logo
२०८३ भाद्र २४, बुधबार |
📰
🔍

राप्रपा बागमतीले ह्विप उल्लङ्घन गरेको भन्दै ५ सांसदलाई कारबाही सिफारिस

प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ भाद्र २४, बुधबार
राप्रपा बागमतीले ह्विप उल्लङ्घन गरेको भन्दै ५ सांसदलाई कारबाही सिफारिस

हेटौँडा / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना पाँच जना प्रदेशसभा सदस्यलाई कारबाही गर्न सिफारिस गरेको छ।

संसदीय दलका प्रमुख सचेतक डम्बर तामाङले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराउँदै पूर्वसभामुखसमेत रहेका सांसद भुवनकुमार पाठकसहित पाँच जनालाई प्रदेशसभा सदस्य पदबाट हटाउन सभामुखसमक्ष सिफारिस गर्नुभएको हो।

कारबाही सिफारिसमा परेका अन्य सांसदहरूमा कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वरी प्रजापति र आशा लामा रहेका छन्।

राप्रपा बागमती प्रदेश संसदीय दलको भदौ २ गतेको निर्णयअनुसार पार्टी प्रदेश सरकारमा सहभागी भएको थियो। त्यसपछि भदौ ७ गते बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री किरण थापा मगरलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य रूपमा प्रदेशसभा बैठकमा उपस्थित भएर पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो।

तर, पाँच जना सांसदले उक्त ह्विप उल्लङ्घन गर्दै प्रदेशसभा बैठकमा अनुपस्थित भएको संसदीय दलको पत्रमा उल्लेख छ। सोही आधारमा उनीहरूलाई प्रदेशसभा सदस्य पदबाट हटाउने प्रक्रिया अघि बढाउन सभामुखसमक्ष सिफारिस गरिएको हो।