ता भएकाहरुको संख्या हेर्ने हो भने सरकारले मनाउने भनिएको दिवसको के औचित्य होला र भन्ने प्रश्न उठ्नु अस्वभाविक पनि होइन ।

०५२ सालदेखि ०६२ सालसम्मको अवस्था हेर्ने हो भने राज्य र गैरराज्य दुवैपक्षबाट यति धेरै मानव अधिकारको हनन् र उल्लंघन हुने कार्य भए कि त्यस्तो अवस्था न पहिले थियो न अब हुने नै छ । करिब १७ हजार नेपालीहरुको ज्यान जाने गरि भएको बिद्रोहले के दियो ? अझै सयौं व्यक्ति बेपत्ता छन् । त्यतिबेला मरेका र बेपत्ता भएकाहरुबारे छानबिन गर्न सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएर काम गर्ने भनेको पनि वर्षौं भइसक्यो । तर यसलाई कार्यान्वयन गर्न सकेको छैन । कागजमै सिमीत रहेको यो निर्णयले अन्यायमा परेका हजारौं नागरिकको न्यायको ढोका पनि बन्द गरिदिएको छ ।

सभापति देवेन्द्र प्रसाद भैल

मर्नेहरु त मरिसके, अब ती फर्केर आउँदैनन् भन्ने निश्चित छ । तर बेपत्ता पारिएका भनिएकाहरु न मरेको खबर छ न अहिलेसम्म फर्केर नै आएका छन् । धेरै पीडा र वेदना लुकाएर बाटो हेर्ने पीडित परिवारहरुले अब आशा पनि मारिसकेका छन् । कसैले त २५ वर्षसम्म नफर्केपछि सामाजिक परम्परा अनुशार काजकिरिया पनि गरिसकेका खबर आउन थालेका छन् । यस्तो अवस्थामा राज्यले बेपत्ता पारिएकाहरुको पक्षमा दिवस मनाउनुको के अर्थ रह्यो र ? पीडित परिवारहरु यस्तै आक्रोश पोख्न बाध्य छन् अहिले । उहाँहरु आफ्ना परिवारका सदस्यको मरेकै भए पनि वा जिउँदो अवस्था, जे भए पनि सार्वजनिक हुनुपर्ने माग गरिरहेका छन् । यसो गर्न सके मात्र राज्यले वेपत्ता पारिएका नागरिकविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउनुको सार्थकता रहने पीडितहरु बताउँछन् ।

कार्यक्रममा रेडक्रस काभ्रे शाखाका मन्त्री राजु सिग्देलले रेडक्रस सोसाइटी केन्द्रले पठाएको परिपत्र पढेर सुनाउनुभएको थियो । कार्यक्रममा बेपत्ता पारिएकाहरुको सम्झना र अवस्था छिटो पत्ता लागोस् भन्ने कामनासहित दीप प्रज्वलन र मौनधारणा समेत गरिएको थियो ।

कार्यक्रममा रेडक्रस काभ्रेका कार्यसमिति सदस्य, पदाधिकारी, पूर्वअध्यक्षहरु, सल्लाहकारहरु, संचारकर्मीहरुलगायतको उपस्थिती रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा काभ्रेका सभापति भैलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा पीडितहरुको तर्फबाट बेपत्ता छोरा चन्द्र कुमार ढकालको तर्फबाट पिता कृष्ण प्रसाद ढकाल, बेपत्ता रबिन्द्र बिष्टको तर्फबाट श्रीमती रिता बिष्ट ,बेपत्ता रघुनाथ बडालको तर्फबाट दाजु गोपि कृष्ण बडाल,बेपत्ता कृष्णनाथ चिमौरियाको तर्फबाट श्रीमती सविना चिमौरिया,बेपत्ता सगुन श्रेष्ठको तर्फबाट श्रीमती दुर्गा श्रेष्ठ , बेपत्ता भिमलाल श्रेष्ठको तर्फबाट श्रीमती एकमाया श्रेष्ठ र बेपत्ता पाल्साङ्ग लामाको तर्फबाट श्रीमती कुमारी लामाले आफ्ना पीडा बाड्नु भएको थियो ।