logo
२०८३ भाद्र २९, सोमबार |
📰
🔍

भोटेकोशी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्र सञ्चालनमा ल्याउने सरकारको तयारी

प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ भाद्र २९, सोमबार
भोटेकोशी बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्र सञ्चालनमा ल्याउने सरकारको तयारी

काठमाडौं / सरकारले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक तथा पुलहरू असोजभित्रै सञ्चालनमा ल्याउने गरी पुनर्निर्माणको काम तीव्र बनाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहसँग सोमबार भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक तथा पुल पुनर्निर्माणका लागि आठ वटा विषयगत कार्यदल गठन गरी काम अघि बढाइएको जानकारी दिए।

मन्त्री लम्सालका अनुसार तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र झोलुङ्गे पुल जडानलाई प्राथमिकता दिइएको छ भने पक्की सडक तथा पुल निर्माणलाई समेत तीव्रता दिइनेछ। खानेपानी प्रणाली आगामी मंसिरसम्म पुनःस्थापना गर्ने गरी काम भइरहेको उनले बताए।

उनले पुनर्निर्माणमा दोहोरोपना हुन नदिन स्थानीय तहसँग समन्वय, अनुगमन र नियमन प्रभावकारी बनाउन जनप्रतिनिधिलाई आग्रह गरे।

त्यस्तै, सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले गैरसरकारी संस्थाहरूले गर्ने राहत तथा पुनर्निर्माणका काम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर मात्र अघि बढाउनुपर्ने बताए। उनले कुनै पनि पीडित नछुट्ने गरी तथ्यांक संकलन गरी सरकारलाई उपलब्ध गराउन स्थानीय जनप्रतिनिधिलाई आग्रह गरे।