logo
२०८३ भाद्र १५, सोमबार |
📰
🔍

रसुवा विस्थापित नागरिकको दीर्घकालीन पुनःस्थापना आवश्यक : अधिवक्ता विष्णु गिरी

प्रभातफेरी अनलाइन१० पटक पढिएको | १ घण्टा अघि
रसुवा विस्थापित नागरिकको दीर्घकालीन पुनःस्थापना आवश्यक : अधिवक्ता विष्णु गिरी

काठमाडौं / अधिवक्ता विष्णु गिरीले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई युद्धस्तरमा अघि बढाउँदै विस्थापित नागरिकको दीर्घकालीन पुनःस्थापनाका लागि सरकारले योजनाबद्ध कदम चाल्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गिरीले उद्धारमा भइरहेको ढिलाइ र आवश्यक उपकरणको अभावप्रति चिन्ता व्यक्त गरेका छन्। उनले टनेलभित्र, नदी किनार तथा विकट स्थानमा फसेका नागरिकको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय सहयोग लिनुका साथै उच्च प्रविधिसहितका आवश्यक उपकरण परिचालन गर्न सरकारलाई आग्रह गरेका छन्।

कतिपय बाढी प्रभावित क्षेत्रमा अझै राहत नपुगेको गुनासो आइरहेको भन्दै उनले तत्काल राहत सामग्री पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएका छन्। स्थानीय तहलाई आवश्यक स्रोत, जनशक्ति र अधिकारसहित परिचालन गर्न सके राहत तथा उद्धार कार्य अझ प्रभावकारी हुने उनको भनाइ छ।

गिरीले रसुवाको स्याफ्रुबेंसी, टिमुरे र भोटेकोशी आसपासका बासिन्दा तथा पर्यटकहरू सम्पर्कविहीन रहेको उल्लेख गर्दै विद्युत् तथा टेलिफोन सेवा अवरुद्ध हुँदा जीवित व्यक्तिले आफन्तको अवस्था थाहा पाउनसमेत कठिन भएको बताएका छन्।

उनले लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरोको जोखिमसमेत बढेको भन्दै अत्यावश्यकबाहेक जोखिमयुक्त सडकखण्डमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। यात्रा गर्नैपर्ने अवस्था भए सम्बन्धित सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न उनले अपिल गरेका छन्।