प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ आश्विन ४, आईतबार
काठमाडौं / सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विपद् तथा संकटका समयमा नागरिकलाई निरन्तर सेवा, सूचना र सञ्चार उपलब्ध गराउन सक्ने दिगो तथा उत्थानशील डिजिटल प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
आईसिटी फाउन्डेसन नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले रसुवा–भोटेकोशी जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीले जनधन र भौतिक पूर्वाधारसँगै नेपालको सूचना प्रणाली, सञ्चार सञ्जाल, संस्थागत समन्वय तथा राष्ट्रिय तयारीको समेत परीक्षण गरेको बताए।
उनले डिजिटल रूपान्तरणलाई सुविधा, दक्षता र आधुनिकीकरणमा मात्र सीमित नगरी डिजिटल प्रणालीको निरन्तरता, विश्वसनीयता तथा संकट प्रतिकार्य क्षमतालाई समान प्राथमिकता दिनुपर्ने बताए।
‘भोटेकोशीको बाढीले हाम्रो भौतिक पूर्वाधारको मात्र परीक्षण गरेन। यसले हाम्रा सूचना प्रणाली, सञ्चार सञ्जाल, संस्थाहरूबीचको समन्वय र तीव्र रूपमा परिवर्तन भइरहेको विश्वका लागि हाम्रो सामूहिक तयारीको समेत परीक्षण गर्यो,’ उनले भने।
मन्त्री तिमिल्सिनाले संकटका समयमा सूचना पूर्वाधारजत्तिकै महत्वपूर्ण हुने, सञ्चार यातायातजत्तिकै आवश्यक पर्ने तथा विश्वसनीय तथ्याङ्क निर्णय प्रक्रियाको आधार बन्ने बताए। सार्वजनिक विश्वास पनि प्रविधिको प्रभावकारितासँग प्रत्यक्ष रूपमा जोडिने उनको भनाइ थियो।
उनले डिजिटल शासन, विपद् प्रतिकार्य, तथ्याङ्क आदानप्रदान, डिजिटल सार्वजनिक सेवा, कृत्रिम बुद्धिमत्ता, तथ्याङ्क सम्प्रभुता तथा डिजिटल अर्थतन्त्रलाई छुट्टाछुट्टै विषयका रूपमा नभई राष्ट्रिय क्षमता निर्माणसँग जोडेर अघि बढाउनुपर्ने बताए।
नेपालको डिजिटल विकासका लागि उनले पाँच प्रमुख प्राथमिकता प्रस्तुत गरे। जसमा सूचनाको विश्वसनीयता र सार्वजनिक विश्वास, भरपर्दो तथा समावेशी कनेक्टिभिटी, सरकारी निकायबीच अन्तरसञ्चालन क्षमता, नागरिककेन्द्रित डिजिटल सेवा तथा कृत्रिम बुद्धिमत्ता र तथ्याङ्क शासनको जिम्मेवार प्रयोग रहेका छन्।
मन्त्री तिमिल्सिनाले डिजिटल भविष्यको आधार तथ्यपरकता, पारदर्शिता, जवाफदेहिता र सार्वजनिक विश्वासमा निर्माण गर्नुपर्नेमा जोड दिए।
सरकारी निकायमा रहेका तथ्याङ्क तथा सूचनालाई संस्थागत सीमाभित्र मात्र सीमित नराखी सेवा प्रवाह, अन्तरनिकाय समन्वय तथा निर्णय प्रक्रियामा प्रभावकारी रूपमा प्रयोग गर्नुपर्ने उनले बताए।