प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ आश्विन ४, आईतबार
म्याग्दी / म्याग्दीको रघुगङ्गा गाउँपालिकास्थित चिमखोला–घ्याँसीखर्क सडक पहिरोका कारण अवरुद्ध हुँदा दुई वडाका बासिन्दाको जनजीवन प्रभावित बनेको छ।
रघुगङ्गा–७ चिमखोलाको मलाङमा गत असार अन्तिम सातादेखि करिब ४०० मिटर क्षेत्रमा पहिरोले सडक क्षतविक्षत बनाएपछि रघुगङ्गा–७ र ८ का बासिन्दालाई आवतजावत, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानी र कृषिउपज बजारसम्म पुर्याउन समस्या भएको हो।
सडक अवरुद्ध हुँदा बिरामीलाई अस्पताल लैजान तथा गाउँपालिका केन्द्र र जिल्ला सदरमुकाम आवतजावत गर्नसमेत कठिनाइ भएको स्थानीयले बताएका छन्। पहिरो प्रभावित क्षेत्रमा पैदल हिँड्नसमेत जोखिम रहेको छ।
मलाङमा बर्खायाममा हरेक वर्ष पहिरो खस्ने गरेको र माथिल्लो पाखोबाट निरन्तर पहिरो झर्ने भएकाले सडक खुलाउन चुनौती देखिएको वडाध्यक्ष गमान छन्त्यालले बताउनुभयो। मनसुन सकिएपछि पहिरो पन्छाएर यातायात सञ्चालन गर्ने पहल भइरहेको उहाँले जानकारी दिनुभयो।