प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ भाद्र १९, शुक्रबार
काठमाडौँ / नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडितको राहतका लागि थाइल्यान्ड सरकारले ७० लाख थाई भाट नगदसहित आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ।
नेपालको प्राथमिकता र आवश्यकतालाई आधार बनाएर प्रदान गरिएको उक्त सहायता थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले प्रधानमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीलाई हस्तान्तरण गरेका हुन्।
नेपाल सरकार र नेपाली जनताका तर्फबाट राजदूत ओलीले समयमै प्रदान गरिएको मानवीय सहयोगका लागि थाइल्यान्ड सरकार तथा त्यहाँका जनताप्रति आभार व्यक्त गरेका छन्। उनले यो सहयोगले नेपाल र थाइल्यान्डबीचको दीर्घकालीन मित्रता, ऐक्यबद्धता र घनिष्ठ सम्बन्धलाई थप उजागर गरेको बताएका छन्।
थाइल्यान्ड सरकारले उपलब्ध गराएको नगद सहयोग नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेछ भने राहत सामग्रीहरू पनि यथाशीघ्र नेपाल पठाइने जनाइएको छ।