logo
२०८३ भाद्र १५, सोमबार |
📰
🔍

विपद्को शोकबीच अनेसास नेपाल च्याप्टरको नेतृत्व हस्तान्तरण

प्रभातफेरी अनलाइन१  पटक पढिएको | २३ मिनेट अघि
विपद्को शोकबीच अनेसास नेपाल च्याप्टरको नेतृत्व हस्तान्तरण

काठमाडौं / भोटेकोशी बाढीबाट भएको मानवीय क्षतिप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको छ।

भदौ ७ गते सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा मौनधारणबाट सुरु गरिएको थियो। कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै प्रमुख निर्वाचन अधिकृत अधिवक्ता कुमारराज कार्कीले पद तथा जिम्मेवारीप्रति प्रतिबद्ध रहने शपथ गराएका थिए।

निवर्तमान अध्यक्ष राजेन्द्र के.सी.ले नवनिर्वाचित अध्यक्ष मन्जिला अनिल शर्मासहितको कार्यसमितिलाई औपचारिक रूपमा पद हस्तान्तरण गरेका थिए। नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष कमला ओली, उपाध्यक्ष रञ्जना निरौला, महासचिव रमेश दाहाल, सचिव खेमराज न्यौपाने र कोषाध्यक्ष कमला रिसाल छन्।

नवनिर्वाचित अध्यक्ष शर्माले निर्वाचनका क्रममा व्यक्त गरेका प्रतिबद्धता पूरा गर्दै अनेसास नेपाल च्याप्टरलाई थप प्रभावकारी बनाउने घोषणा गरिन्। उनले संस्थालाई भूमि दान गर्ने घोषणासमेत गरेकी छन्। नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनसँगै संस्थाका सकारात्मक गतिविधिलाई निरन्तरता दिने उनको प्रतिबद्धता थियो।

कार्यक्रमको दोस्रो चरणमा पूर्वसल्लाहकार प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल प्रमुख अतिथिका रूपमा सहभागी थिए। पूर्वअध्यक्ष राधेश्याम लेकाली, पूर्वसल्लाहकार प्रतीक ढकाल, अनेसास केन्द्रीय सचिव ऋषभदेव घिमिरे, बोर्ड अफ ट्रस्टीका कोषाध्यक्ष नेत्रबन्धु पोखरेललगायत साहित्यकार तथा पदाधिकारीहरूको उपस्थिति थियो। उनीहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

निवर्तमान अध्यक्ष के.सी.ले आफ्नो कार्यकालका गतिविधि, उपलब्धि तथा अनुभवबारे जानकारी दिँदै नयाँ नेतृत्वले विगतका सकारात्मक कामलाई निरन्तरता दिँदै थप प्रभावकारी कार्य गर्ने विश्वास व्यक्त गरे। उनले नवनिर्वाचित अध्यक्ष शर्मालाई अध्यक्षको आसनमा पदस्थापन गर्दै आफ्नो कार्यकालको औपचारिक समापन गरेका थिए।

महासचिव रमेश दाहालका अनुसार भोटेकोशी बाढीबाट उत्पन्न विषम परिस्थितिमा राहत संकलन तथा मानवीय सहयोगका गतिविधि तत्काल अघि बढाउनुपर्ने भएकाले पद हस्तान्तरण कार्यक्रम आयोजना गरिएको हो। निवर्तमान कार्यसमितिले विधानतः नयाँ निर्णय गर्न नमिल्ने र नवनिर्वाचित कार्यसमितिले औपचारिक जिम्मेवारी नसम्हालेसम्म आकस्मिक निर्णय प्रभावित हुन सक्ने भएकाले विपद्कै बीच कार्यक्रम अघि बढाइएको उनले बताए।

नयाँ कार्यसमितिले अब बाढीपीडितका लागि राहत तथा सहयोगका गतिविधिसँगै नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनसम्बन्धी नियमित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।