प्रभातफेरी अनलाइन१२ पटक पढिएको | १ घण्टा अघि
एजेन्सी / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसर खोजी तथा विस्तार गर्न आह्वान गर्नुभएको छ।
नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (CII)ले आयोजना गरेको व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि यो उपयुक्त समय रहेको बताउनुभएको हो।
उहाँले नेपालमा उच्च वृद्धिको सम्भावना भएका क्षेत्रहरूमा लगानीका प्रशस्त अवसर रहेको उल्लेख गर्दै नेपालमा सञ्चालनमा रहेका भारतीय कम्पनीहरूलाई लगानी विस्तार गर्न र नयाँ लगानीकर्तालाई नेपाली बजारको खोजी गर्न आग्रह गर्नुभयो।
अर्थमन्त्री वाग्लेले डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, वेलनेस पर्यटन तथा उत्पादन क्षेत्रलाई नेपालको अर्थतन्त्रका महत्वपूर्ण सम्भावनायुक्त क्षेत्रका रूपमा प्रस्तुत गर्नुभयो। भारतीय व्यवसायीले नेपाललाई बजारका रूपमा मात्र नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि तथा क्षेत्रीय र विश्वव्यापी आपूर्ति शृङ्खलामा जोडिने रणनीतिक साझेदारका रूपमा हेर्नुपर्ने उहाँको भनाइ थियो।
उहाँले नेपाल सरकार सुशासन, आर्थिक समृद्धि, लगानी सहजीकरण र संरचनात्मक आर्थिक रूपान्तरणको एजेन्डामा अघि बढिरहेको बताउँदै लगानीकर्तामैत्री वातावरण निर्माणका लागि नीतिगत सुधारलाई तीव्रता दिइरहेको जानकारी दिनुभयो।
कार्यक्रममा सहभागी भारतीय व्यवसायिक नेताहरू तथा CII का सदस्यहरूले नेपालमा व्यापार तथा लगानीका अवसरप्रति रुचि व्यक्त गर्दै नेपालको लगानी नीति, सुविधा, क्षेत्रगत अवसर र व्यवसायिक वातावरणबारे अर्थमन्त्रीसँग जानकारी लिएका थिए।
अर्थमन्त्री वाग्ले भारतको तीनदिने औपचारिक भ्रमणमा हुनुहुन्छ। भ्रमणका क्रममा उहाँले नेपाल–भारत आर्थिक सहकार्य, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा विपद्पछिको पुनर्निर्माणका विषयमा भारतीय अधिकारी, व्यवसायिक तथा नीतिगत समुदायसँग छलफल गरिरहनुभएको छ।