logo
२०८३ भाद्र १८, बिहिबार |
📰
🔍

रसुवागढीका सम्पर्कविहीनको खोजी जारी, परिवारलाई नियमित सूचना दिन मन्त्रीको निर्देशन

प्रभातफेरी अनलाइन२४ पटक पढिएको | २०८३ भाद्र १७, बुधबार
रसुवागढीका सम्पर्कविहीनको खोजी जारी, परिवारलाई नियमित सूचना दिन मन्त्रीको निर्देशन

काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले रसुवागढी जलविद्युत् आयोजनाका सम्पर्कविहीन कर्मचारी तथा नागरिकको खोजी र उद्धारका लागि सरकारले सम्पूर्ण शक्ति परिचालन गरे पनि अपेक्षित सफलता नपाउँदा पीडित परिवारको चिन्ता र पीडा थपिएको बताउनुभएको छ।

सोमबार साँझ सम्पर्कविहीन कर्मचारीका परिवारसँग भेट गर्दै मन्त्री श्रेष्ठले भौगोलिक जटिलता र प्रतिकूल मौसमका कारण उद्धारमा चुनौती रहे पनि खोजी अभियान नरोकिएको बताउनुभयो। हवाई तथा स्थलमार्गबाट सुरक्षाकर्मी परिचालन गर्नुका साथै सुरुङ र विद्युत् गृहमा उपलब्ध प्रविधि तथा विज्ञको सहयोगमा खोजी भइरहेको उहाँले जानकारी दिनुभयो।

मन्त्री श्रेष्ठले रसुवागढी हाइड्रोपावर कम्पनीलाई खोजी तथा उद्धारको प्रगतिबारे पीडित परिवारलाई नियमित, वस्तुनिष्ठ र समयमै सूचना उपलब्ध गराउन निर्देशन दिनुभयो।

त्यस्तै, सूचना तथा सञ्चार प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले विपद्को समयमा नागरिकको खोजी तथा उद्धार गर्नु सरकारको दायित्व भएको बताउनुभयो। कम्पनीका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक राजन ढकालले हालसम्म भएका खोजी तथा उद्धार प्रयासबारे परिवारलाई जानकारी गराउनुभएको थियो।