प्रभातफेरी अनलाइन२२ पटक पढिएको | २०८३ आश्विन ७, बुधबार
जनकपुरधाम / वैदिक सनातन धर्म, संस्कृति तथा नेपालको प्राचीन तीर्थपरम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्षको ‘श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा’ कोजाग्रत पूर्णिमादेखि सुरु हुने भएको छ।
मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा) को सत्संकल्पअनुसार हरेक वर्ष दुई चरणमा आयोजना हुँदै आएको रथयात्राअन्तर्गत रामनवमीका अवसरमा श्रीगजेन्द्रमोक्ष दिव्यधाम, नवलपरासीदेखि श्रीमुक्तिनाथ भगवान्को सन्निधिसम्म तथा कोजाग्रत पूर्णिमादेखि हरिबोधिनी एकादशीसम्म मेचीदेखि महाकालीसम्म देशव्यापी रथयात्रा सञ्चालन गरिने आयोजकले जनाएको छ।
श्रीमुक्तिनाथमा आयोजना हुने छमहिने श्रीमुक्तिनाथ महोत्सव तथा महायज्ञ सम्पन्न भएपछि कोजाग्रत पूर्णिमाका दिन औपचारिक रूपमा रथयात्राको शुभारम्भ हुनेछ। देशका विभिन्न तीर्थस्थल तथा धार्मिक क्षेत्रमा विविध धार्मिक अनुष्ठानसहित सञ्चालन हुने यात्रा हरिबोधिनी एकादशीका दिन विधिवत् समापन गरिनेछ।
रथयात्रामा सहभागी हुन निमन्त्रणा दिने क्रममा जनकपुरधाम पुगेका रथयात्रा व्यवस्थापन समितिका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले मुक्तिनाथ धार्मिक तीर्थस्थल मात्र नभई नेपालको आध्यात्मिक, सांस्कृतिक तथा प्राकृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण धरोहर भएको बताए।
उनका अनुसार मुक्तिनाथ, शालग्राम र कालीगण्डकीसँग जोडिएको प्राचीन आध्यात्मिक विरासतलाई नयाँ पुस्तासम्म पुर्याउनु रथयात्राको प्रमुख उद्देश्य हो। साथै, सनातन धार्मिक चेतना, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको छ।
आयोजकका अनुसार श्रीमुक्तिनाथ महोत्सवको सुरुआत विसं २०५४ देखि हुँदै आएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा रहेको मुक्तिनाथ क्षेत्र हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र विशिष्ट तीर्थपरम्पराको संगमका रूपमा परिचित छ।

रथयात्रालाई धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी समाजमा नैतिक जीवनपद्धति, सदाचार, दया, करुणा तथा कर्तव्यबोध जागृत गराउने अभियानका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ। मुक्तिनाथ तथा शालग्राम परम्पराको प्रचारप्रसारबाट धार्मिक पर्यटन प्रवर्द्धन भई स्थानीय अर्थतन्त्रमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
मेचीदेखि महाकालीसम्मका मठमन्दिर, धार्मिक संस्था तथा स्थानीय समुदायलाई जोड्ने गरी देशभरका जिल्लामा आयोजक समिति गठन भइरहेको छ। हालसम्म ५० भन्दा बढी जिल्लामा आयोजक समिति गठन भइसकेको जनाइएको छ।
आयोजक समितिले सनातन धर्मावलम्बी, साधुसन्त, धार्मिक संघसंस्था तथा सर्वसाधारणलाई रथयात्रामा सहभागी भई आध्यात्मिक जागरण तथा राष्ट्रिय एकताको अभियानमा साथ दिन आह्वान गरेको छ।