logo
२०८३ आश्विन ८, बिहिबार |
📰
🔍

जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ अघि बढ्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

प्रभातफेरी अनलाइन५ पटक पढिएको | १ घण्टा अघि
जलवायु संकट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ अघि बढ्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं / परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित संकट सामना गर्न अन्तर्राष्ट्रिय समुदाय प्रतिबद्धताबाट कार्यान्वयनतर्फ निर्णायक रूपमा अघि बढ्नुपर्ने बताएका छन्।

संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित जलवायु कार्य तथा न्यायोचित संक्रमणसम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले जलवायु जोखिममा रहेका मुलुकलाई टुक्राटुक्रा, अनिश्चित र ढिलो सहयोगबाट वर्तमान संकट सामना गर्न कठिन हुने बताए।

हालैको विनाशकारी बाढीबाट नेपालले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेको उल्लेख गर्दै उनले सयौँ नागरिकको ज्यान गएको तथा घर, पूर्वाधार, कृषि र जीविकोपार्जनका साधनमा व्यापक क्षति पुगेको बताए। उनका अनुसार प्रारम्भिक मूल्यांकनमा पछिल्ला जलवायुजन्य विपद्बाट नेपालले ५ अर्ब अमेरिकी डलरभन्दा बढी अर्थात् कुल गार्हस्थ्य उत्पादनको करिब १५ प्रतिशत बराबरको क्षति व्यहोरेको छ।

मन्त्री खनालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम भए पनि जलवायु परिवर्तनको असर नेपालले असमान रूपमा र पटक–पटक भोगिरहेको बताए। उनले नेपालमा भएको विपद्लाई अन्य जलवायु जोखिममा रहेका मुलुकका लागि समेत गम्भीर चेतावनीका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे।