प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ आश्विन ८, बिहिबार
काठमाडौं / नेपाल राष्ट्र बैंकले आजदेखि रु १ हजार दरका नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ। साविककै आकारमा रङ परिमार्जन गरिएको सिरिज २०२५ को नयाँ नोट आजदेखि लागू हुने गरी जारी गरिएको हो।
नयाँ नोटको रङ बैजनी घेराभित्र फिक्का हरियो रहेको छ। नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत तथा वि.सं. २०८२ सिरिज उल्लेख गरिएको छ। यसको संकेत नम्बर ट/५२ ०००००१ देखि त/५० ९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ।
नोटको अगाडिपट्टि सगरमाथा र लालीगुराँसको पानीछाप, चलायमान सुरक्षा धागो तथा दृष्टिविहीन व्यक्तिले सहजै पहिचान गर्न सक्ने रोमन अक्षर ‘M’ लगायतका सुरक्षा विशेषता राखिएका छन्।
नोटको पछाडिपट्टि चितवनस्थित सरकारी हात्तीसारमा जन्मेका दुर्लभ जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’ को चित्र राखिएको छ। साथै, सात प्रदेशलाई जनाउने गरी सातवटा लालीगुराँसका चित्रसमेत समावेश गरिएको छ।
यसअघि चलनचल्तीमा रहेको रु १ हजारको सिरिज २०१९ को नोटको संकेत नम्बर ट/५१ ४४०००० सम्म जारी गरिएको र त्यसपछिको संकेत नम्बरबाट नयाँ सिरिज २०२५ को नोट निष्कासन सुरु गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।