logo
२०८३ आश्विन ११, आईतबार |
☰
📰
🔍
✕

आवासीय चिकित्सकलाई फिर्ता बोलाउन नेशनल मेडिकल कलेजको त्रिविलाई अनुरोध

प्रभातफेरी अनलाइन२० पटक पढिएको | २०८३ आश्विन ११, आईतबार
आवासीय चिकित्सकलाई फिर्ता बोलाउन नेशनल मेडिकल कलेजको त्रिविलाई अनुरोध

वीरगञ्ज / नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले स्नातकोत्तर प्रथम वर्षका आवासीय चिकित्सकसँगको विवाद समाधानका लागि पटक–पटक वार्ता र संस्थागत पहल गरिए पनि सहमति कायम हुन नसकेको भन्दै उनीहरूलाई कलेजबाट फिर्ता बोलाउन चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), त्रिभुवन विश्वविद्यालयसमक्ष अनुरोध गरेको छ।

कलेजले शुक्रबार जारी गरेको विज्ञप्तिमा केही दिनदेखि आन्दोलनमा रहेका आवासीय चिकित्सकको पेन–डाउन कार्यक्रमका कारण शैक्षिक तथा क्लिनिकल गतिविधि प्रभावित भएको दाबी गरेको छ। शैक्षिक अनुशासन, संस्थागत वातावरण र स्वास्थ्य सेवा प्रभावित हुन नदिन आवासीय चिकित्सकलाई फिर्ता बोलाउन अनुरोध गरिएको कलेजले जनाएको छ।

कलेजका अनुसार सेप्टेम्बर १३ मा आवासीय चिकित्सकहरूले समयमै स्टाइपेन्ड तथा प्रोत्साहन भत्ता, बिदाका दिनको हाजिरी र २४ घण्टे ड्युटीपछि पोस्ट–ड्युटी विश्रामलगायत तीन विषय औपचारिक रूपमा उठाएका थिए। कलेजले सम्बन्धित पक्षसँग छलफल गरी ती विषय सम्बोधन गरिएको र त्यसबारे आईओएमलाई समेत जानकारी गराइएको जनाएको छ।

तर त्यसपछि नयाँ लिखित माग वा औपचारिक आपत्ति नदिई पेन–डाउन कार्यक्रम सुरु गरिएको कलेजको दाबी छ। आन्दोलनका क्रममा प्रारम्भिक मागबाहेक कानुनी मुद्दा फिर्ता, स्त्री तथा प्रसूति विभागसँग सम्बन्धित अनुशासनात्मक विषय, आन्दोलन अवधिको तलब तथा हाजिरी र बायोमेट्रिक हाजिरीलगायत विषय पनि उठाइएको कलेजले जनाएको छ।

विवाद समाधानका लागि कलेजले सेप्टेम्बर १८ मा वार्ताको आह्वान गरेको र सेप्टेम्बर २० मा लिखित समाधान प्रस्तावसमेत प्रस्तुत गरेको जनाएको छ। प्रस्तावमा स्त्री तथा प्रसूति विषयमा तीन सदस्यीय छानबिन समिति गठन, २४ घण्टे ड्युटीपछिको विश्राम, स्टाइपेन्ड, हाजिरी तथा बिदासम्बन्धी प्रक्रियाका विषय समेटिएको कलेजको भनाइ छ।

कलेजका अनुसार उक्त प्रस्तावमा आन्दोलनरत चिकित्सकहरूले हस्ताक्षर नगरेपछि नियमित शैक्षिक तथा क्लिनिकल जिम्मेवारीमा फर्कन औपचारिक सूचना र अन्तिम अवसर दिइएको थियो। तर उनीहरूबाट प्रतिक्रिया नआएको कलेजले जनाएको छ।

त्यसक्रममा ड्युटीमा रहेका चिकित्सक तथा संकाय सदस्यलाई दबाब दिइएको र कलेज परिसरमा घेराउ तथा अभद्र व्यवहार भएको दाबीसमेत विज्ञप्तिमा गरिएको छ। कलेजले यस्ता गतिविधिले शिक्षण वातावरण, पेशागत मर्यादा र शिक्षक–आवासीय चिकित्सकबीचको विश्वासमा असर परेको जनाएको छ।

यही पृष्ठभूमिमा पटक–पटकको वार्ता, लिखित प्रस्ताव तथा नियमित जिम्मेवारीमा फर्कन दिइएका अवसरलगायतका प्रयासपछि शैक्षिक सत्र २०८२ का सम्पूर्ण प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकलाई कलेजबाट फिर्ता बोलाउन आईओएम, त्रिभुवन विश्वविद्यालयसमक्ष अनुरोध गरिएको कलेजले जनाएको छ।