logo
२०८३ भाद्र २२, सोमबार |
📰
🔍

विदुर नगरपालिकाले बाढी प्रभावित परिवारलाई घरभाडाका लागि १० हजार दिने

प्रभातफेरी अनलाइन२१ पटक पढिएको | २०८३ भाद्र २२, सोमबार
विदुर नगरपालिकाले बाढी प्रभावित परिवारलाई घरभाडाका लागि १० हजार दिने

नुवाकोट / भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित परिवारलाई विदुर नगरपालिकाले प्रतिपरिवार १० हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने भएको छ।

नगर कार्यपालिकाको १३४औँ बैठकले विदुर नगरपालिकाभित्र बस्नयोग्य घर नभएका नगरवासीलाई तत्काल घर भाडामा लिएर बस्न प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। साथै प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, किचेन सेट तथा हाइजिन सेटलगायत आवश्यक सामग्रीसमेत उपलब्ध गराइने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले कोठा भाडामा लिँदा वा दिँदा प्रचलित भाडादरभन्दा बढी रकम लिएको पाइएमा कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।

त्यस्तै, तीनै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र दाताहरूको सहयोगमा अस्थायी आवास निर्माण गरी बाढी प्रभावितलाई पुनःस्थापना गर्ने निर्णयसमेत गरिएको छ।

बाढी प्रभावितलाई राख्न प्रयोग भइरहेका होल्डिङ सेन्टरबाहेकका विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्ने तथा होल्डिङ सेन्टरका रूपमा प्रयोग भइरहेका सामुदायिक र संस्थागत विद्यालयलाई केही दिनभित्र अन्यत्र व्यवस्थापन गरी नियमित पठनपाठन सञ्चालनमा ल्याउने निर्णय नगरपालिकाले गरेको छ।

विदुर नगरपालिकाभित्रका होल्डिङ सेन्टरमा अन्य जिल्ला तथा पालिकाका बाढी प्रभावित नागरिकलाई राखिएको भए सम्बन्धित जिल्ला तथा पालिकासँग समन्वय गरी उनीहरूको व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णयसमेत नगरपालिकाले गरेको छ।