प्रभातफेरी अनलाइन५ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं / जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले भदौ २३ र २४ गते भएका घटनाबारे आयोगले विभिन्न प्रमाण तथा तथ्यको अध्ययन गरेर प्रतिवेदन तयार गरेको बताएका छन्।
एक टेलिभिजन कार्यक्रममा बोल्दै कार्कीले भदौ २३ गते माइतीघरमा केही व्यक्तिहरू एम्बुलेन्स, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीसहित पुगेको प्रसंग उल्लेख गर्दै प्रदर्शनको सम्भावित अवस्थाबारे पूर्वजानकारी रहेको हुनसक्ने बताएका छन्।
उनका अनुसार आयोगले घटनाको अनुसन्धानका क्रममा सीसीटीभी फुटेज तथा मोबाइल लोकेसनसमेत अध्ययन गरी प्रतिवेदनमा तथ्यहरू समेटेको छ। भदौ २४ गते भएको आगजनी तथा तोडफोडका घटनामा संलग्न व्यक्तिमाथि कारबाहीको विषयमा भने निर्णय गर्ने अधिकार सरकारको भएको उनको भनाइ छ।
कार्कीले आयोग कसैलाई संरक्षण गर्ने उद्देश्यले काम नगरेको स्पष्ट पार्दै दोषी देखिएमा सम्बन्धित व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढ्नुपर्ने बताएका छन्। उनले अनुसन्धान र कारबाहीका लागि सम्बन्धित निकायलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्नेमा जोड दिएका छन्।
भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न गठित कार्की नेतृत्वको आयोगले गत चैतमा सरकारलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा आन्दोलनका क्रममा भएको दमन तथा त्यसपछिको आगजनी र विध्वंसका घटनालाई छुट्टाछुट्टै अध्ययन गरी कारबाहीसम्बन्धी सिफारिस गरिएको सार्वजनिक विवरणमा उल्लेख छ।