प्रभातफेरी अनलाइन२ पटक पढिएको | ५० मिनेट अघि
भक्तपुर / नेपाल इन्जिनियरिङ कलेज (NEC) ले शैक्षिक सत्र २०८३ का लागि भर्ना भएका नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै शैक्षिक अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
सोमबार कलेज परिसरमा आयोजित कार्यक्रममा कलेजका प्राचार्य इ. दुर्गाप्रसाद भण्डारीले जेन–जी पुस्ताका विद्यार्थीलाई स्वागत गर्दै इन्जिनियरिङ शिक्षाका विभिन्न आयाम, सम्भावना तथा समाज र राष्ट्र निर्माणमा इन्जिनियरिङ क्षेत्रको भूमिकाबारे जानकारी गराउनुभयो।
प्राचार्य भण्डारीले इन्जिनियरिङ एउटा मात्र विषय नभई यसका विभिन्न आयाम र सम्भावना रहेको उल्लेख गर्दै देश तथा समाजको विकासमा इन्जिनियरिङ क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो। उहाँले चारवर्षे स्नातक अध्ययन अवधिमा विद्यार्थीले निरन्तर मेहनत र अनुशासनका साथ अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो।
नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्दै प्राचार्य भण्डारीले जेन–जी पुस्ताबाट नयाँ सोच तथा प्रविधिका विषयमा आफूहरूले पनि धेरै कुरा सिक्न सक्ने बताउनुभयो। विद्यार्थीको सफलता नै कलेजको सफलता भएको उहाँको भनाइ थियो।
कार्यक्रममा सहायक प्राचार्य मोहनध्वज केसीले गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्न कलेज प्रतिबद्ध रहेको बताउँदै विद्यार्थीका जिज्ञासा तथा समस्याको समाधानका लागि पूर्णकालीन फ्याकल्टीको व्यवस्था गरिएको जानकारी दिनुभयो। उहाँले प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिइएको तथा आधुनिक प्रयोगशाला र पुस्तकालयलगायत आवश्यक शैक्षिक सुविधा उपलब्ध रहेको बताउनुभयो।
अभिमुखीकरण कार्यक्रममा विभिन्न विभागका फ्याकल्टीहरूले सम्बन्धित विषयको पाठ्यक्रम, अध्ययन–अध्यापन शैली, मूल्याङ्कन प्रणाली, कलेजका नियम तथा शैक्षिक गतिविधिबारे नवप्रवेशी विद्यार्थीलाई जानकारी गराएका थिए।
कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराका अनुसार कार्यक्रममा विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, विभागीय संरचना, प्रयोगात्मक शिक्षण तथा शैक्षिक अनुशासनबारे समेत जानकारी दिइएको थियो।
कलेजका अनुसार यस वर्ष आर्किटेक्चर, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फरमेशन एण्ड कम्युनिकेशन तथा सिभिल एण्ड रुरल इन्जिनियरिङलगायत अधिकांश कार्यक्रममा सिट भरिइसकेका छन्।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित कलेजले हरेक वर्ष करिब रु. १५ करोड बराबरको छात्रवृत्ति प्रदान गर्दै आएको जनाएको छ। छात्रवृत्ति, गुणस्तरीय शिक्षा तथा तुलनात्मक रूपमा पहुँचयोग्य शुल्कका कारण विद्यार्थीको आकर्षण बढ्दै गएको कलेजको भनाइ छ।
शान्त, स्वच्छ तथा हरियाली वातावरणमा कलेज अवस्थित रहेकाले पनि विद्यार्थीको रोजाइमा नेपाल इन्जिनियरिङ कलेज पर्ने गरेको कलेजले जनाएको छ।