logo
२०८३ भाद्र २१, आईतबार |
📰
🔍

भोटेकोशी बाढीमा १,३४१ शव फेला, ४,०४४ अझै बेपत्ता

प्रभातफेरी अनलाइन५ पटक पढिएको | २०८३ भाद्र २१, आईतबार
भोटेकोशी बाढीमा १,३४१ शव फेला, ४,०४४ अझै बेपत्ता

रसुवा / भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४१ जनाको शव फेला परेको छ। बाढीपछि चार हजार ४४ जना अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ३२५ महिला, ५२३ पुरुष र ४९३ वटा पहिचान गर्न नसकिने अवस्थामा रहेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले अझै चार हजार ४४ जना सम्पर्कविहीन रहेको जानकारी दिए।

सम्पर्कविहीनमध्ये दुई हजार ८६३ जना स्वदेशी पुरुष, ५७५ महिला, २६९ विदेशी पुरुष, ३३२ विदेशी महिला तथा पाँच जना अन्य रहेको प्रहरीले जनाएको छ।

फेला परेका शवमध्ये एक हजार ३७ वटालाई सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया जारी छ।

बाढीपछि हालसम्म नौ हजार १५१ जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये तीन हजार ९८ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ।

मृतक एक हजार २८६ जना र मृतकका आफन्त एक हजार १८६ जना गरी दुई हजार ४७२ जनाको डिएनए नमुना संकलन गरिएको छ। बेपत्ताको पहिचान तथा शवको सनाखतका लागि डिएनए नमुना संकलनलाई प्राथमिकताका साथ अघि बढाइएको प्रवक्ता काफ्लेले बताए।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय र विभिन्न सरकारी निकाय निरन्तर परिचालित छन्।