प्रभातफेरी अनलाइन२४ पटक पढिएको | २०८३ आश्विन १७, शनिबार
ललितपुर / प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले ललितपुरसहित देशभरका नेवार समुदायको भाषा, कला, संस्कृति र सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्ने बताएका छन्।
ज्यापू समाज यलद्वारा आयोजित समाजको ३३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सभामुख अर्यालले सांस्कृतिक सम्पदा संरक्षण वर्तमान पुस्ताको महत्वपूर्ण जिम्मेवारी भएको बताए।
उनले ललितपुरका मठमन्दिर, सांस्कृतिक सम्पदा, परम्परा तथा मौलिक संस्कृतिको संरक्षणमा नेवार समुदायले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै स्थानीय समुदायसँगको प्रत्यक्ष संवादबाट प्राप्त विषयलाई कानुन निर्माणको प्रक्रियामा लैजान पहल गर्ने बताए।
नेपालको संस्कृति, सम्पदा तथा विभिन्न सामाजिक र राजनीतिक आन्दोलनमा नेवार समुदायको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै सभामुख अर्यालले आगामी पुस्ताका लागि मौलिक संस्कृति र सम्पदा संरक्षणमा जोड दिए।