logo
२०८३ कार्तिक ८, शनिबार |
☰
📰
🔍
✕

विपद्बाट क्षतिग्रस्त सडक र निजी आवास सरकारले छिट्टै पुनर्निर्माण गर्छ : मन्त्री लम्साल

प्रभातफेरी अनलाइन१० पटक पढिएको | १४ मिनेट अघि
विपद्बाट क्षतिग्रस्त सडक र निजी आवास सरकारले छिट्टै पुनर्निर्माण गर्छ : मन्त्री लम्साल

बागलुङ / पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढीपहिरोका कारण क्षतिग्रस्त सडक तथा निजी आवास सरकारले छिट्टै पुनर्निर्माण गर्ने बताएका छन् ।

शुक्रबार पश्चिम बागलुङका बाढीपहिरो प्रभावित तथा संकटग्रस्त क्षेत्रको स्थलगत निरीक्षणपछि मन्त्री लम्सालले क्षतिग्रस्त मध्यपहाडी लोकमार्गको पुनर्निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए ।

उनले बाढीपहिरोका कारण घरबारविहीन भएका नागरिकलाई सुरक्षित स्थानमा आवास निर्माण गरी पुनःस्थापना गर्ने सरकारको योजना अघि बढिरहेको जानकारी दिए ।

मन्त्री लम्सालका अनुसार विपद् प्रभावित परिवारलाई खानपानका लागि मासिक १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णयअनुसार पहिलो किस्ता निकासाको चरणमा रहेको छ । साथै, बागलुङका ६ स्थानीय तहका विपद् व्यवस्थापन कोषमा ४० लाख रुपैयाँका दरले रकम पठाउने तयारी भइरहेको छ ।

निरीक्षणका क्रममा मन्त्री लम्सालले गलकोटस्थित दरमखोला आसपासको क्षेत्र, बढिगाड, निसीखोला, ढोरपाटनको बुर्तिबाङ तथा निसीखोला गाउँपालिकाका झिवाखोला र कानाबगरलगायत बाढीपहिरो प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएका थिए ।