प्रभातफेरी अनलाइन२० पटक पढिएको | २०८३ भाद्र २३, मंगलबार
काठमाडौं / रसुवा, नुवाकोट र धादिङका बाढीपहिरो प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल मेडिकल कलेज र वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले संयुक्त रूपमा ७५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।
सोमबार दुवै मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दिन अन्सारीको नेतृत्वमा गएको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेको हो।
नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले विपद्को कठिन परिस्थितिमा राज्यसँग हातेमालो गर्दै प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको बताउनुभयो।
“विषम परिस्थितिमा हामी सबैले राज्यसँग हातेमालो गर्नुपर्छ। देशको जुनसुकै क्षेत्रमा जनता पीडामा छन् भने आ–आफ्नो क्षेत्रबाट सहकार्य गर्नुपर्छ,” उहाँले भन्नुभयो।
राहत रकम ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले दुई मेडिकल कलेजले गरेको योगदानको प्रशंसा गर्दै संकटका बेला हरेक नागरिक र संस्थाले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताउनुभयो।
स्वास्थ्य सेवा प्रदान गर्ने जिम्मेवारीसँगै विपद्का समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले सहयोग गरिएको दुवै कलेजले जनाएका छन्। आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक सेवाका कार्यमा सहकार्यलाई निरन्तरता दिने उनीहरूको प्रतिबद्धता छ।