प्रभातफेरी अनलाइन१२ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं / हुत्त सन्जय लामाको लेखन तथा निर्देशनमा निर्माण भएको तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’को दुई दिने विशेष प्रदर्शन उत्साहजनक रूपमा सम्पन्न भएको छ।
तामाङ भाषा, संस्कृति, मौलिक जीवनशैली र प्रेमकथालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रको तीनवटा विशेष शोमा दर्शकको उल्लेख्य उपस्थिति रहेको निर्माण पक्षले जनाएको छ। दर्शकले चलचित्रको कथावस्तु, कलाकारको अभिनय, संवाद तथा तामाङ समाजको मौलिक परिवेशको प्रस्तुतिको प्रशंसा गरेका छन्।
लेखक तथा निर्देशक हुत्त सन्जय लामाले ‘ङाला सेम्जो’ मनोरञ्जनमा मात्र सीमित नभई तामाङ भाषा, संस्कृति, संस्कार, सामाजिक सम्बन्ध र मौलिक जीवनशैलीलाई नयाँ पुस्तासम्म पुर्याउने प्रयास भएको बताउनुभयो।
चलचित्रमा ईश्वर पाख्रिन, विजय थापा मगर, सुनिता लुङ्गबा ताराथोकरलगायत कलाकारको अभिनय रहेको छ। तामाङ भाषामै कथा प्रस्तुत गरिनु तथा आफ्नै समुदायको जीवनशैलीलाई पर्दामा देखाइएको विषय दर्शकले चलचित्रको महत्वपूर्ण पक्षका रूपमा लिएका छन्।
बाढीपीडितलाई सहयोग गर्ने उद्देश्य
‘ङाला सेम्जो’को विशेष प्रदर्शनलाई सामाजिक उत्तरदायित्वसँग समेत जोडिएको छ। भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको विशेष प्रदर्शनबाट संकलित रकमको १० प्रतिशत रकम बाढीपीडितलाई राहतस्वरूप सहयोग गर्ने निर्माण पक्षले जनाएको छ।
निर्देशक लामाले विपद्को समयमा कला र कलाकारले समाजप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने भएकाले विशेष प्रदर्शनलाई सहयोग अभियानसँग जोडिएको बताउनुभयो।
चलचित्र विकास बोर्डमा विशेष कार्यक्रम
विशेष प्रदर्शनसँगै नेपाल चलचित्र विकास बोर्डमा विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो। पहिलो दिनको कार्यक्रमको उद्घाटन जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले गर्नुभएको थियो भने दोस्रो दिन नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोन–तामाङले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो।
पहिलो दिनको शोअघि दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै ङो मोलमसमेत गरिएको थियो।
कार्यक्रममा नेपाल आदिवासी जनजाति चलचित्र संघका अध्यक्ष भुइसाल लामा, तामाङ चलचित्र संघका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार एवं अभिनेता कुमार मोक्तानलगायतको उपस्थिति थियो।
असोजदेखि देशभर प्रदर्शनको तयारी
विशेष प्रदर्शनमा प्राप्त उत्साहजनक प्रतिक्रिया र दर्शकको मागलाई ध्यानमा राख्दै निर्माण पक्षले असोजदेखि देशका विभिन्न स्थानमा चलचित्र प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ।
एसएमएम मिडिया मुभिज् प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता लोसाङ लामा, ईकेश लामा र विजय थापा मगर हुन्।
चलचित्रमा जनकबहादुर स्याङतान, राम तामाङ, चन्द्रमाया दोङ, राजकुमार स्याङतान, राजकुमार बल, रामशरण श्रेष्ठ, साइला जिम्बा, भावना भुजेल तथा बाल कलाकार कविता थोकरलगायतको अभिनय रहेको छ।
चलचित्रको छायांकन प्रजल राउतले गर्नुभएको छ भने सम्पादन, कलर मिक्सिङ तथा मेक बहादुर थापाले गर्नुभएको छ। गीतकार सागर दोङ, संगीतकार तथा गायक अर्पण थिङ तामाङ र गायिका सुमिनालो लमु शेर्पाको समेत चलचित्रमा योगदान रहेको निर्माण पक्षले जनाएको छ।