logo
२०८३ आश्विन १२, सोमबार |
☰
📰
🔍
✕

“काठमाडौँको विकल्प: काभ्रेलाई योजनाबद्ध शहरीकरणमा अघि बढाऔँ” – सांसद बदन कुमार भण्डारी

प्रभातफेरी अनलाइन३५ पटक पढिएको | २०८३ आश्विन १२, सोमबार
“काठमाडौँको विकल्प: काभ्रेलाई योजनाबद्ध शहरीकरणमा अघि बढाऔँ” – सांसद बदन कुमार भण्डारी

काठमाडौं / प्रतिनिधि सभाको बैठकमा काभ्रेपलाञ्चोक क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य बदन कुमार भण्डारी ले काभ्रेलाई नेपालको योजनाबद्ध शहरी विकासको मोडेल बनाउनुपर्ने प्रस्ताव राख्नुभएको छ। काठमाडौँ उपत्यकाले भोगेको अव्यवस्थित बसोबास, ट्राफिक, प्रदूषण र आवासको चापबाट पाठ सिक्दै अब काभ्रेलाई एकीकृत गुरुयोजनासहित विकास गर्नुपर्नेमा उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो।

“एक जिल्ला, पाँच पहिचान” को अवधारणा अगाडि सार्दै सांसद भण्डारीले काभ्रेका फरक-फरक क्षेत्रलाई फरक पहिचान दिई समग्र विकासको खाका प्रस्तुत गर्नुभएको छ । उहाँका अनुसार बनेपा लाई व्यापार तथा आईटी केन्द्र का रूपमा विकास गर्न सकिन्छ। काठमाडौँसँगको नजिकको दूरी, पूर्वाधारको सम्भावना र युवा जनशक्ति भएकाले बनेपालाई डिजिटल हब र व्यापारिक कोरिडोर बनाउन उपयुक्त हुने सांसद भण्डारीको कथन छ ।

सम्बोधनका क्रममा सांसद भण्डारी थप्नु हुन्छ :

धुलिखेल लाई स्वास्थ्य, शिक्षा तथा पर्यटन केन्द्र बनाउनुपर्ने प्रस्ताव राख्दै पहिलेदेखि नै रहेका अस्पताल, विश्वविद्यालय र प्राकृतिक सौन्दर्यलाई संस्थागत गरेर “वेलनेस र एजुकेशन सिटी” को रूपमा विकास गर्न सकिने बताउनुभएको छ । त्यसै गरि धार्मिक नगरी पनौती , ऐतिहासिक नगरी पनौती लाई संस्कृति तथा सम्पदा पर्यटन केन्द्र को रूपमा अघि बढाउनुपर्नेमा जोड छ । सम्पदा, मन्दिर र परम्परागत बस्तीलाई संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने खालको पूर्वाधार निर्माणमा सरकारले लगानी गर्नुपर्ने उहाँले बताउनुभएको छ ।

त्यस्तै पाँचखाल र मण्डनदेउपुर लाई कृषि तथा ग्रामीण अर्थतन्त्रको केन्द्र बनाउने योजना उहाँले सुनाउनुभएको छ । आधुनिक कृषि, कोल्ड स्टोर, प्रशोधन उद्योग र बजारिकरणको सञ्जाल बनाएर यहाँका किसानको उत्पादनलाई काठमाडौँसम्म सहज पुर्याउन सकिने सांसद भण्डारीको तर्क छ।

सम्बोधन कै क्रममा सांसद भण्डारी थप्नु हुन्छ :एकीकृत गुरुयोजनाको माग गर्दै

काठमाडौँ उपत्यकाले भोगेका समस्या दोहोरिन नदिन अहिलेदेखि नै योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

“अव्यवस्थित शहरीकरणले काठमाडौँलाई थिचेको छ। अब हामीसँग काभ्रेलाई बचाउने र सुन्दर बनाउने मौका छ। त्यसैले पूर्वाधार, आवास, कृषि, उद्योग, पर्यटन र वातावरणलाई एकीकृत गरेर समयमै गुरुयोजना निर्माण गर्नुपर्छ,” उहाँले भन्नुभयो।

सांसद भण्डारीले सडक, खानेपानी, विद्युत, फोहोर व्यवस्थापन र हरित क्षेत्रलाई एकैसाथ सोचेर मात्र दिगो विकास सम्भव हुने बताउनुभएको छ । काभ्रेको विकास काठमाडौँको चाप कम गर्ने विकल्प पनि भएकोले संघीय सरकारले विशेष प्याकेजसहित बजेट छुट्याउनुपर्ने माग समेत राख्नु भएको छ।

बैठकमा सांसद भण्डारीको यो भनाइप्रति अन्य सांसदहरूले पनि समर्थन जनाएको सांसद भण्डारीको सचिवालयले जनाएको छ । काभ्रेलाई “काठमाडौँको स्याटेलाइट सिटी” नभई आफ्नै पहिचानसहितको आत्मनिर्भर जिल्लाको रूपमा विकास गर्नुपर्ने बहस सो बैठकमा भएको थियो।

प्रतिनिधि सभामा उठेको यो विषयले काभ्रेका स्थानीयदेखि विज्ञसम्ममा चर्चाको विषय बनेको छ। सरकारले कति गम्भीरतापूर्वक लिन्छ त्यो भने हेर्न बाँकी छ।