प्रभातफेरी अनलाइन३५ पटक पढिएको | २०८३ आश्विन ४, आईतबार
रसुवा / नुवाकोटमा आएको विनाशकारी बाढीपछि लायन अनुज श्रेष्ठले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गरेका छन्।
कामको सिलसिलामा पोखरामा रहेका श्रेष्ठ बाढीका कारण सडक अवरुद्ध भएपछि विमानमार्फत काठमाडौं पुगेका थिए। त्यसपछि आफ्नै जन्मभूमि पुगेर बाढीपीडित तथा प्रभावित परिवारको सेवामा खटिएका उनले व्यक्तिगत पीडाबीच पनि राहत तथा सहयोगका कामलाई निरन्तरता दिएका हुन्।
बाढीपछि श्रेष्ठले २ हजार ५ सयभन्दा बढी प्रभावितका लागि नियमित भोजनको व्यवस्था गर्नुका साथै बसोबास, सरसफाइ र स्वास्थ्य उपचारमा सहयोग गरेका छन्। उनले दुर्गम तथा टाढाका बस्तीमा राहत सामग्री पुर्याउने, भत्किएका बाटो मर्मतमा सहयोग गर्ने तथा विद्यालय सामग्री गुमाएका बालबालिकालाई किताब, कापी र झोलालगायत सामग्री उपलब्ध गराउने कामसमेत गरेका छन्।
विस्थापित परिवारका लागि लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न तथा अल्पकालीन आवासको व्यवस्थामा समेत श्रेष्ठ सक्रिय रहेको बताइएको छ। प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पनि उनले सहयोग गरेका छन्।
लायन्सको ‘हामी सेवा गर्छौं’ भन्ने मान्यतालाई व्यवहारमा उतार्दै विपद्को समयमा निरन्तर सेवामा खटिएको भन्दै श्रेष्ठको योगदानको प्रशंसा गरिएको छ। श्रेष्ठ हाल लायन्स डिस्ट्रिक्टको क्याबिनेट सेक्रेटरीका रूपमा समेत कार्यरत छन्।