logo
२०८३ कार्तिक १०, सोमबार |
☰
📰
🔍
✕

लालपुर्जा पाउनु भूमिहीन तथा सुकुमवासीको अधिकार हो : मन्त्री रावल

प्रभातफेरी अनलाइन३ पटक पढिएको | १९ मिनेट अघि
लालपुर्जा पाउनु भूमिहीन तथा सुकुमवासीको अधिकार हो : मन्त्री रावल

चितवन / भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाउनु राजनीतिक आश्वासन नभई उनीहरूको अधिकार भएको बताएकी छन् ।

चितवनको भरतपुर महानगरपालिका–११, गणेशस्थानमा स्थानीयसँग छलफल गर्दै मन्त्री रावलले विगतमा लालपुर्जा वितरणको विषयलाई राजनीतिक लाभका लागि प्रयोग गरिएको उल्लेख गरिन् ।

उनले लालपुर्जा वितरणमा रहेका नीतिगत बाधा सरकारले अध्यादेशमार्फत हटाइसकेको बताउँदै अब प्रक्रिया छिटो अघि बढाउन स्थानीय तह र भूमि समस्या समाधानसम्बन्धी समितिलाई आग्रह गरिन् ।

मन्त्री रावलले लालपुर्जा वितरणमा भएको ढिलाइका कारण भूमिहीन तथा सुकुमवासीले लामो समयदेखि समस्या भोग्नुपरेको उल्लेख गर्दै उनीहरूलाई छिटोभन्दा छिटो लालपुर्जा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताइन् ।

छलफलका क्रममा स्थानीयले आफ्ना समस्या तथा गुनासा मन्त्रीसमक्ष राखेका थिए । मन्त्री रावलले चितवनका सबै स्थानीय तहमा पुगेर भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका समस्या सुन्ने र समाधानका लागि सम्बन्धित सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको जानकारी दिइन् ।