logo
२०८३ आश्विन ३, शनिबार |
📰
🔍

हामी प्रायः सोचिरहन्छौँ

रञ्जना आत्रेयरञ्जना आत्रेय१० पटक पढिएको | २०८३ आश्विन २, शुक्रबार

कविता - हामी प्रायः सोचिरहन्छौँ

रञ्जना आत्रेय ✍️ रञ्जना आत्रेय

‎कुनै दिन सबै ठीक हुनेछ,
‎दुःखका बादल हट्नेछन्,
‎चिन्ताका बाटाहरू टुंगिनेछन्, अनि त्यसपछि सायद जिन्दगी सुन्दर हुनेछ…

‎दुःख सकिएला भन्यो, अर्को चिन्ताले ढोका ढकढक्याउँछ ।
‎काम सकिएला भन्यो, अर्को काम थुप्रिएर बसेको हुन्छ ।

‎“यो सकिएपछि आराम गरौँला”
‎“अलि फुर्सद भएपछि भेटौँला,”
‎“यो व्यस्तता सकिएपछि कुरा गरौँला,”
‎“अहिले अलि अप्ठ्यारो छ, पछि हेरौँला,”
‎“सबै ठीक भएपछि सँगै बसौँला…

‎यस्तै ‘पछि’ र ‘कुनै दिन’ को भरमा
‎लिनुपर्ने र दिनुपर्ने हाम्रा समयहरु
‎आफ्नै हातबाट झरिरहेका छन्।

कसैलाई भेट्न चाहँदाचाहँदै
‎समय सकिन्छ,
‎कसैको दुःख सुन्छु भन्दाभन्दै
‎उसको आवाज नै हराइसकेको हुन्छ ।

‎कसैलाई “म तिम्रो साथमा छु” भन्न खोज्दाखोज्दै
‎ऊ साथ खोज्नुपर्ने ठाउँभन्दा
‎धेरै टाढा पुगिसकेको हुन्छ।

हामी सोचीरहन्छौ,
‎पहिले जीवन मिलाऊँ,
‎अनि जीवन बाँचौँला ।

तर जीवन मिलाउँदै जाँदा
‎बाँच्नुपर्ने उमेर बितिरहेको हुन्छ।

‎हरेक मौसम हाम्रो इच्छाजस्तो कहाँ हुन्छ र?
‎कहिले घामले पोल्छ,
‎कहिले पानीले भिजाउँछ,
‎कहिले बाटोमा काँडा हुन्छन्,
‎सायद यही नै त जिन्दगी हो,
‎सबै कुरा ठीक भएपछि सुरु हुने होइन,
‎सबै कुरा ठीक नभए पनि
‎बीचबीचमा मुस्कुराउँदै बाँच्नुपर्ने रहेछ ।

त्यसैले
‎माया गर्नुछ भने आजै गरौँ,
‎भेट्नुछ भने समय निकालेर आजै भेटौँ,
‎कसैको कुरा सुन्नुछ भने
‎उसले बोल्न छोड्नुअघि सुनौँ।

त्यसैले आजलाई अलिकति बाँचौँ न ?
‎अधुरै भए पनि,
‎अव्यवस्थित नै भए पनि,
‎सबै कुरा नमिले पनि…