logo
२०८३ आश्विन २३, शुक्रबार |
☰
📰
🔍
✕

नार खोला र सानी भेरी–३ जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत

प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ आश्विन २३, शुक्रबार
नार खोला र सानी भेरी–३ जलविद्युत् आयोजनामा २१ अर्बभन्दा बढी लगानी स्वीकृत

काठमाडाैं / प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा २१ अर्ब रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।

बैठकले १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ लागत अनुमान गरिएको ५८.९ मेगावाट क्षमताको नार खोला जलविद्युत् आयोजना र १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लागतको ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ जलविद्युत् आयोजनाको लगानी स्वीकृत गरेको हो।

त्यस्तै, ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने र ९०० मेगावाट क्षमताकै माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण तत्काल अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णय बैठकले गरेको छ।

बैठकले स्वीकृत आयोजनाको कार्यान्वयन तथा लगानीकर्तालाई सेवा प्रवाह सहज बनाउन लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रदान गर्ने निर्णयसमेत गरेको छ।

यसैगरी, बोर्डले आफैँले आह्वान नगरेका प्रस्तावलाई आवश्यकताअनुसार स्वीस च्यालेन्ज विधिमार्फत प्रतिस्पर्धा गराएर अघि बढाउन आवश्यक कानुनी व्यवस्था गर्न कार्यालयलाई निर्देशन दिएको छ।

कृत्रिम बुद्धिमत्तालगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार आयोजनाका लगानी प्रस्ताव प्राप्त भएमा नवीकरणीय ऊर्जाको उपयोग, रोजगारी सिर्जना तथा आर्थिक विकासमा पुर्‍याउने योगदानलाई ध्यानमा राखी त्यस्ता आयोजनालाई प्राथमिकता दिने निर्णयसमेत बैठकले गरेको छ।