प्रभातफेरी अनलाइन२१ पटक पढिएको | १ घण्टा अघि
एजेन्सी / म यस्तो इरानबाट आएको छु, जहाँ हाम्रा सम्मानित सर्वोच्च नेता कुनै कानुनी आधार वा कारणबिना हत्या गरिए ।
म यस्तो इरानबाट आएको छु, जहाँ एउटा विद्यालयमा बम खसालियो ।
तपाईंहरू यी बालबालिकाहरूलाई देख्न सक्नुहुन्छ ? यी बालबालिकाहरू अमेरिका र इजरायलले प्रयोग गरेका हतियारबाट खसालिएका बममा मारिए । उनीहरू निर्दोष थिए । उनीहरूले कुनै अपराध गरेका थिएनन् ।
उनीहरूले हाम्रा वैज्ञानिकहरू, हाम्रा पुरुषहरू, महिलाहरू र बालबालिकाहरूको हत्या गरे । निर्दोष बालबालिकाहरूको हत्या गरे, जसले वास्तवमा कुनै अपराध वा पाप गरेका थिएनन् ।
आतंकवादीहरूलाई प्रशिक्षण दिने र संरक्षण गर्नेहरूले नै हामीलाई आतंकवादी भनेर आरोप लगाइरहेका छन् ।
हामीले केवल आफ्नो रक्षा गरेका छौँ । हामी आतंकवादी होइनौँ ।
हाम्रा निर्दोष जनता हाम्रो देशमाथि थोपरिएका कायरतापूर्ण आक्रमण र हमलाका निशाना बने । त्यसको हामीले सम्पूर्ण शक्तिका साथ प्रतिरक्षा गर्यौँ । हो, उनीहरूले हामीमाथि प्रहार गरे । तर हामीले घुँडा टेकेनौँ । हामीले शिर झुकाएनौँ ।
हामीले जवाफ दियौँ तर हामीले सर्वसाधारण जनतालाई निशाना बनाएनौँ ।
उनीहरूले हाम्रो वरिपरिका क्षेत्रहरूबाट आएर हाम्रा विश्वविद्यालय, स्वास्थ्य केन्द्र, विद्यालय, अस्पताल र पूर्वाधारहरूलाई निशाना बनाए । यो सबै अन्तर्राष्ट्रिय कानुनविपरीत थियो ।
जब मैले राष्ट्रपतिको जिम्मेवारी सम्हालेँ, मेरो शपथग्रहणकै दिन इस्माइल हानियाको इरानमा हत्या गरियो ।
इजरायलले कुनै पनि सहरको कुनै पनि क्षेत्रमा आक्रमण गर्छ, कुनै पनि प्रान्तमा हत्या गर्छ, ठ्याक्कै आतंकवादीले गर्ने व्यवहारजस्तै !
गाजामा ८० हजारभन्दा बढी निर्दोष सर्वसाधारण मारिएका छन् । लाखौँ मानिस विस्थापित भएका छन् । उनीहरूले आफूलाई उपलब्ध प्रविधिको प्रयोग गरेर नरसंहार गरिरहेका छन् । तर उनीहरू नै अरूलाई आतंकवादी भनेर आरोप लगाउँछन् ।
उनीहरूले कुनै पनि अन्तर्राष्ट्रिय कानुनको पालना गरेका छैनन् । हामीले सामना गरिरहेको वास्तविकता यही हो ।
परमाणु बम इजरायलसँग छ तर आक्रमण इमानमाथि गरिन्छ । ८० हजार मान्छे इजरायलले मारेको छ तर नाकाबन्दी इरानमाथि लादिएको छ ।