logo
२०८३ भाद्र २९, सोमबार |
📰
🔍

भोटेकोशी बाढीपीडितका लागि सुरक्षा तथा आउटसोर्स श्रमिकद्वारा ६५ हजार ५ सय सहयोग

प्रभातफेरी अनलाइन१९ पटक पढिएको | २०८३ भाद्र २९, सोमबार
भोटेकोशी बाढीपीडितका लागि सुरक्षा तथा आउटसोर्स श्रमिकद्वारा ६५ हजार ५ सय सहयोग

काठमाडौं / रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन (NSTU) र नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठनमा आबद्ध सुरक्षा तथा सरसफाइ श्रमिकहरूले रु. ६५ हजार ५ सय सहयोग गरेका छन्।

संकलित रु. ६५,५०० (पैसट्ठी हजार पाँच सय) रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको युनियनले जनाएको छ। सहयोग रकम हस्तान्तरण कार्यक्रममा युनियनका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

युनियनका केन्द्रीय महासचिव गोविन्द हुमागाईंले श्रमिकहरूले आफूले पनि पीडा र कठिनाइ भोगेकाले विपत्तिको समयमा मानवीय भावनासहित सधैं अग्रपंक्तिमा रहने बताए।

उनले भने, “हामी पीडामा छौं, तर एकजुट छौं। श्रमिकले पीडा भोगेकै कारण विपत्तिमा अग्रपंक्तिमा हुन्छन्।” राज्यले आवश्यकता महसुस गरेको अवस्थामा आफूहरू २४ सै घण्टा निःशुल्क सेवामा समर्पित हुन तयार रहेको उनको भनाइ छ।

महासचिव हुमागाईंले दुःखको समयमा एकअर्काको साथी बन्नु नै श्रमिक आन्दोलनको पहिचान भएको बताउँदै बाढीपीडित परिवारको पुनर्स्थापनाका लागि सरकारसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।

युनियनले यस दुःखद घडीमा बाढीपीडित नागरिकप्रति मानवीय संवेदना प्रकट गर्दै सक्दो सहयोग गर्नु सबैको सामाजिक जिम्मेवारी भएको जनाएको छ। साथै, सरकारसँगै आफूहरू पनि बाढी प्रभावित नागरिकको साथमा रहेको प्रतिबद्धता व्यक्त गरेको छ।

युनियनले सम्पूर्ण संघ–संस्था तथा सरोकारवालालाई राहत, उद्धार र पुनर्स्थापनाको अभियानमा आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न हार्दिक अपिल गरेको छ।

यस मानवीय अभियानमा सहयोग गर्ने सुरक्षा तथा आउटसोर्सका केन्द्रीय, प्रदेश र जिल्ला कमिटी, विभिन्न तहका प्रतिष्ठानका नेता, शुभेच्छुक, प्रधान सेक्युरिटीका व्यवस्थापक तथा श्रमिक साथीहरूलाई युनियनले धन्यवाद ज्ञापन गरेको छ।

“श्रमिक एकता जिन्दावाद, दुःखमा साथ दिने हात नै साँचो संगठन हो” भन्ने सन्देशसहित युनियनले आगामी दिनमा पनि बाढीपीडितको सहयोगमा मानवीय अभियानलाई निरन्तरता दिने जनाएको छ।