प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ आश्विन १३, मंगलबार
चितवन / बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले चितवनमा नारायणी नदीको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै पीडित परिवारलाई प्रदेश सरकारको साथ रहने बताउनुभएको छ।
बाढीबाट प्रभावित परिवारलाई धैर्य गर्न आग्रह गर्दै मुख्यमन्त्री थापाले तत्काल उद्धार, सुरक्षित स्थानान्तरण र राहत वितरणलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो। साथै, बाढीबाट क्षतिग्रस्त पूर्वाधार तथा खेतीयोग्य जमिनको क्षतिको विवरण संकलन भइरहेको र राहतपछि पुनर्निर्माणका कामलाई समेत प्रभावकारी रूपमा अघि बढाइने उहाँले जानकारी दिनुभयो।
नारायणी नदीबाट हुने दीर्घकालीन क्षति न्यूनीकरणका लागि संघीय सरकारसँग आवश्यक समन्वय गरी योजना तथा संरचनागत पहल अघि बढाउने प्रतिबद्धता पनि मुख्यमन्त्री थापाले व्यक्त गर्नुभयो।
विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन छुट्टै प्राधिकरण गठन गरेर काम गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।
मुख्यमन्त्री थापले भन्नुभयो, “यो विपद्को घडीमा म सम्पूर्ण पीडित परिवारलाई धैर्य रहन आग्रह गर्दछु। प्रदेश सरकार तपाईंहरूको साथमा छ।”
उहाँले बाढी प्रभावित नागरिकको उद्धारदेखि सुरक्षित स्थानान्तरण, राहत वितरण र त्यसपछि पुनर्निर्माणसम्म प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो।