प्रभातफेरी अनलाइन२१ पटक पढिएको | २०८३ भाद्र २३, मंगलबार
काठमाडौँ / नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टी जनताका मुद्दाबाट टाढिँदा कमजोर बनेको बताएका छन्।
मधेस प्रदेश कमिटीले आयोजना गरेको ‘मिसन जागरण अभियान’को अभिमुखीकरण कार्यक्रममा बोल्दै ज्ञवालीले नेता–कार्यकर्ता परिचालनभन्दा पनि सीडीओ, प्रहरी र प्रशासनिक अधिकृतको सरुवामा पार्टीको ध्यान केन्द्रित हुँदा जनसम्बन्ध कमजोर बनेको स्वीकार गरे।
“एमाले जनपरिचालन गर्ने पार्टी हो, तर हाम्रो कार्यशैली सरकारी र राजर्षी भयो,” उनले भने, “हाम्रो ध्यान सीडीओ सरुवा, प्रहरी र प्रशासकीय अधिकृतको सरुवातिर केन्द्रित भयो। यसले पार्टी नेतालाई जनतासँग टाढा पुर्यायो।”
ज्ञवालीले फागुनको निर्वाचनमा एमालेले कमजोर नतिजा ल्याउनुमा पार्टीभित्रको आन्तरिक एकता कमजोर हुनु पनि प्रमुख कारण रहेको बताए। पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद, समूह–उपसमूह निर्माण र निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न नसक्दा पार्टी कमजोर बनेको उनको भनाइ थियो।
उनले गत वर्ष भदौ २३ सम्म ठूलो र बलियो रहेको एमाले एक वर्षमै कमजोर अवस्थामा पुग्नु जनताका मुद्दाबाट पार्टी टाढिएको परिणाम भएको बताए।