logo
२०८३ आश्विन ८, बिहिबार |
📰
🔍

बीपी राजमार्गमा राति सवारी आवागमन बन्द

प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ आश्विन ८, बिहिबार
बीपी राजमार्गमा राति सवारी आवागमन बन्द

काभ्रे / काभ्रेपलाञ्चोकमा सम्भावित भारी वर्षासँगै बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको काभ्रे खण्डमा असोज ८ गतेदेखि १२ गते बिहान ५ बजेसम्म राति ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरिएको छ।

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकको बैठकले सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिएका छन्। वर्षा तथा बाढीको अवस्था मूल्याङ्कन गरी आवश्यक परे दिनको समयमा समेत सवारी आवागमन रोक्न जिल्ला प्रहरी कार्यालयले निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ।

बैठकले नदी किनार तथा पहिरोको जोखिममा रहेका बस्तीलाई पूर्वसूचनामार्फत सचेत गराउन, स्थानीय सञ्चारमाध्यमबाट सूचना प्रवाह प्रभावकारी बनाउन तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उद्धार टोलीलाई विभिन्न स्थानमा तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

प्रशासनले सम्भावित विपद्को जोखिममा रहेका नागरिकलाई पूर्वसूचनाप्रति सजग रहन र अत्यावश्यक कामबाहेक जोखिमयुक्त क्षेत्रमा आवागमन नगर्न आग्रह गरेको छ।